0
गोल्डेन न्यूज संवाददाता
नेवा खल कास्कीले आयोजना गरेको सातौं संस्करणको सिजी मिस नेवा पोखराको उपाधि अंशु शाक्यले जितेकी छन् । पोखराको तेर्सापट्टीकी २० वर्षीय शाक्य जनप्रिय बहुमुखी क्याम्पसमा बीबीए पाचौं सेमेष्टरमा अध्ययनरत छन् । उनले मोष्ट ट्यालेन्टको उपाधि समेत जितेकी छन् । अरुणरत्न शाक्य र अनु शाक्यकी छोरी अंशुले सफल महिला बन्ने चाहना राखेकी छन् । मिस नेवामा भाग लिएर नेवारी संस्कृति र परम्पराको जानकारीका साथै आफ्नो प्रतिभा र क्षमताको विकास गर्ने लक्ष्य उनको छ ।  यसैगरी प्रतियोगिताको फष्ट रनरअपको उपाधि निकिता लिगलले जितेकी छन् । पोखराको रामकृष्ण टोलकी निकिता विमल लिगल र सुशिला लिगलकी छोरी हुन् । १८ वर्षीया उनी १२ कक्षामा अध्ययनरत छन् ।  प्रतियोगिताको सेकेण्ड रनरअपको उपाधि पोखरा चिप्लेढुङ्गाकी प्राथना डङ्गोलले जितेकी छन् । डङ्गोलले वेष्ट पर्सनालिटीको उपाधि समेत हात पारेकी थिइन । शिशु निकेतनबाट कक्षा १२ को अध्ययन गरेकी १९ वर्षीया उनी व्यवसायी विनोद डङ्गोल र शिला डङ्गोलकी छोरी हुन् । उनले पनि मिस नेवा मार्फत आफ्नो जातीय संस्कृति र परम्पराको बारेमा जानकारी लिने र आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर मिलेको बताइन । प्रतियोगितामा मिस नेवाको उपाधि प्राप्त गर्ने अंशुले ४० हजार रुपैयाँ, वेष्ट भिओर च्वाइसको ५ हजारसहित ४५ हजार रुपैयाँ सिजी ब्राण्डको टेलिभिजन सहित अन्य विभिन्न उपहारहरु प्राप्त गरिन् भने फष्ट रनरअप निकिताले २५ हजार रुपैयाँका साथ सिजीको आकर्षक उपहार प्राप्त गरेकी थिइन । 

यस्तै सेकेण्ड रनरअप प्राथनाले पनि १५ हजार रुपैयाँ पुरस्कार सहित सिजीको उपहार प्राप्त गरिन् । विजयीहरुलाई सिजीको तर्फबाट सिजीका प्रतिनिधि मनोहर श्रेष्ठले उपहार प्रदान गरेका थिए । 
प्रतियोगितामा वेष्ट नेवारी भाषा र वेष्ट भिओर च्वाइसको उपाधि रशना बुद्धाचार्यले जितिन । उनले भाषाको सात हजार र भिओर च्वाइसको पाँचहजार गरि १२ हजार रुपैयाँ सहित अन्य उपहार प्रदान गरिएको थियो । अन्य उपाधि जित्नेहरुमा वेष्ट स्माइलको उपाधि जस्मिन श्रेष्ठले, मोष्ट फ्रेण्डलीको उपाधि श्रद्धा श्रेष्ठले र वेष्ट फोटो जेनिकको उपाधि सिम्रन श्रैष्ठले जितेका थिए । 
१७ जना नेवारी युवतीहरुलाई एक महिनासम्म प्रशिक्षणमा राखेर शानिबार फाइनल प्रतिस्पर्धा गराइएको थियो । फाइनल प्रतिस्पर्धामा १७ जनाबाट चरणवद्ध रुपमा १२ जना, ८ जना हुँदै ५ जना अन्तिम प्रतिस्पर्धी छानिएको थियो । अन्तिम प्रतिस्पर्धीहरुलाई एक जना महिलाले आफ्नो सानो बाबुलाई डोकोमा राखेर मजदूरी काम गर्नका लागि हिंडेको तस्वीर दिइएको थियो । उक्त तस्वीरलाई आधार मानेर ५ जना प्रतिस्पर्धीले आफ्नो भावना लिपिवद्ध गरि दर्शकलाई सुनाएका थिए । 
शनिबार दिउसो २ बजे शुरु भएको कार्यक्रम राति करिब ९ बजेसम्म चलेको थियो । नेवारी संस्कृति र पम्पराका बारेमा जानकारी दिने खालका कार्यक्रमसहित नेवारीसहित अन्य भाषाका गीत र नृत्य समेत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाइएको थियो । 
कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी संस्कार र संस्कृतिका बारेमा जानकारी दिने मात्र नभएर व्यक्तिमा निहीत प्रतिभाको प्रष्फुटन गर्दै आत्मविश्वास बढाउने उद्देश्यले मिस नेवा गरिएको बताए । 
मिस नेवाका मुख्य संयोजक शम्भुलाल श्रेष्ठ, मिस नेवा ११३६ की एलिशा जोशी, निर्णायक संयोजक कृष्णमोहन श्रेष्ठ लगायतले नेवारी संस्कार र संस्कतिको चर्चा गरेका थिए ।  






Post a Comment

 
Top