0
गोल्डेन न्यूज संवाददाता
केहीअघि विद्यार्थी युनियनको चुनाव रोकेको निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरसहित मधेसका केही जिल्ला शाखामा अधिवेशन बाँकी रहेकै बेला आयोगले निर्वाचन आचारसंहिता औंल्याउँदै स्थगित गर्न आग्रह गरेको हो । सबै जिल्ला अधिवेशन हुन नसके महासंघको वैशाख २० गते हुने केन्द्रीय महाधिवेशन समेत प्रभावित हुनेछ । आयोगले सञ्चार मन्त्रालयमार्फत महासंघलाई पत्राचार गरेको हो । ‘आयोगले केही प्रश्न उठाई पत्र लेखेको छ । हामी यसबारे छलफल गरिरहेका छौं । आयोगसँग बसेर टुंगो लगाउने छौं,’ महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले भने । महासंघले यसबारे पूर्व अध्यक्षहरूसँग समेत सल्लाह, सुझाव लिइरहेको बताइन्छ ।
यसैबीच निर्वाचन आयोगले हातहतियारको सूची उपलब्ध गराउन गृह मन्त्रालयालई पत्राचार गरेको छ । आयोगले संकलन भएका हातहतियारको जिल्लागत विवरण चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । चैत ८ गतेसम्ममा नियन्त्रणमा लिइएका अवैध हातहतियारको सूची उपलब्ध गराउन पनि निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले यसअघि कानूनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाका लागि निर्देशन दिएको थियो । 
निर्वाचन आयोगले २०७४ साल वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकनका लागि हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनस् निर्देशन दिएको छ । आयोगले फागुन २८ गते मुख्यसचिव  सोमलाल सुवेदीसमेतको उपस्थितिमा बसेको बैठकबाट पनि  घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो ।

Post a Comment

 
Top