0
हरि पन्त÷गोल्डेन
मंगलबार साँझ र बुधबार बिहान पोखराको न्यूरोड र सभागृहचोकमा रहेको ग्लोवल आइएमइ बैंकको कार्यालय परिसर पुग्दा नेपाली युवाहरु तछाड–मछाड गर्दै लाइनमा थिए । लाइन युवा र युवतिको छुट्टा–छुट्टै थियो । उनीहरुलाई धकल्दै, हप्काउँदै थिए प्रहरी जवानहरु । युवायुवतिको लाइन निकै नै लामो थियो । मंगलबार साँझदेखि नै लाइनमा बसेका थिए ति युवा–युवतीहरु । लाइनबारे जानकार नभएका बटुवाहरुले निकै चासो पूर्वक हेर्दै अन्यसंग सोधीखोजी गरेका थिए ।

बैंकको वरपर घर भएकाहरु रमिते बनेर युवा–युवतिको तछाड–मछाड र होहल्ला सहितको लाइन हेरिरहेका थिए । कतिपय स्थानीयले युवा–युवतिको होहल्लाले रातभर निदाउन नसकेको गुनासो गरेका थिए भने कतिपयले राज्यको दयनीय अवस्था र व्याप्त बेरोजगारीका कारण यस्तो अवस्था आएको भन्दै टिप्पणी गरेका थिए ।
कोरिया जाने सपना बुनेर फर्म भर्न बसेका युवा–युवतिको लामो लाइन देखेर सभागृहचोकका फेन्सी व्यवसायी कृष्ण लम्साल निकै दुखी भए । उनले भने–‘मुलुकको जर्जर अवस्था र राज्यले युवाका लागि केही गर्न नसक्दाको परिणाम हो यो ।’ यी युवा–युवतिले मुलुकमै रोजगारी पाउने हो भने मुलुकको प्रगति छिट्टै हुने उनको बुझाइ छ । लम्सालले युवा–युवतिको यो लाइनले राज्यलाई गिज्याइरहेको टिप्पणी गरे । युवा–युवतीको लाइन अन्य केही कामका लागि नभएर रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरिया जानका लागि हो ।  रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन भर्नुपर्ने व्यवस्था छ । फारम अनलाइनमार्फत भर्न सकिने भएपनि शुल्क बैंकमार्फत मात्र तिर्नुपर्ने भएकाले उनीहरु ग्लोवल आइएमइको कार्यालय परिसरमा लाइनमा बसेका हुन् । बुधबार बिहान १० बजेदेखि फराम भर्न सकिने व्यवस्था गरिएको थियो । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझिने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए । पहिलो पटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको हो । गत वर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवा–युवतिले इपीएस परीक्षा दिने अनुमान छ । फारम भर्न आवेदन शुल्क २४ अमेरिकी डलर अर्था करिब २ हजार पाँचसय रुपैयाँ पहिले नै बुझाउनु पर्नेछ । फारम बुझाउँदाको २५ डलरमध्ये १८ डलर कोरियाको मानव संशाधन विभागले लैजान्छ भने ६ डलर भाषा परीक्षा सञ्चालन र व्यवस्थापनका लागि शाखाले खर्च गर्ने गर्छ ।

बैंकबाट रकम जम्मा गरेको भौचरको नम्बर राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ। साथै फारम भर्दा एमआरपी अनिवार्य हुनुपर्छ। गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो । इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनि आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने भएको छ। शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो। तर, प्राविधिक काममा केही समस्या आए पनि तत्कालनै समाधान हुने खतिवडाको भनाइ छ। फारम भर्नका लागि इमेल आईडी पनि आवश्यक पर्छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ । अनलाइन फारम भर्न धधध। भयभचक।भउकलभउब।िनयख।लउ मा जानुपर्छ ।

नेपालबाट सन् २००८ देखि इपीएस मार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय जेठ १९ गते सार्वजनिक हुनेछ । परीक्षा अघिल्लो वर्ष पोखरामा सञ्चालन गरिएको थियो । ‘यो वर्ष पनि पोखरामा भाषा परीक्षाको केन्द्र राख्नुपर्छ भनेर कोरियन अधिकारीसँग कुराकानी गरिरहेका छौं,’ निर्देशक खतिवडाले गोल्डेन न्यूज दैनिकसंग भने, ‘आशा छ उनीहरु सहमत हुनेछन् ।’ आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । यो वर्ष प्राप्त कोटामध्ये चार हजार उत्पादन र ६ हजार दुई सय कृषि र पशुपालन क्षेत्रतर्फ हो । कोरिया जाने कामदार छनोटको पहिलो आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । निर्देशक खतिवडाका अनुसार भाषा परीक्षामा सहभागी १८ देखि ३९ वर्ष उमरेका प्रतिस्पर्धीमध्ये जसले सबभन्दा बढी अंक ल्याउँछन्, तिनैको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी भने हुँदैन ।

भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए जान पाइँदैन । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचीबाट हट्छ । र, उनीहरु कोरिया जान अयोग्य हुने खतिवडाले स्पष्ट पारे । हालसम्म भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार कोरिया जान नपाएको इपिएस कोरिया शाखाले जनाएको छ । ‘त्यसैले हामीले भाषा परीक्षाको फारम संकलन गर्ने बेला नै भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्ने गरेका छौं,’ इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने, ‘भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए जान पाइँदैन ।’रोजगारदाताले कामदार बोलाउनुअघि सम्बन्धित काममा दक्ष भए÷नभएकोबारे विभिन्न परीक्षणबाट यकिन गर्छन् । कोरियाले विभिन्न १६ मुलुकबाट कामदार लैजान्छ । कोरियास्थित प्रवासी मजदुर संगठनका अनुसार अहिले त्यहाँ करिब १० लाख आप्रवासी कामदार छन् । जसमध्ये दुई लाख ७५ हजार इपिएसमार्फत गएका हुन् । कोरियामा कामदार पठाउने नेपाल तेस्रो ठूलो मुलुक हो ।

Post a Comment

 
Top