0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक विद्यालयको सहयोगार्थ नेपथ्य ब्याण्डको प्रस्तुति पोखरामा हुने भएपछि कार्यक्रमलाई सफल पार्न पोखरेलीहरुले सहयोग गर्ने भएका छन् । शुक्रबार पोखरामा भएको छलफल कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारिहरुले शिक्षा क्षेत्रमा सहयोग पुराउने गरी अन्तराष्ट्रिय ख्यातिप्राप्त पोखरेली गायक अमृत गुरुङको पोखरामा प्रस्तुति हुने भएकोले कार्यक्रमलाई आ–आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिएका हुन् । पोखराका पर्यटन व्यवसायी तथा प्रहरी प्रशासन एवं विभिन्न संघ–संस्थाका पदाधिकारी हरुले यही चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने पवित्र कार्यको लागि सहयोग गर्न आफूहरु तयार रहेको वचन दिएका हुन् । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरन्जीवि पोखरेलले राष्ट्रियरुपमै ख्यातिप्राप्त पोखरेली व्याण्डले सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना हुने ‘फेरि उठ्ने छ’ नेपालको दोश्रो संस्करणलाई सफल पार्न आफूहरु कटिवद्ध भएको बताए। 
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख सुभाष कुमार गैरेले मनोरन्जन र सुरक्षा एकै पटक प्रदान गर्न निकै कठिन विषय भएकोले त्यसलाई व्यवस्थापन गर्न कास्कीको सिंगो प्रहरी प्रशासनको साथ र सहयोग हुने बताए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणि अधिकारिले सुरक्षाको बिषयमा आफूहरुले विभिन्न वडा हुँदै जिल्लासंग समेत समन्वय गरी चुस्त पार्न लागि रहेको जनाए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य गणेश बहादुर भट्टराईले पोखरा पर्यटन, खेलकुद र संगीतको शहरकोरुपमा स्थापित गर्नुपर्ने बताए । भूकम्पपछि पछिल्लो क्रममा पोखरामा पर्यटन प्रवद्र्धन हुँदै आएको बताएका भट्टराईले अर्वौको कारोवार गर्ने अटो व्यवसायिहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणको क्षेत्रमा लगानी गर्नुपर्ने माग गरे ।
नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासु त्रिपाठीले नेपथ्यको छुट्टै समूह भएकोले उनीहरु माँझ उक्त ईभेन्टको जानकारी भएको खण्डमा कार्यक्रम सफल हुने दाबी गर्दैैै राम्रो कामको अभियानमा आफूहरुको साथ हुने बताए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य अग्नि कणेलले भने–“फेरि उठ्ने छ नेपाल भन्ने भाव निकै मार्मीक छ, यस्तो कार्यलाई सफल पार्न हामी तत्पर छौं । तमु धिँ नेपालका महासचिव गिरी प्रसाद गुरुङले नेपथ्य ब्याण्डले मनोरञ्जनसहित सामाजिक कार्यमा सहयोग गर्दै आएकोले आफूहरुले पनि अभियानलाई सफल पार्न होंस्टेमा हैंसे गरेको बताए । ल्वाङ्घलेलको गौरीशंकर मनिलाल उच्च माविका प्रधानाध्यापक रक्षबहादुर क्षेत्री र कास्कीकै सल्यान बाँसखर्कमा रहेको भूमेश्वर प्राविका प्रधानाध्यापक तोरण केसीले नेपथ्यको कार्यक्रम पोखरा सफल भएपछि विद्यालयको मुहार फेरिने विश्वास व्यक्त गरे ।  क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले संगीतको क्षेत्रबाट शिक्षा क्षेत्रमा सहयोग हुने भएकोले यस्तो कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नेपथ्य ब्याण्डको राम्रो कामका लागि पोखरा रंगशालामा आफूहरुले ठाउँ उपलब्ध गराएको दावी गरे । आयोजक पोखरेली युवा किरण गुरुङले नेपथ्यको शिक्षा क्षेत्रमा सहयोग गर्दै आउने क्रममा कास्की ल्वाङ्घलेलको गौरीशंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान बाँसखर्कमा रहेको भूमेश्वर प्राविको सहयोगार्थ कार्यक्रम हुने भएको बताए । गुरुङसहित उनकी श्रीमती सोनाम गुरुङले कार्यक्रम बाट करीब १५ देखि २० लाख रुपैयाँ बचत गरी उक्त रकम विद्यालयको शैक्षिक विकासका लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको किरणले बताए ।  भेलामा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका प्रथम उपाध्यक्ष हरि भुजेल, नाट्टा क्षेत्रीय संघ पोखराका प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङ, कास्की जिल्ला फुटवल संघका अध्यक्ष धर्मबहादुर लामिछाने, सिद्धी बम्स (फूलवारी व्यारेक) गणका गणपति उज्वल थापा, टेसा पोखराका अध्यक्ष नारायण प्रसाद सुवेदी, पत्रकार दिननाथ बराल लगायतले संगीतबाट सामुदायिक विद्यालयमा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चित पप गायक अमृत गुरुङले १८ देखि २० वटासम्म गीतहरु प्रस्तुतः गर्ने तयारी भएको कार्यक्रम संयोजक विकेश कायस्थले  जानकारी दिए ।




Post a Comment

 
Top