0
थापाथलीकी लिली निरौलालाई महिनावारी हुँदा बेस्सरी तल्लो पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, रिंगटा लाग्ने, असहय पीडा सहन नसकेर छटपटी हुन्छ । महिनावारी भएको दिन उनको दैनिकी सामान्य हुँदैन । ‘कलेज र अफिस जान्न, घरबाट बाहिर नै निस्कन सक्दिनँ,’ उनले भनिन् । असहय पीडा भएपछि उनी ‘मेफ्टल’ नामक दुखाइ कम गर्ने औषधि खाएर पीडा कम गर्छिन् । औषधिले केही घण्टा मात्रै पीडा कम गर्ने उनले बताइन् । महिनावारीको समयमा उनले ३ वटासम्म मेफ्टल  (पीडा कम गर्ने औषधि) खाने गरेको बताइन् । मेफ्टल खाएपछि पीडा त कम हुने तर, दिनरातै निद्रा लाग्ने । लठ्ठ बनाउने उनको अनुभव छ । ‘होस् र बेहोस् थाहा पाउँदिनँ,’ उनले भनिन् । जावलाखेलकी सुमना दनुवारको पीडा पनि उस्तै छ । महिनावारी हुँदा ढाड र स्तन दुखेर हिँड्न, बस्न गाह्रो हुने उनको अनुभव छ । पीडा सहन नसकेपछि उनी पनि ‘निम्स’ नामक दुखाइ कम गर्ने औषधि खान्छिन् । उनले डाक्टरको सल्लाहमा औषधि खाएकी होइनन् । ‘साथीहरूलाई यही औषधिले सन्चो हुन्छ रे, त्यसैले मैले नि यही खाएको,’ उनले भनिन् । उनले महिनावारी हुँदा ३ दिन यही औषधि खाएर पीडा भुलाउँछिन् । महिनावारी हुने समय नजिकिँदै जाँदा पीडा हुने डरले मानसिक तनाव हुने उनी सुनाउँछिन् । स्त्रीरोग विशेषज्ञ डा. विमला मल्लका अनुसार महिनावारी पाठेघर खुम्चिने र फुल्ने प्रक्रिया हो, त्यसैले कसैलाई महिनावारीको समयमा पीडा हुन्छ, कसैलाई कम, कसैलाई धेरै । कतिपय महिलामा बढी दुखाइ भएमा बच्चा नहुने भ्रम हुने गरेको उल्लेख गर्दै उनले त्यस्तो भ्रममा नपर्न आग्रह गरिन् ।
पीडा कम गर्ने नाममा जथाभावी दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने डा. मल्लको सुझाव छ । महिनावारी हुँदा औषधिलाई मात्रै पीडा कम गर्ने विकल्पका रूपमा लिन नहुने उनले बताइन् । ‘एउटासम्म ठीकै हो, दैनिक ३ वटासम्म दुखाइ कम गर्ने औषधि सेवनले नकारात्मक असर पुर्रुयाउँछ, दीर्घकालीन रूपमा त यसले किड्नी नै फेल गराइदिन सक्छ,’ उनले भनिन् । अझ ग्यास्ट्रिक हुनेले त यस्ता औषधि सेवन गर्नै नहुने उनी सुझाउँछिन् । औषधिलाई विकल्प बनाउनुभन्दा पनि दैनिकीमा परिवर्तन गर्न सके महिनावारी पीडा कम हुन मद्दत पु¥याउने उनले बताइन् । दैनिक हल्काफुल्का शारीरिक व्यायाम, हरियो सागपात र सकारात्मक सोच अपनाउँदा पीडा कम हुन सक्छ । ‘समयमै विवाह गर्नु र सन्तान जन्माउनु पनि उपाय हो,’ उनले भनिन् ।
महिनावारी हुँदा पीडा कम गर्ने औषधि खानुपूर्व र खान थालेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्ने उनको सुझाव छ । सकेसम्म डाक्टरको सल्लाह लिएर औषधि खानुपर्छ । सल्लाहबिनै औषधि खानेहरू किड्नी, कलेजो, रगत र पाठेघरसम्बन्धी रोग लिएर आउने गरेको मल्लले सुनाइन् । महिनावारीमा धेरै पीडा हुनेले अमिलो–पिरो, गुलियो, नुनिलो, चाउचाउजस्ता बजारिया खानेकुरा खान नहुने स्त्रीरोग विशेषज्ञहरू सुझाउँछन् । 
अतुल मिश्र÷कान्तिपुर

मोटोपन र मृगौला रोग

वैज्ञानिकहरूका अनुसार मोटोपन संसारभर नै बढ्दो समस्याका रूपमा देखापरेको र यसले २–७ गुणासम्म मृगौला ‘फेल’ गराउने सम्भावना रहन्छ। ह रेक अंग्रेजी वर्षको मार्चको दोस्रो बिहीबार विश्व मृगौला दिवस मनाइने गरिन्छ। यसको उद्देश्य हाम्रो स्वास्थ्यमा मृगौलाको महत्त्वबारे जनचेतना जगाउने र संसारभरि मृगौला रोग र यसको प्रभाव कम गर्दै लैजाउनु हो। नेपालमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ र ३ हजार जनाको वर्षैपिच्छे दुवै मृगौला फेल हुने गर्छ। तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्छ।
मोटोपन मृगौला रोग लाग्नु बलियो कारण हो। उच्च रक्तचाप र मधुमयजस्तै दीर्घकालीन मृगौला रोगको प्रमुख कारक तत्त्वमध्ये मोटोपन पनि एक हो। यसले मृगौला ‘फेल’ गराउन सक्छ। मोटोपन भएकाहरूमा मृगौलाले अरूमा भन्दा बढी कार्य गर्नुपर्ने हुन्छ, जसले गर्दा मृगौला विस्तारै खराब भई दीर्घकालीन रोग लाग्ने गर्छ।
उच्च तौल भएका वा मोटोपन भएकाहरूमा मृगौला फेल ‘हुने’ समस्या अरू स्वस्थ व्यक्तिहरूको तुलनामा २ देखि ७ गुणा बढी हुन्छ। यी सबका बाबजुद पनि शुभ समाचार के छ भने मोटोपन र मृगौलाको दीर्घरोग धेरै हदसम्म रोकथाम गर्न सकिने समस्या हुन् र सन्तुलित आहार तथा शारीरिक व्यायमजस्तो स्वस्थ जीवनशैलीले मोटोपन र मृगौलाको रोग लाग्नबाट बचाउन सकिन्छ। यस वर्षको विश्व मृगौला दिवसले मोटोपनको खराबी र मृगौला रोग लाग्नमा यसको असर तथा यसबाट जोगिन स्वस्थ जीवनशैली र उपयुक्त स्वास्थ्य नीतिका उपायमार्फत रोगको रोकथाममा विशेष जोड दिएको छ। 
सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ भने ६ प्रतिशत पुरुष र ९ प्रतिशत महिला गम्भीर मोटोपनले पीडित हुने अनुमान गरिएको छ। कुनै—कुनै राष्ट्रमा त एक तिहाइ जनसंख्या मोटोपनको सिकार भइसकेको छ र कमजोर स्वास्थ्य र चिकित्सा क्षेत्रको अधिकतम खर्चको कारण बनिसकेको छ।
साधारणतया जनमानसमा मोटोपनले मृत्युको जोखिम बढाउने मात्र नभई अनेकौं रोग निम्त्याउने गर्छ। जस्तैःमुटुको रोग, मधुमय, उच्च रक्तचाप, उच्च कोलेस्टोरल, निद्रामा घुर्ने, कलेजोको बोसोपन, पित्तथैलीको रोग, जोर्नी खिइने, विभिन्न क्यान्सर, मानसिक रोग तथा न्युन जीवनस्तर आदि। वैज्ञानिकहरूका अनुसार मोटोपन संसारभर नै बढ्दो समस्याको रूपमा देखापरेको छ। मोटोपनले २ देखि ७ गुणासम्म मृगौला फेल गराउने सम्भावना रहन्छ। मोटोपनले अप्रत्यक्ष रूपमा मधुमेय, उच्च रक्तचाप, मुटुको रोग आदि गराएर मृगौला रोगको कारक तत्त्व बन्ने गर्छ भने प्रत्यक्ष रूपमा मृगौलालाई अत्यधिक कार्य गर्न लगाई मृगौलामा खराबी ल्याउने गर्छ र यसले मृगौलाको पत्थरी तथा मृगौलाको क्यान्सरसमेत गराउन सक्छ। 
मोटोपन घटाउनाले मृगौलाका दीर्घरोगमा कमी गराउन वा निको पार्न पनि मद्दत गर्छ। अकस्मात मृगौलामा खराबी आउने समस्या (एकेआई) पनि मोटोपना भएकामा बढी मात्रामा पाइने गर्छ। मृगौला रोगको गम्भीरतालाई मनन गरी नेपाल सरकारले डायलासिस पूर्णरूपमा निःशुल्क गरिसकेको छ भने मृगौला प्रत्यारोपण पनि निस्शुल्क गर्ने अन्तिम तयारीमा छ। यसबाट मृगौला रोगले थलिएकाहरू जसको घर—सम्पत्ति सखाफ भइसकेको छ, उनीहरूमा बाँच्ने आशा पलाएको छ र प्रत्यारोपणपश्चात स्वस्थ व्यक्तिसरह जीवनयापन गर्नसक्ने हुँदा देशको उत्पादकत्वमा पनि अभिवृद्धि हुनेछ। ५ वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला ‘फेल’ भएकाहरूका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको छ भने हालै सुरु गरेको कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रियाका साथै विभिन्न अङ्गसमेत ‘फेल’ हुनबाट जोगाउने कार्य तथा प्रत्यारोपण लगायतको उपचार स्वदेशमा उपलब्ध गराई जनसाधारणको पहुँचभित्र ल्याउन केन्द्र कटिबद्ध छ।

नसर्ने रोगमाथि अनुसन्धान परियोजना

नसर्ने रोगबारे अनुसन्धान गरेर सामुदायिक स्वास्थ्य प्रणालीमा एकीकृत सुधारको परियोजना सुरु भएको छ ।स्वीस सरकारको आर्थिक सहयोगमा जेनेभा युनिभर्सिटी हस्पिटल र युनिभर्सिटी अफ जेनेभाले नेपालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर कोहेसनले परियोजना सञ्चालन गरेको हो । प्रतिष्ठानले स्वास्थ्य प्रणालीमा एकीकृत सुधारबारे अनुसन्धान गर्न सुरु गरेको छ भने नेपालसँगै दक्षिण अमेरिकाको पेरु, अफ्रिकाको मोजाम्बिक र स्विट्जरल्यान्डमा पनि एकसाथ अनुसन्धान सुरु गरिएको छ ।
प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रोजेक्ट सुरु भएको जानकारी दिएको हो । प्रतिष्ठानका पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिन विभाग प्रमुख प्राडा नीलाम्बर झाले भने, ‘यो परियोजनाको मुख्य उद्देश्य कम आय भएका मुलुकहरू र त्यहाँका मानिसले नसर्ने र उपेक्षित रोगबाट भोग्नुपरेको तथ्यलाई उजागर गर्दै नीति निर्माण तह र राज्यको ध्यानाकर्षण गर्नु हो ।’
उनका अनुसार नेपालमा नसर्ने रोगहरूप्रति कुनै स्वास्थ्य नीति बनेको छैन । सरुवा रोगले जति नै नसर्ने रोगले मानिसको ज्यान लिने गरेको अवस्थामा तीन वर्षे स्वास्थ्य अनुसन्धानमूलक परियोजनाले स्वास्थ्य नीतिमा परिवर्तन गर्ने अपेक्षा गरिएको डा झाले बताए । परियोजनाका नसर्ने रोगका विशेषज्ञसमेत रहेका प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्राडा संजीवकुमार शर्माले पाइलट प्रोजेक्टका लागि नेपालमा नसर्ने रोगमा सुनसरीको इटहरी उपमहानगरपालिका र कुष्ठरोगमा झापाको बनियानी क्षेत्रलाई रोजिएको बताए । उनले भने, ‘सरुवा रोगप्रति सरकारी निकायबाट नै चासो लिइँदै आएको छ । तर मधुमेह, उच्च रक्तचाप जस्ता रोगप्रति राज्यले चासो लिएको देखिँदैन । नसर्ने रोगबारे स्वास्थ्य नीति नै नभएकाले प्राथमिक स्वास्थ्य केन्द्रहरूमा यसबारे सामान्य बिरामीसमेत उपचारका लागि जाँदैनन् । र, राज्यले नसर्ने रोगलाई ध्यानमा राखेर प्राथमिक उपचार केन्द्रमा आवश्यक जनशक्ति, उपकरण, ल्याब टेस्ट आदिको व्यबस्थासमेत गरेको पाइन्न । अनुसन्धान पुरा भएपछि परियोजनाले त्यस्ता नसर्ने रोगप्रति पनि स्वास्थ्य निति बनाउने गरी आफ्नो आफ्नो मुलुकका सरकारलाई प्रतिवेदन दिने छ ।


अब मृगौला प्रत्यारोपण निःशुल्क

सरकारले २०७४ सालदेखि सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण निस्शुल्क गर्ने घोषणा गरेको छ ।  विश्व मृगौला दिवसका अवसरमा बिहीबार मानव अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले खुलामञ्चमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले उक्त घोषणा गरेका हुन् ।  यसका लागि आवश्यक नीतिगत व्यवस्था र आर्थिक स्रोत सुनिश्चिततासमेत भइसकेको उनले बताए । निस्शुल्क प्रत्यारोपणका लागि कर कोषबाट आएको ५० करोड रुपैयाँलाई उपयोग गरिने उनको भनाइ थियो ।  निःशुल्क प्रत्यारोपणपछि बिरामीले जीवनभर खानुपर्ने अत्यन्त महँगो औषधि पनि सरकारले सस्तोमा उपलब्ध गराउने तयारी गरेको छ । 
यसका लागि विदेशीहरूसँग सहमतिका आधारमा मुलुकमा सस्तो मूल्यमा औषधि भित्र्याइने उनले बताए । यस्तै निःशुल्क डायलासिस सेवाको विस्तार काठमाडौंबाहिरका अस्पतालमा भइरहेको उनले जानकारी दिए ।
मोटोपनाले गर्दा हाल नेपालीमा मृगौला फेल हुने जोखिम सात गुणासम्म बढेको उल्लेख गर्दै मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक पुकारचन्द्र श्रेष्ठले आधुनिक जीवनशैली, नसर्ने रोगको बढ्दो उपस्थितिले मृगौला स्वास्थ्यलाई धेरै प्रभावित गरेको बताए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डलरले मुलुकमा एक चौथाइसम्म मोटोपना रहेकाले स्वस्थ जीवनशैली, उचित खानपान र शारीरिक सक्रियता बढाउनुपर्ने बताए । विश्वभरि ८ देखि १० प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित छन् । नेपालमा ३० लाख व्यक्ति मृगौला रोगबाट पीडित छन् भने बर्से्नि करिब तीन हजारको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ ।

Post a Comment

 
Top