0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २८ अर्मलाका नागरिकहरुले उपमहानगरपालिकामा समायोजन भएको तीन बर्ष वितिसक्दा पनि आँफूहरुले नगरबासी भएको अनुभूति गर्न नपाएको गुनासो गरेका छन्। पोखरा उप–महानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले नगरपालिकामा हुने आधारभूत ब्यवस्था समेत नभएको गुनासो गरे । ‘अर्मलामा नगरबस चल्दैन । खोलामा पुल छैन, स्थानीय जयलाल भट्टराई भन्छन्–नगरपालिकाले यसको ब्यवस्थापन गरिदिनुप¥यो ।’ आधारभुत संरचना पनि नहुँदै महानगरपालिका बनेकोमा अर्का स्थानीय धर्मराज आचार्य गुनासो गर्छन् । ‘उपमहानगरपालिका बन्दा ठूलै चिज पाईयो भनेर छात्ति फुलेको थियो । ३ बर्षअघि जस्तै छ अर्मला, उनले भने–‘तीनबर्षमा गाविसबाट महानगर बनिसक्यो । हामी कहिले बन्छौं नगरबासी ?’
सहभागीहरुले लक्षित बर्गको बजेटबारे जानकारी नपाएको गुनासो गरे । 
यस्तै फोहोरमैला ब्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण लगाएतका बिषयमा सुझाव र प्रश्न गरे । प्रश्नको सुनुवाई गर्दै नगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख, बरिष्ठ अधिकृत ओमराज पौडेलले नगरपालिका सँधै वडाबासीकै साथमा रहेको प्रष्ट्याए । ‘स्वभाविक रुपमा शहरी वडा भन्दा ग्रामीण वडाहरु हाम्रो प्राथमिकतामा छन्, उनले भने–यो अवसरबाट अर्मला बञ्चित छैन । श्रोत अनुसार लगानी गरेकै छौं, अझै बढाउन पहल गर्छौं ।’ उनले लक्षित बर्ग तर्फका बजेट मागका आधारमा खर्च भएको भन्दै अर्मलामा पनि लगानीका लागि तयार रहेको बताए ।
बरिष्ठ इञ्जिनियर शारदा मोहन काफ्लेले वडा तहको सार्वजनिक सम्पत्ति संरक्षणका लागि र पुल निर्माणका लागि आवश्यक समन्वय तत्काल थाल्ने प्रतिबद्धता जनाए । उनले नयाँ वडा भएकाले ग्रामिण भेगजस्तै रहेको भन्दै शहरको स्वभावका आधारमै विकास निर्माणका काम गर्ने बताए । 
‘नयाँ वडाहरुमा सार्वजनिक सम्पत्ति र संरचना निर्माणमा केही समस्या परेको गुनासो छ, उनले भने–केही समयमै देखिनेगरी समस्या समाधान हुन्छ । अर्मलामा पनि यो अभियान चल्छ ।’ 
प्रशासन महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत अनन्त प्रसाद कोइरालाले पनि नगर बस ब्यवसायी समितिसँग समन्वय गरेर निरन्तर बस सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । 
उनले बजार क्षेत्रमा भएका फोहोर संकलनका लागि गरिएको माग नगरपालिकाको बैठकमा प्राथमिकताका साथ प्रश्तुत गर्ने र गुनासोको सम्बोधन हुने बताए ।
सेवाग्राही नागरिकले नगरपालिकामा सेवा लिन निकै झण्झट ब्यहोर्नुपरेको, विद्युत खानेपानी जस्ता पूर्वाधार विस्तारमा पनि नगरपालिकाले कञ्जुस्याईँ गरेको, जनसहभागीता बापतको रकम बढी भएको, पर्यटकीय ठाउँहरुको विकासमा चासो नदिईएको लगाएत गुनासो गरे । 
जवाफमा प्रमुख जवाफदेह ओमराज पौडेलले आगामी दिनमा जनताको गुनासो नदोहोरिने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘तपाईँहरुका सबै गुनासो हामी नोट गरेर महाशाखामा पु¥याउँछौं । आवश्यक सम्बोधनका लागि आग्रह गरौंला, उनले भने–अर्को पटक यो गुनासो दोहो¥याउनु पर्दैन । 
विश्वस्त हुनुस् ।’ कार्यक्रममा वडा तहका राजनीतिक दलका प्रमुखहरु पनि सहभागी थिए । नेपाली काँग्रेसका इकाई सभापति दिननाथ आचार्य, एमाले अध्यक्ष चुडामणि आचार्य, माओवादी केन्द्रका अध्यक्ष बसन्त शर्मा भट्टराई, राप्रपा अध्यक्ष तिलक बहादुर केसी लगाएतले महानगरको जस्तो सेवा प्रबाह गर्न सुझाए ।
वडा सचिव वसन्तराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए भने नागरिक निगरानी समूहका सदस्य गणेश बहादुर श्रेष्ठ यसअघिको कार्यक्रममा गरिएका सार्वजनिक प्रतिबद्धता र कार्यान्वयन बारे जानकारी गराएका थिए ।



Post a Comment

 
Top