0
गोल्डेन न्यूज संवाददाता
अभियान युवा क्लवद्वारा आयोजित प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता–२०७३ को उपाधि पुनहिल क्लव घोरेपानीले चुमेको छ । फाईनल खेलमा पोखरा क्लबलाई पछाडि पार्दै उपाधि हात पारेको हो । नगद राशि रु ५० हजार पाँच सय पचपन्न सहित प्रतियोगिताको प्रथम स्थान पुनहिल क्लव घोरेपानीले प्राप्त गरेको छ भने द्वितीय स्थानमा पोखरा क्लबले नगर राशि रु ३० हजार ५ सय पचपन्नमा चित्त बुझाएको हो । मालेपाटन खेलमैदानमा सम्पन्न फाईनल खेलमा पुनहिल क्लबले २५–१९, २५–२१ र २५–१४ को सोझो सेटमा पोखरा क्लबलाई पराजित गरेको हो । यसअघि बाराही माविलाई पछाडि पार्दै पुनहिल र पोखरा बहुमुखी क्याम्पसलाई पराजित गर्दै पोखरा क्लब सेमिफाईनलमा पुगेका थिए । प्रतियोगितामा अनुशासित टीममा सशस्त्र प्रहरी बल कालिका गण परेको छ भने बेस्ट डीफेन्सको ट्रफी पोखरा क्लबका युवराज भण्डारीले पाएका छन् । त्यस्तै बेस्ट स्पाईकरमा पोखरा क्लबका प्रितम मल्ल, बेस्ट ब्लकरमा पुनहिल क्लबका विष्णु क्षेत्री, बेस्ट सर्भरमा पुनहिलकै अर्जुन मल्ल, बेस्ट लिफ्टरमा पुनहिलका प्रदिन गुरुङ र बेस्ट प्लेयरमा पुनहिनका महेश खड्का रहेका छन् । पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा ट्रेडमलका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य महासंघका नि.अध्यक्ष विन्दुकुमार थापाले युवाहरुको खेलकुद प्रतिको लगाव देखेर आफू खुसी भएको र देश हाक्न सक्ने युवाले कुनै पनि कार्य गर्न सक्ने बताएका थिए । त्यस्तै मेट्रो सिटी हस्पिटल प्रालि संचालक समितिका अध्यक्ष डा. भरत खत्रीले मानिसलाई स्वस्थ्य रहनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिएको थिए । कार्यक्रममा टोलविकास नगर तथा वडा समन्वय समितिका अध्यक्ष उज्वल खत्री, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय पार्षद यज्ञप्रसाद वास्तोला, नागरिक निगरानी समूहकी संयोजक अञ्जु केसी, सूर्यचन्द्र विकास समाजका अध्यक्ष अंकित बराल लगायतले मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष मोहन बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभियान महिला उपसमितिकी सृजना बरालले राखेकी थिईन् ।


Post a Comment

 
Top