0
गोल्डेन न्यूज संवाददाता
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिए । कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमतिविपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दोष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराए । उनले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताए । सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिए। यस्तै, परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहो¥याउन आग्रह गर्नुभएको र यहाँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि बताए ।
मोदीबाट दुःख व्यक्त
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त गरिएको जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले टेलिफोन गरी यस्तो सन्देश दिनुभएको पनि निधिले अवगत गराए । प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । यसैगरी गृहमन्त्री निधिले नेकपा (एमाले) को मेची–महाकाली अभियानलाई अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्ताको विरोध र उत्तेजित भीड नियन्त्रण गर्न र ठूलो क्षति हुन नदिन स्थानीय अधिकारीको अधिकार बमोजिम घुँडामाथि गोली हानिएकामा चारजनाको दुःखद् निधन हुन पुगेको बताए । उनले दुबैतर्फ क्षति नहोस् भनेर संयमता अपनाउँदा पनि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा कारबाही गरिएको जनाए । उनले संविधान कार्यान्वयन, संविधान संशोधन र निर्वाचनको चरणमा सरकार लागिरहेको भन्दै संशोधन विधेयक पेस गरिसकेको र आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचना राजपत्रमा प्रकाशन गरी कार्यान्वयन सुरु गरिएको अवस्थामा निर्वाचनको तयारीका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेको बताए । उनले जाजरकोटको बस दुर्घटनाका सम्बन्धमा पनि जानकारी दिँदै घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी विभिन्न स्थानमा उपचार र राहत वितरण कार्य अघि बढाइएको बताए ।




Post a Comment

 
Top