0
गोल्डेन न्यूज संवाददाता
प्रिष्टिना नारी सम्मान पुरस्कारबाट यसवर्ष संरक्षण नेपालका संस्थापक अध्यक्ष सुशीला वाग्ले सम्मानित भएकी छन्। प्रिष्टिना ब्यूटि पार्लर एण्ड ट्रेनिङ इन्स्टिच्यूटको १८ औँ वार्षिकोत्सव को अवसरमा महिलाको क्षेत्रमा अतुलनीय योगदान गरे वापत वाग्लेलाई दोसल्ला, माला, सम्मानपत्र र नगद ८ हजार १ सय ५ रुपैँया नगदले सम्मान गरिएको हो । वाग्लेलाई प्रिष्टिना ब्यूटिपार्लर एण्ड ट्रेनिङ इन्स्टिच्यूटको १८औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जि.सीले उक्त पुरस्कारबाट सम्मान गरेकी हुन् ।
वि.सं. २०२१ सालमा तनहुँको राईपुर वडा नं. ७ मा भदौँ ९ गते जन्म भई हाल पोखरा ६ लेकसाईड बस्ने वाग्ले संरक्षण नेपालका संस्थापक अध्यक्ष, समपर्ण नेपालका निवर्तमान संस्थापक, प्रगति दिदीबहिनीका संस्थापक संरक्षण, श्री कृष्ण टोल विकास संस्थाका अध्यक्ष लगायत थ्रपै सामाजिक संघ–संस्थामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकी छन् । वाग्लेले विगत लामो समयदेखि महिलाको क्षेत्रमा समेत काम गर्दै आइरहेकी छन्। सम्मानित व्यक्तिको परिचय पत्रकार सावित्रा कोइरालाले दिएकी थिइन । 
यसअघि यो पुरस्कारबाट सामाजिक व्यक्तित्व कमलादेवी गिरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी. ले जहाँ एकाग्रता, त्यहाँ सफलता हुने जनाउँदै, अवसर पाए महिलाले जे पनि गर्न सक्ने भन्दै जबसम्म महिलाको आर्थिक सशक्तिकरण हुदैँन तबसम्म महिला हिंसा अन्त्य नहुने बताइन । समस्यालाई मात्र केलाउनु भन्दा पनि समस्यालाई चिरेर अघि बढ्न सक्नुपर्नेमा जिसीको जोड थियो ।
सम्मानित व्यक्तित्व वाग्लेले यो सम्मानले आफूमाथि जिम्मेवारी थपिएको महसूस भएको बताइन । महिलाहरु पछि पर्नु नहुने जनाउँदै स्थानीय तहको निर्वाचनमा महिलालाई नेतृत्व तहमा पु¥याउन सम्पूर्ण महिलाहरुले पहल गर्नुपर्नेमा उनको जोड थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत सहभागीता गराउनुपर्ने बताइन ।
कार्यक्रममा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा, परिवर्तनका लागि कार्य नेपालका अध्यक्ष गीता लामिछाने, मानव मिलन नारी जागरण संस्थाका अध्यक्ष पार्वती पौडेल, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गीता तिवारी, मेट्रो टुर्स एण्ड ट्राभल्स्का प्रोपाइटर तथा पर्यटन व्यवसायी कमला गिरी, सर्वेश्वर एकता नारी व्यवसायी समूहका उपाध्यक्ष कल्पना क्षेत्री, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङ, सामाजिक जागरणका लागि नारी अभियानका सदस्य उषा गोशली, प्रिष्टिना ब्यूटि पार्लर एण्ड ट्रेनिङ इन्स्टिच्यूटका स्टाफ मञ्जु पौडेल र ममता गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
प्रिष्टिना ब्यूटि पार्लर एण्ड ट्रेनिङ इन्स्टिच्यूटका प्रोपाइटर ईन्दु क्षेत्री पुरी कि छोरी प्रिष्टिना क्षेत्रीको अध्यक्षतामा  भएको कार्यक्रमको सञ्चालन संचारकर्मी उमा आलेमगरले गरेकी थिइन ।

Post a Comment

 
Top