0
गोल्डेन न्यूज संवाददाता
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस सरकारबाट पाउने पेन्सन नेपाल राष्ट्र बैंकमार्फत पाउनु पर्ने माग राखेको छ । ‘हामी गोर्खा सैनिकहरुले अवकाश प्राप्त गरेपछि पाउने पेन्सन ‘भारतीय रिजर्भ बैंक’ मार्फत नेपाल पठाइने गरिएको छ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका अध्यक्ष कृष्णकुमार राईले भने, ‘यसले गोर्खा सैनिकहरुलाई मात्रै होइन मुलुकको अर्थतन्त्र र स्वाधिनतामा समेत आँच आउने काम गरेको छ । 

नेपाल कहिल्यै पनि इतिहासमा बेलायत वा भारतअधिनस्थ मुलुक थिएन । आज पनि होइन । तर, गोर्खाहरुको पेन्सन ‘भारतीय रिजर्भ बैंक’मा पठाइनु हाम्रो स्वाभिमान र स्वतन्त्रतामाथिकै प्रश्न हो’ उनले थपे, ‘यो गोर्खा सैनिकहरुमाथिको अन्याय त हुँदै हो, सार्वभौम मुलुक माथिको अपमान पनि हो । तसर्थ, गोर्खा सैनिकहरुले पाउने पेन्सन सिधैं नेपाल राष्ट्र बैंकमा पठाउनुपर्छ भन्ने हाम्रो माग छ ।’ गेसोले २१ बुँदे माग र मुद्दा सार्वजनिक गरेको छ । जसमा १९४७ मा बेलायत, अधीनस्थ भारत र नेपालबीच भएको भनिएको त्रिपक्षीय सम्झौताको आधारमा बेलायतले गोर्खा सैनिकहरुलाई व्यवहार गरेको भन्ने छ । ‘उक्त सम्झौतालाई बेलायतको ‘रोयल कोर्ट अफ जस्टिस’ले ३० सेप्टेम्बर २००८ मा गैरकानुनी ठहर गरिसकेकोले अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौता हुनुपर्छ,’ विज्ञप्तिमा छ । पहिलो र दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्धमा कति गोर्खा मारिए, घाइते भए, बेपत्ता भए भन्ने कुराको आधिकारिक सूचना पाउनु पर्ने माग गरेको छ । घाइते भएका र हराएका परिवारलाई क्षतिपूर्ति पनि दिइनु पर्ने माग राखेको छ ।
त्यसैगरी नेपालको संविधान 
(२०७२) को नागरिकतासम्बन्धी व्यवस्थामा हामी गोर्खा सैनिकहरुमाथि अन्याय भएको भनेको छ । ‘गोर्खा सैनिकहरुलाई पनि गैरआवासीय नागरिकसरह व्यवहार गर्दै नागरिकतासम्बन्धी प्रावधान राखिएको छ,’ स्पष्ट उद्देश्यसहित बेलायत लगिएको उल्लेख गर्दै अगाडि भनिएको छ, ‘तर, गोर्खा सैनिकहरु गैरआवासीय नेपाली जसरी विदेश गएका होइनन् । तत्कालीन नेपाल सरकारले गरेको सम्झौताकै कारण बेलायत पुगेका हुन् । तसर्थ, गोर्खा सैनिकहरुको हकमा भने अलग्गै नागरिकतासम्बन्धी व्यवस्था गरेर दोहोरो नागरिकताको व्यवस्था गरिनुपर्छ।’ नेपालमै बेलायतसरहको स्तरीय स्वास्थ्य सुविधा पाउनु पर्ने माग राखेको छ । अवकाशप्राप्त गोर्खाहरुलाई बेलायतमै आवासीय, स्वास्थ्य लगायत सुविधा दिँदै आएको छ । ‘बेलायतीसरहको स्तरीय स्वास्थ्य सुविधाहरु नेपालमै उपलब्ध गराइनुपर्छ भन्ने हाम्रो माग रहेको छ,’ विज्ञप्तिमा छ, ‘यदि यस्तो व्यवस्था गरिए बेलायतमा रहेका हजारौं गोर्खा सैनिकहरु आफ्नै जन्मभूमिमा फर्किनेछन् । अर्बौं रकम स्वदेश भित्रिने छ ।’ गेसोले गोर्खाका सन्तानलाई विनाशर्त र बिनाशुल्क आवासीय अधिकार दिइनु पर्ने माग दोहोर्रुयाएको छ । साथै, १८ वर्ष नाघेका गोर्खाका सन्तानहरूको आफ्ना बाबुआमासँग बस्न पाउने अधिकार सुरक्षित हुनुपर्ने भनेको छ । गोर्खाका विधवाहरुलाई आजीवन तलब व्यवस्था हुनुपर्ने, कटौतीमा परेका गोर्खाहरुलाई पेन्सनको व्यवस्था हुनुपर्ने, युद्धपीडितहरुलाई क्षतिपूर्ति र सम्मान दिनुपर्ने, अमेरिकाको हवाइ काण्डका पीडितहरुलाई क्षतिपूर्ति दिन माग राखेको छ । त्यस्तै, गोर्खा कल्याणकारी कोषको पैसा गोर्खाहरुको हितमा प्रयोग गरिनु पर्ने, बेलायतमा बसोबास गरिरहेका गोर्खा ‘भेट्रान’हरुलाई यसअघि नेपाल आउन ९० दिनको बिदा समय दिइएकोमा कटौती गरी २८ दिनमा सीमित गर्न नहुने, सलामी रकम (रोयल्टी) सार्वजनिक हुनुपर्ने माग राखेको छ । त्यसैगरी, गोर्खा पल्टनमा हिन्दू ब्राह्मण पण्डित राख्ने परम्पराको अन्त्य गरी जनजाति गोर्खाहरूको मौलिक संस्कार र संस्कृति मान्न पाउनु पर्ने व्यवस्था गर्न भनेको छ । ‘गोर्खा पल्टनमा हिन्दु पण्डित राख्न र हिन्दु मन्दिर राख्न तुरुन्त बन्द गरिनुपर्छ र आ–आफ्नो संस्कृति र संस्कार मान्न पाउने, आ–आफ्नो समुदायका संस्कार–संस्कृति गर्ने व्यक्तिहरु नियुक्त गरिनुपर्छ,’ विज्ञप्तिमा छ । बेलायती सहयोग गोर्खा सैनिकहरुको बसोबास भएको क्षेत्रमा केन्द्रित हुनुपर्ने, बहादुरीको तक्मा भिक्टोरिया क्रस (भीसी)का तक्मा प्राप्त १३ जना गोर्खाहरुको अमूल्य तक्माको अवमूल्यन भएप्रति आपत्ति जनाएको छ । गोर्खाहरुलाई दिएको ‘लिगल एड’लाई निरन्तरता दिइनु पर्ने, आवासीय भिसामाथिको नयाँ प्रतिबन्ध फुकुवा गरिनु पर्ने माग राखेको छ ।


Post a Comment

 
Top