0
भारतमा २ वर्षअघिको लोकसभा र हालैको उत्तर प्रदेश विधानसभा निर्वाचन परिणामले ६ दशकदेखि भारतीय राजनीतिको मूलधारमा रहेको भारतीय राष्ट्रिय कांग्रेस किनारमा उछिट्टिएको छ । कांग्रेसले पुनर्जीवन पाउँछ कि पाउँदैन भन्ने बहस भारतका राजनितीक विश्लेषकबीच सुरुभएकोे छ । चरित्र र व्यवहारले भारतको कांग्रेस यतिवेला न ’सोसलिस्ट’ भन्न सकिने अवस्थामा छ न ’क्यापिटलिस्ट’ नै बन्न सकिरहेको छ । 
त्यसैको परिणाम ६ दशकदेखि राजनीतिको मूलधारमा रहेको कांग्रेस ’चायवाला’ नरेन्द्र मोदीको चमत्कारका कारण बढारिनु परेको हो । 
’गान्धी रिर्टन टु व्याक इन्डिया सेन्चुरी’ नामक एउटा कार्यक्रममा पंक्तिकारले केही साताअघि भारतको अहमदवादमा सहभागी हुने अवसर प्राप्त गरेको थियो । त्यसबखत गान्धी पिस फाउन्डेसनका पूर्वमहामन्त्री रमेश कुमारले भनेका थिए — ’उत्तर प्रदेशको चुनावमा कमल फूल्यो भने २०१९ को लोकसभाको चुनाव पनि भाजपाकै पक्षमा जानेछ ।’ उनको आशय थियो— सन् २०१९ को लोकसभा चुनाव भाजपाका पक्षमा गयो भने कांग्रेसको मुखमा अघोषित रुपमा पट्टी बाँधिने छ । त्यतिबेला गान्धीवादीहरु पनि अड्कलेर बोल्नुपर्ने अवस्था आउन सक्छ । नभन्दै, उत्तर प्रदेश विधानसभाको निर्वाचन परिणाम भाजपाको पक्षमा गयो । धार्मिक कट्टरताका पक्षपाती योगी आदित्यनाथ मुख्यमन्त्री भएका छन् । रमेश कुमारको पहिलो चिन्ता त सत्यमा परिणत भएको छ । दोस्रो र तेस्रो चिन्ता पनि सत्य साबित भयो भने भारतको इतिहासमा नयाँ राजनीतिक युग सुरु हुनेछ । भारतका उदार प्रजातन्त्रका पक्षपातीहरु आफ्नो विचार वा अभिव्यक्ति प्रकट गर्न पश्चिमा मुलुकसँगै नेपाल प्रवेश गर्नुपर्ने अवस्था आउनसक्छ । लोकतान्त्रिक भारतको राजनीतिक सहिष्णुताको संस्कार ’एकमत’को राजनीतिमा परिवर्तन हुने संकेत देखिँदैछ । 
त्यतिवेला पश्चिमामात्र नभएर छिमेकी मुलुक पनि भारतका लागि छोइछिटो हाल्नुपर्ने देश बन्न सक्छन् । प्रधानमन्त्री मोदी र नवनियुक्त मुख्यमन्त्री योगीको परिकल्पना र सोचअनुसार देशको शासन व्यवस्था चल्दै गयो भने गणतन्त्र भारतको पहिचान वैदिक भारत वर्षमा रुपान्तरित हुनसक्छ । त्यसपछि भारत पौराणिक किंवदन्तीअनुसार शासन व्यवस्था चल्ने देश बन्नेतर्फ उन्मुख हुनेछ । अर्थात्, पूर्वीय दर्शनमा आधारित संस्कारको शासन व्यवस्थासहितको अलग पहिचान भएको देश बन्ने सम्भावना देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव चाहेर नचाहेर नेपालमा पनि पर्नेछ । नवनियुक्त मुख्यमन्त्री योगीले लेखेको पुस्तक ’हिन्दू राज्य नेपाल’ ले त्यतै संकेत गरेको छ ।   
मूर्धन्य राजनीतिज्ञ गोपालकृष्ण गोखले, बालगंगाधर तिलक, मदन मोहन मालवीय र मोहनदास गान्धीको नेतृत्वमा हुर्किएको भारतको कांग्रेस आज किन बगरमा छटपटाएको माछा बन्न पुग्यो त ? यसको चिन्ता र चासो नेपालका ’डेमोक्रयाट’लाई पनि हुनुपर्ने हो । नेपालको नेपाली कांगे्रस पनि त्यही ’सत्याग्रह’को जगमा जन्मिएको पार्टी हो । नेपाली कांग्रेसको स्थापनाकालका दस्तावेज वा बीपी कोइरालाको जीवनी अध्ययन गरे यसको पुष्टि हुन्छ । 
उच्च प्रजातान्त्रिक आर्दश र निष्ठाबाट फक्रिएको र फुलेको पार्टी हो–नेपाली कांग्रेस । अहिले पनि गान्धीवादका अध्येताले नेपालको विषयसँग सम्बन्धित रहेर बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधीलाई नेपालको राजनीतिमा निष्ठाको राजनीती गर्ने राजनितीज्ञ भनेर अध्ययन अनुसन्धान गरिरहेका छन् । इतिहासको अध्ययनबाट भारतको कांग्रेसजस्तै नेपालको नेपाली कांग्रेस पनि त्याग बलिदान र योगदान गरेको पार्टी हो भन्ने सहजै बुझिन्छ । अर्थान्, नेपाली कांग्रेस गमलाको फूल हैन ।
नेपालमा हिंसाको राजनीतिबाट स्थापित पार्टीसँगको सामीप्यमा अहिंसामा विश्वास गर्नै शक्तिले लोकतन्त्रको अभ्यास गरिरहेको छ । बेमेल चरित्रको पार्टीसँग  वर्तमान सरकारमा सहयात्रीका रुपमा सत्ता साझेदार हुनसक्नु कांग्रेसको उच्च मनोबल परिचायक हो । 
कांग्रेसले सत्ता गठबन्धनमा यतिबेला गरेको त्यागलाई पूर्वाग्रहको चस्माले नहेर्ने हो भने उच्च लोकतान्त्रिक संस्कारको अभ्यास पनि देखिनेछ । वर्तमान परिवेशले नेपालको राजनितीमा केही दिशाबोध गर्न खोजेको पक्कै हो तर सहि दिशा निर्धारण गर्न सकिरहेको छैन । कारण, कांग्रेसका संंस्थापन, विस्थापन वा मझधार भन्नेहरुले पत्ता लगाउन सके राम्रै हुनेछ । माओवादीका लागि वर्तमान अवसर ‘आए आँप गए झटारो’मात्र हो । किनभने स्थानीय निर्वाचनमा नस्लवादी धारसँग कार्यगत एकता गर्दै सत्ता साझेदार दल कांग्रेससँग कित्ताकाट गर्ने निश्चित छ । 
अग्रजहरुको मार्ग्निर्देशनबाट विचलित हुँदा देशमा अहिलेको अन्योलको स्थिति देखिएको हो भन्ने स्वीकार्न नसक्नु कांग्रेस नेतृत्वको राजनीतिक अपरिपक्वता हो । विगतको आधार र वर्तमानको मूल्यांकन गर्न नसक्दा भारतमा कांग्रेसको जनाधार जसरी खस्कँदै गएको छ कतै नेपालको कांग्रेस पनि आसन्न स्थानीय निर्वाचनमा बढारिने त हैन ? एमालेको मेची–महाकाली अभियानपछि मध्य र पश्चिम नेपालको स्थलगत भ्रमणका आधार केलाउँदा जसरी भारतको उत्तर प्रदेशमा अनपेक्षित कमल फुल्यो त्यसरी नै नेपालमा पनि बसन्तमा सूर्य उदाउने सम्भावना बढेको देखिएको छ । 
सरकारमा रहेको कांग्रेसले गरेको बिफ्रकेसको विकारयुक्त संस्कारको राजनीतिमा पक्षपोषणले जनतासँग संवाद र सम्पर्कमा बाधा पारेको देखिन्छ । जनतासँग सामञ्जस्य राख्न नसक्ता के हुन्छ भन्ने भारतको दृष्टान्तबाट बेलैमा पाठ सिक्न सकेमात्र राजनीतिक भविष्य बोकेका कांग्रेसका युवा नेता गगन, नविन्द्र, विश्वप्रकाश, प्रदीपहरुले पछुताउनु पर्ने थिएन ।





Post a Comment

 
Top