0
गोल्डेन न्यूज संवाददाता
कास्कीको साविक सल्यान हालको अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्यचौकी सामाजिक परीक्षण सम्पन्न गरिएको छ। स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष राजन तिमिल्सिनाको अध्यक्षतामा भएको भेलामा सामाजिक परीक्षण गरिएको हो । भेलामा सहभागीहरुले स्वास्थ्यचौकीको विविध समस्याको बारेमा जानकारी गराएका थिए । उनीहरुले भेलामा राखेको समस्याहरुमा दरवन्दी अनुसारको कर्मचारी सेवा अभाव, पर्याप्त औषधि नभएको, १० देखि बजेसम्म कर्मचारी कार्यालयमा नबसेको, नागरिक वडापत्र तथा निःशुल्क वितरण गरिने सेवा तथा औषधिको सूचनावोर्ड भित्र राख्ने गरिएको, स्वास्थ्य चौकीमा बिरामी बोक्ने स्ट्रेचर नभएको र स्वास्थ्यचौकी भवनको संरचना पुरानो हुँदा पानी चुहिने, कार्यलयभित्रका कागजपत्र तथा टेवुल कुर्ची लगायतका सामाग्रीहरु जोगाउन मुस्किल परेको लगायत रहेका छन् । 

स्वास्थ्यचौकी प्रमुख कमल मोहन पौडेलले नागरिकहरुबाट प्राप्त सुझावलाई मनन गरी कार्यालय व्यवस्थापनमा यथाशीघ्र ध्यान दिइने बताए । उनले स्वास्थ्यचौकीमा देखापरेका समस्याहरु समाधानका लागि आवश्यक कार्य गर्न ढिलाई नगरिने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा नेपाली कांग्रेसका अध्यक्ष मानबहादुर के.सी., नेकपा एमालेका क्या.रामबहादुर के.सी., माओवादी केन्द्रका बलबहादुर के.सी., रा.प्र.पा. जीवनाथ पौडेल, सुशासनका लागि नागरिक समाज (सुनास) का सदस्य एवम् सहजकर्ता विष्णु अधिकारी लगायतले स्वास्थ्य संस्थामा देखिएका समस्याहरुलाई समाधान गर्न व्यवस्थापन समिति तथा स्वास्थ्यचौकी कर्मचारी जवाफदेही हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्वास्थ्य संस्थामा उपलव्ध निःशुल्क सेवालाई सहज रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सुनास कास्कीका सदस्य विष्णु पौडेलले गरेका थिए भने स्वागत अ.हे.व. मन्दिरा प्रधानले गरेकी थिइन् ।

यसैगरी लुम्ले स्वास्थ्यचौकी माझकोट गाउँमा आमभेला भएकोछ । व्यवस्थापन सदस्यका अध्यक्ष नारायण क्षेत्रीको अध्यक्षतामा भएको भेलामा सुनास कास्कीका कार्यक्रम अधिकृत भानु पराजुलीले स्वास्थ्य चौकीमा देखा परेका विभिन्न समस्याहरुमा प्रकाश पार्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, व्यवस्थापन समिति तथा स्थानीयबासी समेतको महत्वपूर्ण भूमिका रहने भन्दै औषधि भण्डारण, दरवन्दी अभाव, भौतिक संरचना लगायतका समस्याहरु समाधानका लागि सम्बन्धित निकायमा व्यवस्थापन समितिमार्फत काम गर्नुपर्नेमा जोड दिएका थिए ।  सुनासका सहजकर्ता विष्णु अधिकारीले संस्थामा देखा परेका विविध समस्याहरु बारे उल्लेख गरेका थिए । कार्यक्रममा ने.क.पा. एमालेको तर्फबाट भरत देवकोटा, माओवादी केन्द्रका लक्षमण देवकोटा, महिला स्वास्थ्य स्वयंसेविका विजकुमारी गुरुङ, लक्ष्मी देवकोटा सहभागी गंगादेवी क्षेत्री लगायतले वर्थिङ्ग सेन्टर सञ्चालनमा आएपनि २४ घण्टा सेवा नपाएको गुनासो गरेृका थिए भने गुनासोलाई सम्बोधन गर्दै स्वास्थ्यचौकी प्रमुख सुदिप कुमार मिश्रले वर्थिङ्ग सेन्टर तथा स्वास्थ्यचौकीमा औंल्याइएका समस्याहरु प्रति उपयुक्त समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरे ।

Post a Comment

 
Top