0
गोल्डेन न्यूज संवाददाता
क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका बनेको छ पोखरा । लेखनाथ नगरपालिका समेत गाभिएपछि यसको नाममै विवाद भयो । पोखरा लेखनाथ महानगरपालिका नै देशभरिको यस्तो स्थानीय तह हो, जसभित्र जिल्लाका सबै निर्वाचन क्षेत्र अटाएका छन् । कास्की जिल्लाको ८० प्रतिशत भूभाग समेटिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयर बन्नका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीभित्रका आकांक्षीहरुले लबिङ तीब्र पारेका छन् । देशको पयर्टकीय शहर पोखरा महानगरको प्रमुख बन्न जिल्लाका प्रभावशाली नेताहरु नै अग्रसर भएका छन् । पोखरा उप–महानगरपालिकामा लेखनाथ नगरपालिकासहित एक दर्जन गाविस थपिएर महानगर बनेको हो । पोखरा महानगरमा सराङकोट, पुरुनचौर, लामाचौर, भदौरे, चापाकोट, कास्कीकोट, अर्मला, मौजा, काहुँ, भारतपोखरी, निर्मलपोखरी र भलाम गाविस गाभिएका हुन् ।

एमाले पकड रहेका गाविसहरु समेत थपेर महानगरपालिका एमालेका लागि अनुकुल बनाइएको भन्दै कास्कीका कांग्रेस कार्यकर्ताहरु ले अशन्तुष्टि व्यक्त गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी चर्चा पनि चुलिएको छ । उम्मेदवारका आकांक्षीहरुले कार्यकर्ता भेटघाट बढाउन थालेका छन् । कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्र महानगरपालिका भित्र पर्ने भएकाले महानगरको मेयर सांसदभन्दा शक्तिसाली हुने निश्चित छ । त्यसैले बहालवाला सांसददेखि सांसदको चुनावमा प्रत्याशीहरुनै मेयरका आकांक्षी देखिएका छन् । कतिपयले पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलाएका छन् । तर, सांसदहरु मेयरको उम्मेदवार बन्ने सम्भावना छैन । अन्य नेताहरुलाई नै व्यवस्थापन गर्न समस्या परेका बेला पार्टीहरुले बहालावाला सांसदलाई मेयरको उम्मेदवार बनाउने सम्भाव नै नरहेको दलका नेताहरु बताउँछन् । पोखराको मेयरका लागि कांग्रेसभित्र आधा दर्जन आकांक्षी देखिएका छन् । ती मध्ये पूर्व सांसद महादेव गुरुङ र उद्योग वाणिज्य संघ पोखराका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा सशक्त दावेदार हुन् । त्यस्तै कांग्रेसका जिल्ला सभापति कृष्ण केसी, अशोक पालिखे र पोखरा उपमहानगरका पूर्व वडाध्यक्ष विरेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी हुन् ।
त्यस्तै पूर्वसचिव बाबुराम आचार्यले पनि मेयरका लागि आकांक्षा देखाउँदै कांग्रेस कार्यकर्तालाई आफ्नो पक्षमा परिचालन गरिसकेका छन् । पोखरा गुरुङ समुदायको सघन बसोबासको महानगरपालिका भएकाले महादेव गुरुङले टिकट पाउने सम्भावना बढी रहेको चर्चा कांग्रेस वृत्तमा छ । तर, उनी जिल्लामा भन्दा केन्द्रमै रहने गरेकाले जिल्लामा उनको पक्षमा माहौल बन्न सकेको छैन । विन्दुकुमार थापा पनि चर्चित अनुहार हुन् । त्यसो त देवराज चालिसेले पनि मेयरका लागि आफ्नो आकांक्षा देखाएका छन् । यसैगरी एमालेबाट मेयरका लागि पोखराका पूर्व मेयर कृष्ण थापा प्रबल दावेदारका रुपमा देखिएका छन् । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष मानवहादुर जिसी र युवा संघका अध्यक्ष राजिव पहारी पनि मेयरका आकांक्षी हुन् । कृष्ण थापा ०५४ मा पनि पोखराको मेयर जितेका व्यक्ति हुन् । उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए ।

त्यस्तै अर्का दाबेदार मानवहादुर जिसी एमालेका दाबेदार हुन् । उनी लेखनाथ नगरपालिका महानगरमा गाभिएपछि महानगरको मेयरका दाबेदार बनेका छन् । नी पनि गत संविधान निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए । एमालेबाट मेयरका अर्का दावेदार राजिव पहारी युवा संघका अध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति हुन् । पोखराको मेयरमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका पूर्व डीन डा.भरत पहारीको पनि नाम चर्चामा आएको छ । यता, माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु चार जना देखिएका छन् । पोखरा नगर विकासका समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, क्रिकेट एशोसियसनका पूर्व अध्यक्ष दीपक कोइराला, तमु मुक्ति मोर्चाका अध्यक्ष बखान सिंह गुरुङ र पार्टीका पोलिटब्यूरो सदस्य झलकपाणि तिवारी मुख्य दाबेदारका रुपमा देखिएका छन् । पोखरा महानगरपालिकामा राप्रपा र संघीय समाजवादी फोरमको पनि अस्थित्व छ । तर, ती पार्टीबाट मेयरका आकांक्षीहरु सार्वजनिक भइसकेका छैनन् । राप्रपाका नेता सूर्यबहादुर केसी पार्टी छाडेर बसेका छन् । राप्रपा बाट अरु आकांक्षीहरु देखिइसकेका छैनन् । यस्तै नयाँशक्ति पार्टी लगायतको पनि भूमिका कमजोर देखिएकाले मेयरमा उम्मेदवारी दिने अवस्था देखिंदैन । पोखरा नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएको लेखनाथ नगरपालिकामा एमालेले जितेको थियो । थपिएका गाविसहरुमध्ये धेरैजसो एमालेको पकड क्षेत्र मानिएका गाउँ हुन् । पोखरा महानगरपालिकामा कास्कीका चारवटै क्षेत्रका ८० प्रतिशत भूभाग समेटिएको छ । चार क्षेत्रमध्ये ०७० को चुनावमा २ सीट कांग्रेस र २ एमालेले जितेका थिए । त्यसअघि ०६४ मा तीनवटा क्षेत्र माओवादीले जित्दा एउटा क्षेत्र एमालेका रविन्द्र अधिकारीले जितेका थिए । पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।




Post a Comment

 
Top