0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व संचारमन्त्री डा. मीनेन्द्र रिजालले नेकपा एमालेको दंभ र मधेश केन्द्रित दलहरुको हठका कारण संविधान कार्यान्वयन र निर्वाचनमा जटिलता देखिएको बताएका छन् । नेपाल महिला संघ कास्की क्षेत्र नं. २ ले पोखरामा आयोजना गरेको स्थानीय निर्वाचनमा महिलाको भूमिका विषयक भेलालाई संवोधन गर्दै उनले एमाले र मधेश केन्द्रित दलले आफ्नो अडानलाई लचिलो बनाउन तथा देश र जनताको बारेमा गम्भीर बन्न आग्रह गरे ।  कार्यक्रममा बोल्ने महिलाहरुले महिलाहरुलाई कमजोर नसोच्न र स्थानीय निकायको प्रमुख पदमा समेत आफूहरुले अवसर पाउनुपर्ने कुरामा जोड दिएपछि नेता रिजालले महिलाहरुले आफू उम्मेदवार बन्ने कुरालाई मात्र नहेरी सबै तहमा महिलाको उम्मेदवारी मिलाउने तर्फ ध्यान पु¥याउन आग्रह गरे ।  संविधानमा लेखिएअनुसारको उम्मेदवार महिला खोज्न समेत समस्या हुने अवस्थामा आरक्षणको कुरा छाडेर महत्वाकांक्षा धेरै नदेखाउन उनले सुझाव दिए ।  कास्कीका महिला नेतृहरुलाई लक्षित गर्दै नेता रिजालले भने–‘आरक्षणको ठाउँमा तलमाथि नपरोस्, तपाइँहरुले आप्mनो उम्मेदवारीको कुरामात्रै गरेर भएन, तल्लो तहसम्म महिला सिटमा उपयुक्त उम्मेद्वार खोज्न गम्भीरता देखाउनुस् ।’

२०४६ पछिको पहिलो संसदीय चुनावमा प्रत्येक पार्टीले ५ प्रतिशत महिला उम्मेदवार बनाएपनि ३ प्रतिशत मात्र विजयी बनेको र दोस्रो संसदमा पनि त्यहि अवस्था कायम रहेको भन्दै नेता रिजालले तेस्रो संसदमा भने ५ प्रतिशत महिला उम्मेदवार दलहरुले बनाएकोमा संसदमा भने ६ प्रतिशत विजयी भएको स्पष्ट पारे । उनले भने–‘त्यसपछिको अन्तरिम संविधानले ३३ प्रतिशत र नयाँ संविधानले ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चितता गरेको छ । त्यसैले महिलाहरुले गम्भीर भएर आफ्नो आरक्षणको व्यवस्थाको पूर्ण उपयोग गर्न आवश्यक छ । नेपाल महिला संघ कास्की क्षेत्र नं. २ की सभापति लक्ष्मी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता शोभियत बहादुर अधिकारी, सांसदद्वय शारदा पौडेल र वृन्दा राना, कास्की कांग्रेसका उपसभापति हरि आचार्य, महिला संघ कास्कीकी अध्यक्ष कोपिला रानाभाट, नेपाली कांग्रेस कास्की क्षेत्र नं. ४ का सभापति पोषनाथ शर्मा, पोखरा नगर समितिका सभापति बजिरमान श्रेष्ठ, महिला संघ क्षेत्र नं. ३ की सभापति शारदा गिरी, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, कांग्रेस पोखरा–९ की सभापति उमा ठकुरी, तीर्थ कुमारी गुरुङ, निर्मला भण्डारी र रामकुमारी पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पोखरास्थित विभिन्न क्याम्पसमा नेविसंघको तर्फबाट विजयी विद्यार्थी र नेपाल पत्रकार महासंघ कास्कीको निर्वाचनमा विजयी प्रजातन्त्रवादी पत्रकारहरुलाई सम्मान गरिएको थियो ।




Post a Comment

 
Top