0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री बनेपछि उनी दुईचोटि भारत गइसकेका छन् । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो । यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन जानुभन्दा अगाडि नै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा चलेको थियो । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन । गोवामा भएको भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए । केपी ओली नेतृत्वको सरकारको ठाउँमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि प्रतिपक्षी दलका नेताहरुले वर्तमान सरकारलाई भारतपरस्त भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको हो । यसैबीच प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मिति टुंगो लागेकै दिन सोमबार गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका छन् । मंगलबारदेखि दिल्लीमा सुरु हुने आतंकवाद प्रतिवाद सम्बन्धी बैठकमा सहभागी हुन त्यसतर्फ लागेका गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री निधिले आतंकवाद नियन्त्रण सम्बन्धी बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय तय भइसकेको गृह स्रोतले जनाएको छ । त्यसैगरी मन्त्री निधिले भारतीय समकक्षी राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, बिजेपी नेता अमित शाहका साथै भारतीय कांग्रेसका सोनिया गान्धी र राहुल गान्धीसँग भेट गर्ने समय तालिका तय भइसकेको छ । राष्ट्रपति प्रणव मुखर्जीसँगको भेट भने निश्चित भइनसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले बताए । पछिल्लो समयमा नेपालको राजनीतिक अवस्थाबारे भारतले स्पष्ट प्रतिक्रिया दिएको छैन । विशेष गरी स्थानीय तहको चुनाव गर्ने सरकारको घोषणालाई भारतले खुलेर स्वागत गरेको छैन । मधेसको समस्या समाधान नगरी चुनाव सफल नहुने भारतीय पक्षको अनौपचारिक प्रतिक्रिया आउने गरेको छ ।  त्यसैगरी पछिल्लो साता कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाले नेपाल भारतबीच तनाव उत्पन्न भएको छ । र, नेपालमा भारतविरोधी भावना बढेको छ । यस्तो बेलामा नेपालका गृहमन्त्री निधिले भारतीय नेताहरुसँग गर्न लागेको भेटलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ ।




Post a Comment

 
Top