0
गोल्डेन न्यूज संवाददाता
राप्रपा र फोरम लोकतान्त्रिक लाई समेत सरकारमा सहभागी गराउने तयारी भएपनि तत्काल ती दलहरुले सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गरेका छन् । थापादुई साना दलबाट दुई मन्त्री थप गरी बिहिबार मन्त्रिपरिषद् बिस्तार गरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ । प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन्। सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । सिंह कालीकोटका समानुपातिक तर्फका सांसद हुन् भने खड्का पनि कास्कीका हुन् । उनी पनि समानुपातिक तर्फबाटै सांसद बनेका हुन् । प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्ण बहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए । दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए । त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका थिए । तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्रीले आफु प्रधानमन्त्री भएको झण्डै ६ महिनामा पाचौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
 
संविधान संशोधन प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षबीच अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेको चर्चा राजनीतिक बृतमा चलेको छ । श्रोतका अनुसार राप्रपा र लोकतान्त्रिक फोरम सरकारमा जान चाहे पनि रोजेको मन्त्रालय नपाउदा रोकिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए । तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टी्भित्रका नेताहरूले अप्ठ्यारो पारेका पारेको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र गच्छदारलाई उपप्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन तयार थिए । यसो गर्दा प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा थापा र गच्छदार पर्ने भन्दै कांग्रेसले नमानेको स्रोतको भनाई छ । अहिले प्रधानमन्त्री प्रचण्डपछिको बरियतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् ।
यसैबीच सिंहदरबारमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री सिंहले यसअघि आफूले तयार पारेको खानेपानी सरसफाइसम्बन्धी कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता जनाए । ‘सुक्खाग्रस्त २० जिल्लालाई लक्षित गरेर यसअघि मैले खास कार्यक्रम तर्जुमा गरेको थिएँ, ती कार्यक्रमलाई पूरा गर्नेछु, उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची छिटो ल्याउन लाग्नेछु’– पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । मन्त्री सिंहको दल समाजवादी जनता पार्टीलाई वार्षिक आयव्यय नबुझाएको भन्दै निर्वाचन आयोगले गत वर्ष खारेज गरेको थियो । यसका विरुद्ध उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला भएको छैन । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीले दल खारेज भएको नेता मन्त्री बन्नुभयो भन्ने प्रश्नमा उनले नेपालको संविधान २०७२ मा आयोगले दल खारेज गर्न पाउने व्यवस्था नभएको दाबी गरे । दोस्रोपटक मन्त्री भएर आएका सिंहलाई मन्त्रालयका निमित्त सचिव इन्जिनियर रामचन्द्र देवकोटा लगायत कर्मचारीले स्वागत गरेका थिए । नेकपा ९एमाले का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमा गत साउनसम्म उनी सोही मन्त्रालयमा मन्त्री थिए । सहरी विकास मन्त्रालयबाट खानेपानी र सरसफाइसम्बन्धी महाशाखा झिकेर २०७२ असोजमा मन्त्रालय गठन गरिएको थियो । यसैगरी नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पनि बिहीबार नै पदबहाली गरे । मन्त्री खड्काले पदबहालीका क्रममा सञ्चार कर्मीसँग कुराकानी गर्दै जनताको जीवनस्तर उकास्ने आफ्नो मन्त्रीकालको पहिलो प्राथमिकता रहेको बताए । उनले भने–‘राजनीतिक दल खोल्दा राज्य सत्तामा पुगेर नेपाल राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यअनुसार सत्ता साधन भएकाले साधनको प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन चाहन्छु ।’ मन्त्री खड्काले भने–‘राम्रो कामको सुरुआत मैले गर्न सकेँ र पछिल्लो मन्त्रीले यसलाई निरन्तरता पायो भने गन्तव्यमा पुग्न सकिन्छ जति समय मैले पाउँछु राज्य र जनताको हितका लागि गर्नेछु ।’ उनले लोकतन्त्रमा बढी दल हुनु स्वभाविक भएको भन्दै एक दल भएका व्यक्तिले मन्त्री पाउनु स्वभाविक प्रक्रिया भएको बताए । उनले संविधान निर्माणमा साना दलको ठूलो योगदान रहेको उल्लेख गरे ।




Post a Comment

 
Top