0
पोखरामा फागुन दोश्रो साता जंगल फेस्टिभल हुने भएको छ । फागुन १२ देखि २१ गतेसम्म तेस्रो सँस्करणको जंगल फेस्टिभल संचालन गर्ने तयारी गरिएको आयोजक परिचय नेपालले जानकारी दिएको हो । प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सव अन्य महोत्सव भन्दा हुने पृथक शैलीको रहेको छ । जंगलको बीचमा आयोजना हुने फेस्टिबल अघिल्ला दुई संस्करणभन्दा यो पटकको फेस्टिभल अझै बढि परिस्कृत रुपमा हुने आयोजकले दाबी गरेको छ । ‘अघिल्ला दुई सँस्करणलाई दर्शकले निकै रुचाएको हामीले पाएका छौँ’, परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘यो पटक हामी अझै बढि अनुभवि छौँ । र, यो पटकको जंगल फेस्टिभललाई दर्शकले अझै उत्कृष्ट मान्ने हाम्रो विश्वास छ ।’ फरक शैलीको यो फेस्टिभल दर्शकका लागि पनि निकै रमाइलो लागेको हामीले पाएका छौँ ।‘जंगल थिम’ दिएर जंगलभित्रै गरिने यो फेस्टिभलमा बालबालिका देखि वृद्धवृद्धासम्मको आकर्षण रहेको आयोजकले बताएको छ । जंगलमै गरिने यो फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने आयोजकको विश्वास छ । यो फेस्टिभललाई थप रोचक बनाउन ‘नेपाल टुरिज्म बोर्ड’ समेत लागिपरेको छ । फेस्टिभलको प्रबद्र्धक रहने ‘नेपाल टुरिज्म बोर्ड’ले आफ्नो नयाँ कार्यक्रम ‘घुमफिर वर्ष’लाई समेत यो इभेन्टमार्फत प्रमोशन गर्नेछ । ‘यो पोखराको एउटा सिग्नेचर इभेन्ट हो । र, यो इभेन्टलाई आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत उत्तिकै चासो दिएको हामीले पाएका छौँ ।’ नेपाल टुरिज्म बोर्डका सूर्य थपलियाले भने–‘त्यसैले हामी यो इभेन्टसँग एसोसियट भएका हौँ ।’आयोजक परिचय नेपालले फागुन १२ देखि हुने ‘जंगल फेस्टिभल’को प्रचार–प्रसारलाई यतिबेला तीब्र पारेको छ । अघिल्ला सँस्करणभन्दा पृथक हुने दाबी गरिएको ‘जंगल फेस्टिभल’मा यो पटक दर्शक पनि अझै बढ्ने आयोजकको अपेक्षा छ । ‘ब्याक टु नेचर’ नारा दिएर आयोजना हुन लागेको ‘जंगल फेस्टिभल’को आकर्षणहरुमा जंगली जनावर, जंगलममै लाईभ कन्सर्ट लगायतका कार्यक्रम हुने छन् । फेस्टिभल पोखराको पृथ्वीचोक नजिकै रहेको शान्तिवनमा आयोजना गरिने छ ।

Post a Comment

 
Top