0
गोल्डेन न्यूज संवाददाता
नेपाल शैक्षिक परामर्श संघ
(इक्यान) कास्कीद्वारा आयोजित चौथोे ‘इक्यान शैक्षिक मेला–२०७३’ बुधबार सुरु भएको छ । पोखरा सभागृहमा सञ्चालित मेलाको क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अधिकारीले पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको बताए । ‘सकेसम्म आफ्नै देशमा अध्ययन गर्नुपर्छ,’ उनले भने,–‘विदेशमा गएर अध्ययन गरेपनि पछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्छ ।’
इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले राज्यको नीति नियम भित्र रहेर इक्यान सदस्यहरुले परामर्श प्रदान गरिरहेको बताए । ‘विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी इक्यानले मेला आयोजना गरिरहेको छ,’ उनले भने, ‘राजधानी बाहिर पोखरामा आयोजित इक्यान मेला विद्यार्थी र अभिभावकबीच लोकप्रिय बनेको छ ।’  इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मेलाका संयोजक रमेश थापा र सचिव भुवन क्षेत्री लगायतले बोलेका थिए । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलामा पहिलो दिनमा नै उत्साहजक सहभागिता रहेको अध्यक्ष तिवारीले जानकारी दिए । ‘विद्यार्थी र अभिभावकको उपस्थितिबाट हामी उत्साही भएका छौं,’ उनले भने,–‘बिहीबार र शुक्रबार पनि उल्लेख्य मात्रामा अवलोकनकर्ताको भिड लाग्ने विश्वास लिएका छौं।’ नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी रहेको इक्यान कास्कीका अध्यक्ष तिवारीले बताए । उनले भने–‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्रभावकारी बनेको छ।’
मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने क्रम सुरु भएको इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले जानकारी दिए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए । सरकारबाट स्वीकृति प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिमप्राप्त परामर्श दाताहरुका ४५ वटा स्टल मेलामा राखिएको प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।  उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने भएकाले इक्यानले सहभागी हुन आग्रह गरेको छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ ।



Post a Comment

 
Top