0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउन पार्टी सभापति शेरबहादुर देउवा लगायत सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल महिला संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा पोखरामा शुरु भएको निर्वाचन तथा महिला अधिकार सम्बन्धी तीन दिने नेतृत्व विकास तालिमको उद्घाटन गर्दै नेता पौडेलले भने–‘कांग्रेसको सिद्धान्तको विजय भएपनि निर्वाचनमा कांग्रेस हार्नुपरेको छ । त्यसैले कांग्रेसको पराजय हुन नदिन कांग्रेसको मूल्य मान्यता र आचरण तथा संस्कृतिलाई ख्याल गरि जनताको प्रिय पार्टी बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।’
नेता पौडेलले जनताको प्रिय पार्टी बनाउन पार्टी भित्रको गुटवन्दी अन्त्य गर्नुपर्ने र बाहिर रहेका शक्तिसंग प्रतिस्पर्धा गर्न पार्टी नेताहरुले त्याग गर्नुपर्नेमा जोड दिए । यसै सन्दर्भमा उनले भने–‘मैले पार्टी सभापति शेरबहादुर देउवालाई तपाइँ हिजो आधा कांग्रेसको नेता हुनुहुन्थ्यो अब सबै कांग्रेसको नेता बन्नुस् भनेको छु । तीन पटकसम्म प्रधानमन्त्री भइसकेको र पार्टीको समेत सभापति रहेकाले अब देउवाले कांग्रेसलाई सुदृढ पार्न भूमिका खेल्नुपर्छ ।’ पार्टी, प्रजातन्त्र र राष्ट्रलाई जोखिममा पारेर कुनै निर्णय नलिन सभापति देउवालाई आग्रह गर्दैै उनले जनआन्दोलनको बलबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न र उपयोग गर्न सबै शक्ति एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
 
२००७ सालमा प्रजातन्त्र आएपनि दरवारिया शक्ति र वामपंथी शक्तिले अस्वीकार गर्दा नेपालको विकास अवरुद्ध बनेको भन्दै नेता पौडेलले संसदीय व्यवस्थाको विरोध गर्ने वामपंथी र दरवारीया शक्ति दुवैले अहिले भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेको भन्दै खुशी प्रकट गरे । उनले भने–‘यी दुवै शक्तिले २००७ सालमा नै लोकतन्त्र र कांग्रेसको सिद्धान्तलाई स्वीकार गरेको नेपालको विकास र संवृद्धि धेरै अघि बढिसक्थ्यो ।’ कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रक्रियालाई टुङ्गोमा पु¥याउन र निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । उनले कांग्रेस, माओवादी, एमाले र मधेशवादी शक्तिबीचको एकतामा समेत जोड दिए । महिला नेतृहरु राष्ट्रको नेता हुने हो भने महिलाको मात्र एजेण्डा नउठाइ राष्ट्रका सबै सवालमा गम्भीरताका साथ बहस गर्न नेता पौडेलले आग्रह गरे ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले विगतका अनुभवले पार्टीलाई चुनावमा जिताउन महिलाको भूमिका महत्वपूर्ण रहेकोे भन्दै समन्वय र व्यवस्थापन गर्न सक्ने महिलाले नेतृत्व लिएर क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।  कांग्रेस केन्द्रीय सदस्य एवं महिला नेतृ अम्विका बस्नेताले मुलुकको सबैखाले परिवर्तनमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको भन्दै आशन्न निर्वाचनमा ४० प्रतिशत महिलालाई उम्मेद्वार बनाउने मात्र नभइ निर्वाचनमा विजयी गराउनुपर्ने खाँचो औंल्याइन ।  नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं कांग्रेस सचेतक ईश्वरी न्यौपानेले महिलाहरुले घर परिवार व्यवस्थापन गरिदिंदा पुरुषहरुले नेता बन्ने अवसर पाएको भन्दै राणाकालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा धेरै नेपाली महिलाले कांग्रेस, लोकतन्त्र र प्रजातन्त्रका लागि बलिदान दिएको स्मरण गर्दै महिला संघको स्थापना यसकै लागि भएको स्पष्ट पारिन् ।
नेपाल महिला संघका सभापति उमा रेग्मीले संसदमा कांगे्रसलाई ठूलो पार्टी भन्दा बहुमतको पार्टी बनाउन महिलाको सक्रियता आवश्यक रहेको र पार्टीका नेताहरुले गुटवन्दी त्यागेर एकता कायम गर्न आग्रह गरिन् । उनले महिला संघले प्रत्येक प्रदेशमा महिलाहरुलाई जागरुक गर्न यस किसिमको तालिमको आयोजना गरिएको भन्दै अब हुने निर्वाचनमा उम्मेदवार बन्ने र विजय प्राप्त गर्ने रणनीति तयार गर्न तालिम उपयोगी हुने बताइन । कांग्रेस सदस्य एवं सांसद सीता गुरुङले महिलाका एजेण्डालाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा जोड दिइन । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति, सभामुख र प्रधानन्यायधीशमा महिला पुगिसकेको भएपनि कांग्रेसले महत्वपूर्ण पदमा महिला पु¥याउन नसकेको भन्दै दुःख व्यक्त गरे । उनले महिलाहरु महत्वपूर्ण पदमा पुग्दैमा महिला अधिकार र मुक्ति सम्भव नभएको बताए ।  अर्का केन्द्रीय सदस्य एवं सांसद जीवन परियारले कांग्रेसले महिला र दलितको क्षेत्रमा आफ्नो स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको र आगामी दिनमा पनि महिलाको समस्या र पीडामा कांग्रेस र महिला संघ अग्रसर हुनुपर्नेमा जोड दिए ।  सांसद एवं महिला सांसद समन्वय समितिका अध्यक्ष डा. आरजू राणा देउवाले चुनावमा एक व्यक्तिको एक भोट हुने भएकाले महिलाहरुलाई कमजोर नठान्न आग्रह गर्दै नेपाली महिलाहरुलाई राजनीतिमा आउनु चुनौतीपूर्ण रहेको बताइन । अब महिलाहरुले कसरी निर्वाचनमा भाग लिने र विजयी हुने भन्ने विषयमा सोच्न आग्रह गर्दै उनले युवा र तरुणलाई कांग्रेसको पक्षमा गोलवन्द गराउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारिन् ।  सांसद एवं कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले स्थानीय तहमा कांग्रेसले जितेन भने प्रदेश र राष्ट्रिय सभामा समेत धक्का पुग्ने भन्दै महिला सशक्तिकरणको अभियान गाउँ–गाउँमा पु¥याएर कांग्रेसको पक्षमा जनमत सृर्जना गर्नुपर्नेमा जोड दिए ।  कास्की कांग्रेसका सभापति कृष्ण केसीले आशन्न निर्वाचनमा महिलाको सहभागिता र सक्रियता आवश्यक रहेको बताए । सांसद शारदा पौडेल र वृन्दा रानाले कांग्रेसले महासमितिको बैठक बोलाएर महिलाहरुका लागि अतिरिक्त व्यवस्था गर्नुपर्ने खाँचो औंल्याए । कास्की कांग्रेसका पूर्व सभापति शोभियतबहादुर अधिकारीले पुरुषको तुलनामा महिला इमान्दार हुने भएकाले महिलालाई अवसर दिनुपर्ने बताए ।  नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले कांग्रेसले महिला अधिकार र समावेशिताको बारेमा धेरै कुरा गरेपनि अहिले प्रतिपक्षहरुले कांग्रेसका एजेण्डा समातेको भन्दै आशन्न स्ववियू चुनावमा नेविसंघलाई विजयी गराउन महिलाहरुले समेत पहल गर्नुपर्नेमा जोड दिए ।  महिला संघका केन्द्रीय सदस्य सरस्वती तिवारीले जनताको तहमा काम गर्न सक्नेलाई पार्टीले अवसर दिनुपर्ने भन्दै माथिल्लो तहबाट गुटवन्दी नगर्न आग्रह गरिन् ।  कार्यक्रममा संघका केन्द्रीय सदस्य तारा अधिकारी र चिनु पोखरेलले पनि बोलेका थिए ।




Post a Comment

 
Top