0
गोल्डेन न्यूज संवाददाता
नेपाल शैक्षिक परामर्श संघ
(इक्यान) कास्कीको आयोजनमा पोखरामा हुने चौथो ‘ईक्यान शैक्षिक मेला–२०७३’ को तयारी पुरा भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा विदेशमा पढ्न जान चाहने विद्यार्थीले परामर्श लिने छन् । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले जानकारी दिए । ‘मेलाको सम्पुर्ण तयारी पुरा भएको छ,’ तिवारीले भने, ‘सबै स्टलहरु निर्माण भइसकेका छन्, परार्मश दिनका लागि आवश्यक सामग्री आइसकेका छन् ।’ उनले मेलाबाट आम्दानी भई बचत भएको रकम मध्ये केहि रकम सरकारी विद्यालयलाई सहयोग गर्ने बताए । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, लाइबेरी स्थापना, छात्रबृत्ति जुनमा उपयुक्त हुन्छ त्यसैमा सहयोग गर्ने बताए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए । ‘विद्यार्थीका लागि प्रभावकारी ढंगले परामर्श प्रदान गर्नेछौं,’ उनले भने, ‘एकै थलोबाट सबै प्रकारका विश्वविद्यालय र देशहरुको उच्च शिक्षाका बारेमा विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गरिनेछ ।’ सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुका ४५ वटा स्टल मेलामा राखिने प्रचार–प्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने आयोजकको दावी छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला अवलोकन गरि लक्की ड्रमा भाग लिने मध्येबाट प्रत्येक दिन एक जनालाई स्मार्टफोन प्रदान गर्ने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले जानकारी दिए। मेला अवधिभर परामर्शका लागि आएका विद्यार्थी र उनका अभिभावक लक्की ड्रमार्फत दैनिक एक जनालाई स्मार्टफोन दिने व्यवस्था गरेको उनको भनाई छ । मेलामा सहभागी हुनका लागि कुनै शुल्क लाग्ने छैन ।

Post a Comment

 
Top