0
गोल्डेन न्यूज संवाददाता
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले छोराछोरीको कमाईको केही अंशमा बाबुआमाको पनि हक स्थापित हुने गरी कानुन बनाउन लागेको बताएका छन् । पोखरा बृद्धाश्रमको नवनिर्मित सुविधाजनक आवास भवनको उद्घाटन गर्दै मन्त्री खड्काले जन्माउने, हुर्काउने, शिक्षा, दिक्षाको व्यवस्था गरी समाजमा योग्य नागरिक बनाउने अभिभावकप्रति छोराछोरीको पनि दायित्व हुनुपर्नेमा जोड दिए। उनले छोराछोरीको कमाईको १० प्रतिशत रकम बुबा आमाको जम्मान हुने व्यवस्था कानूनी रुपमा नै व्यवस्था गर्न लागिएको बताए । बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई नयाँ संविधान अनुसार ऐन नियम बनाउने प्रक्रियामा मन्त्रालय लागिरहेको उनले बताए । पोखरा बृद्धाश्रम ४ नम्बर प्रदेशकै नमुना आश्रमका रुपमा रहेको भन्दै वहाँले ज्येष्ठ नागरिकहरुका लागि थप सेवा सुविधा प्रदान गर्न सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा वृद्धाश्रम परिसरमा मन्दिर शिलान्यास गरिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णप्रसाद लम्सालले मन्दिरको शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव लम्सालले कसैले घोषणा गर्दैमा नमुना नभईने संस्थाका काम कार्वाही राम्रा भएकाले जगतले नै पोखरा बृद्धाश्रमलाई नमुना आश्रमको रुपमा स्वीकार गरेको धारणा व्यक्त गरे। संविधान बनेकाले ज्येष्ठ नागरिकहरुले अधिकारमुखी अवधारणा अनुसार कानुनी रुपमा नै ग्यारेन्टी गर्ने उनको भनाई थियो । कार्यक्रममा बृद्धाश्रमका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक टिकाबहादुर भण्डारी र निर्माण उपसमितिका सचिव श्यामसुन्दर पराजुलीले भवन निर्माणको लागत विवरण बारे जानकारी गराएका थिए । १ करोड २९ लाख ६२ हजाररुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आश्रमको नवनिर्मित भवनमा नेपाल सरकारको तर्फबाट विभिन्न आर्थिक वर्षमा प्राप्त भएको ३९ लाख खर्च भएको सो अवसरमा जानाकारी दिइएको थियो । त्यस्तै जिल्ला विकास समिति, कास्कीबाट १ लाख, सांसद चुडामणि जंगलीको संसद विकास कोषबाट १ लाख ५० हजार, सांसद बृन्दा रानामगरले ५० हजार १ सय ५५ रुपैयाँ तथा विभिन्न ३ भन्दा बढी व्यक्ति तथा संस्थाले भवन निर्माणमा सहयोग प्रदान गरेको भवन निर्माण उपसमितिले जनाएको छ ।  त्यस्तै मन्दिर निर्माणका लागि करिव ८ लाख लगानी हुने र सो का लागि समेत दाताहरुबाट सहयोग प्राप्त हुने विश्वास सो अवसरमा व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले पोखरा बृद्धाश्रममा असहाय एवं बेवारिसे अवस्थाका ज्येष्ठ नागरिकहरुलाई आश्रय प्रदान गरिएको जानकारी दिए। उनले सरकारका तर्फबाट अनुदान सहयोग गर्दा संस्थाले गरिरहेको कामको स्थलगत अनुगमन र मुल्याङ्कनको आधारमा गर्न सुझाव दिए।  कार्यक्रमको सञ्चालन पोखरा बृद्धाश्रमका सहसचिव केशवराज लम्सालले गरेका थिए भने महिला बालकालिका कार्यालय कास्कीकी प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी, स्थानीय जानकी आधारभूत विद्यालयका प्र.अ. तथा बृद्धाश्रमका संस्थापका सदस्य रघुनाथ भण्डारी, वडा नागरिक मञ्च १७ का टोपराज ढुंगाना लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।


Post a Comment

 
Top