0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि तयार रहन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सि.सं. ११ सशस्त्र प्रहरी निरिक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई  सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि निकट भविष्यमा घोषणा हुने तीन वटै तहको निर्वाचनका लागि तयार हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका हुन् । सशस्त्र प्रहरी बलले विगत भन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन कायम राख्न सफल बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले संगठनलाई समयानुकुल स्रोत साधन सम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहने उनको विश्वास छ । स्थापनाकालदेखि नै व्यवसायिक कौषलता, आम जनताको सेवा सुरक्षाका साथै विपद् व्यवस्थापनमा पु¥याएको योगदानकै कारण सशस्त्र प्रहरी नेपाली जनमानसमा बस्न सफल बनेको उनले बताए । कार्यक्रममा उपप्रधान एवम् गृह मन्त्री विमलेन्द्र निधिले आन्तरिक सुरक्षाका साथै सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसायोग्य भएको बताए ।
 
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे । बढ्दो सुरक्षा चुनौतीको समानका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको उनको भनाई छ । सो अवसरमा तालिमको क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे । तालिममा सबैभन्दा पहिलो र शारीरिक सहिष्णुतामा प्रथम मौसम पोखरेल, कवाज प्रथम बुद्ध श्रेष्ठ तथा चादमारी प्रथम सुवास भट्टराईलाई पुरस्कृत गरिएको थियो । सशस्त्र प्रहरी बल महाविद्यालय लामापाटन पोखराका समादेशक बरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक कविन्द्रमान श्रेष्ठका अनुसार सि.सं.११ सशस्त्र प्रहरी निरिक्षक आधारभुत तालिममा एक महिला सहित २५ जनाले ५४ हप्ताको तालिम सम्पन्न गरी दिक्षित भएका छन् । कार्यक्रममा महिला तथा वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्का, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल, गृहसचिव, क्षेत्रीय प्रशासक, नेपाली सेनाका पश्चिम पृतनापति , प्रमुख जिल्ला अधिकारी लगायत पोखरा स्थित सबै सुरक्षा निकायका प्रमुख एबं विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो । यसैबीच पर्वत महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । उनले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताए । उनले भने–‘पहिले कानुन निर्माण गर्नुप¥यो, त्यसपछि निर्र्वाचनको मिति घोषणा हुन्छ ।’
 
.प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷ तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गरे । उनले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताए। आगामी २०७४ को माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जाँदा मधेसी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानुपर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताए । उनले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताए । प्रधानमन्त्री प्रचण्डले भने–‘जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’ मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई निर्वाचनमा लैजानुपर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको नाताले आफूले सबै पक्षलाई मिलाउन हरतरहले प्रयत्न गरेको बताए। मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यकातर्फ बाट कठोर कदम चाल्ने चेतावनी पनि दिए। केही व्यक्तिले भड्काउन खोज्दैमा नेपाली जनताको एकतामा बिखण्डन नआउने उनको तर्क रहेको थियो । अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको आर्थिक विकास गर्न लागिपरेको बताए । ‘जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक आर्थिकरुपमा सबल हुन सक्दैन’, उनले भने–‘आर्थिक समृद्धि नभएसम्म विश्वका अन्य मुलुकले नेपालको अस्तित्व स्वीकार नगर्ने भएकाले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्छ ।’
 
उनले दुई छिमेकी मुलुकसँग साझेदारी गर्ने विषयमा गम्भीर ढङ्गले कुरा भइरहेको भन्दै हवाई मार्ग, रेलमार्ग वा सडकमार्ग तीनवटै माध्यमवाट छिमेकीसँग नजिकिन पहल भइरहेको बताए । उनले अहिले सरकार ठूला जलाशय युक्त जलविद्यु्त आयोजनातर्फ केन्द्रित बनेको बताउँदै सबै सम्भावनायुक्त क्षेत्रको पहिचान गरी राज्यको लगानीलाई केन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै उनले नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने आँैल्याए ।





Post a Comment

 
Top