0
गोल्डेन न्यूज संवाददाता
लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखराले ठूलो परिमाणमा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका ९ शान्तिवनका ३५ बर्षीय दिल बहादुर गुरूङलाइ बिहीबार ६६६ थान लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । गुरूङले अवैध लागूऔषध नर्फिन, डाईजापाम र फेनारगन भारतबाट खरिद गरी ल्याई पोखराका विभिन्न स्थानहरुमा विक्रीवितरण गर्ने गरेको  सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण शाखा कार्यालयका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको टोलीले नर्फिन २ सय २२ थान, डाईजापाम २ सय २२ थान तथा फेनेरागन २ सय २२ थान गरी कुल ६६६ थान लागूऔषध सहित पोखरा–९, शान्तिवनबाट गुरुङलाइ प्रक्राउ गरेको हो । दिल बहादुर गुरुङले आफू पनि लागूऔषध सेवन गर्ने गरेको र सिधा भारतबाट खरिद गरि एकल डिलरको रुपमा लागूऔषध विक्री वितरण गर्नेगरेको तथ्य फेला परेको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले  बताए । विशेष सूचनाको आधारमा दिल बहादुरलाइ खोजी गर्ने क्रममा बिहीवार शान्तिवनवाटै प्रकाउ गरेको निरीक्षक गुरुङले जनाए । निरीक्षक गुरुङले भने–‘पछिल्लो डेढ बर्षमा यति ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ पर्ने व्यक्ति दिल बहादुरनै हुन्।’ निरीक्षक गुरुङका अनुसार यसअघि स–सानो परिमाणमा लागूऔषध सहित व्यक्तिहरु प्रक्राउ पर्ने गरेका थिए । लागूऔषध कारोबारी दिल बहादुरलाइ पक्राउ गरी म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको निरीक्षक गुरुङले बताए ।

Post a Comment

 
Top