0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा पोखरा बाटुलेचौर स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको छ । क्लबका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव सन्जयकुमार मल्लका छोरा संयम मल्लको १३औं जन्मदिनको अवसरमा मल्लले १३ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा स्टेशनरी वितरण गरेको हो । छोरालाई समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी महसूस गराउन जन्मदिन मनाउने खर्च बालआश्रमलाई सहयोग गरेको मल्लले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ जोन ३३ का जोन चियरपर्सन मिलन थापाले अभिभावकले आफ्ना बच्चाहरुको जन्मदिनलाई सृजनात्मक बनाउन सिकाउनु पर्नेमा जोड दिंदै सन्तानलाई राम्रो शिक्षामात्रै होइन असल संस्कार पनि सिकाउनु पर्ने बताए । बालआश्रमका अध्यक्ष शारदा बस्नेतले असल मनले दिएको सहयोग सानो र ठूलो नहुने भन्दै बाल–बच्चाहरुलाई सत्कार्यमा लाग्न सानैदेखि पे्ररित गर्नुपर्ने बताए । क्लबका अध्यक्ष सुदिप पौडेलले ठूलो मानिस जो पनि बन्न सक्छ तर असल नागरिक बनाउन आजै देखि बालबच्चालाई असल आचरण सिकाउन पर्ने भन्दै जन्मदिनमा गरिएको सहयोग उदाहरणीय भएको बताए ।  कार्यक्रममा क्लबका तृतीय उपाध्यक्ष बिनय थापाले स्वागत मन्तब्य राखेका थिए । कुमुदिनी होम्स कक्षा ६ मा अध्ययनरत संयम मल्लले जन्मदिनका अवसरमा बालगृहमै केक काटेर त्यहाँ आश्रित बालबालिकाहरु संग जन्मदिन मनाएका हुन् । बालगृहमा ३४ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको लालनपालन तथा शिक्षादीक्षाको ब्यवस्था बालगृहले गर्दै आएको छ । बालआश्रम ३० प्रतिशत आत्मनिर्भर रहेको तथा आश्रमलाई आवश्यक तरकारी उत्पादन तथा दूधका लागि १५ वटा गाईभैंसी पालिएको अध्यक्ष शारदा बस्नेतले जानकारी दिए ।

Post a Comment

 
Top