0
सोलारबाट चल्ने कार काठमाडौंमा सञ्चालन भएको क्यान इन्फोटेक मेलामा सबैको नजरमा परेको छ। सोलार र बिजुली दुबैबाट चल्ने भएकाले यसको नाम ‘सोलार हाइब्रिड’ कार राखिएको छ।  पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ८ जना विद्यार्थीहरुले प्रोजेक्ट वर्कका लागि तयार पारेको कार हो यो । सो क्याम्पसका विद्यार्थीहरु कृष्ण तिमिल्सिना, प्रयास रिमाल, सुमित ढकाल, दिपेश कार्की, खगेन्द्र कार्की, सौगात कोइराला, सागर अधिकारी र राजन खनालले संयुक्त रुपमा यो कार बनाएका हुन्। केही समय पहिले यो कार पोखरमा प्रदर्शन भएको थियो । करिव ४÷५ घण्टामा यो कारलाई बिजुलीबाट फुल चार्ज गर्न सकिन्छ। फुल चार्ज भइसकेपछि करिब १८० किलोमिटर गुड्ने कार बनाउनेमध्येका एक कृष्ण तिमिल्सिनाले जानकारी दिए। ‘यो कार चलाउँदै गर्दा र पार्किङमा राख्दा पनि सोलार प्यानलबाट आफै चार्ज हुने भएकाले बिजुलीको मात्र भर पर्नु पनि पर्दैन’ तिमिल्सिनाले बताए। यो बनाउन ति विद्यार्थीलाई करिब १ वर्ष समय लाग्यो। त्यस्तै करिब ३ लाख खर्च लागेको विद्यार्थीहरुले जानकारी दिए। कार बनाउँदा लागेको सम्पूर्ण खर्च विद्यार्थी आफैले व्यहोरेका हुन्। कार ३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने तिमिल्सिनाले बताए। यसलाई काठमाडौं, पोखरा, चितवन लगायत तराइको सबै ठाउँमा चलाउन सकिने विद्यार्थीको भनाई छ। क्यान इन्फोटको प्रर्दशनीमा कार राख्दा कलाकारहरु पनि आएर प्रोत्साहन गरे।  सौगात मल्ल, दयाह्याङ राइ, दिपकराज गिरी, दिपाश्री निरौला फुटबलर रबिन श्रेष्ठ लगायतले निकै चाख देखाएर अवलोकन तथा सवार गरेको विद्यार्थीले बताए। वातावरण प्रदुर्षण कम गर्ने, पेट्रोलियम पदार्थ नचाहिने यो कार नेपालको लागि निकै उपयुक्त भए पनि यसको विकासको लागि कुनै निकायले सहयोग नगरेको विद्यार्थीको गुनासो छ।

Post a Comment

 
Top