0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्राकृतिक श्रोत साधनको व्यवस्थित उपयोगलाई जोड दिएका छन् ।
अनियन्त्रित रुपमा भैरहेको प्राकृतिक श्रोत साधानको दोहन कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै मन्त्री भण्डारीले आमसमुदायको चासो अभिवृद्धि हुनुपर्ने समेत बताए । नेपाललाई आगामी पाँच वर्ष भित्रमा काठमा आत्मनिर्भर बनाउने उनले दावी गरे ।  नेपाली कांग्रेस कास्कीद्वारा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उद्देश्य अनुकुल काम नगर्ने एक्यापको नेतृत्व एक सातामा परिवर्तन गर्ने स्पष्ट पारे । उनले पोखराको बजार क्षेत्रसंग जोडिएको शान्तिवनको व्यवस्थापन र सार्दिखोला नजिकै रहेको वन क्षेत्रलाई सिकार आरक्ष बनाउनका लागि उपयुक्त योजना पेश गरिए आवश्यक प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमा बन्ने विश्वास व्यक्त गर्दै उनले चिडियाखाना निर्माणका लागि पनि सरकार सकारात्मक रहेको बताए । राजनीतिकरुपमा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै गर्दै मन्त्री भण्डारीले सरकार शीघ्र चुनावको मिति घोषणा गरि संविधान कार्यान्वयनको पक्षमा दृढ रहेको जानकारी दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री भण्डारीले सरकार चुनावको गृहकार्यमा लागेकाले तयार रहन कार्यकर्तालाई निर्देशन दिए । देश राजनीतिक संकटमा रहेको भन्दै मन्त्री भण्डारीले देशको राजनीतिक निकास र संविधानको कार्यान्वयनका लागि निर्वाचनमा जानुको बिकल्प नभएको बताए ।  नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले देशलाई राजनीतिक निकास दिने दायित्व काँग्रेसको काँधमा रहेको बताए। कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पार्टीका नेता खेमराज पौडेल, सांसद शारदा पौडेल लगायतले पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले जनमुखी कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।





Post a Comment

 
Top