0
गोल्डेन न्यूज संवाददाता
एमाले वरिष्ठ नेता माधव नेपाल र अर्का वरिष्ठ नेता झनाथ खनालले सोमबार छुट्टा–छुट्टै पत्रकार सम्मेलनको आयोजना गरि मुलुकको समसामयिक विषय र पार्टीको बारेमा आ–आफ्ना धारणा राखे ।  नेपाल र खनाल दुवै पूर्व प्रधानमन्त्री तथा पार्टीको नेतृत्व गरिसकेका नेता हुन् । नेता नेपालको पत्रकार सम्मेलन सोमबार विहान सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा भएको थियो भने खनालको जिरो किमिस्थित न्यू एरा रेष्टुरेन्टमा भएको थियो । दुवै पत्रकार सम्मेलनको आयोजना प्रेस चौतारी कास्कीले गरेको थियो ।  नेता नेपाल र खनाल पार्टीका विभिन्न भातृ संगठनको प्रशिक्षण कार्यक्रमका लागि पोखरा आएका हुन् । नेता नेपाल आइतबार र खनाल सोमबार पोखरा आएका थिए। दुवै नेता सोमबार नै काठमाडौं फर्किसकेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सत्तापक्षकै सांसद विपक्षमा रहेकाले संविधान संशोधन नहुने बताएका छन् । एकातिर एमालेसँग संशोधन हुन नदिनकालागि प्रयाप्त अर्थात् एकतिहाई मत रहेको र त्यहीमाथि दुई तिहाई छ भन्ने सत्ताधारीमा अनेकता रहेकाले संशोधन नहुने उनको भनाइ थियो । ‘सत्तासीन पार्टीका कतिपय सांसदहरुमा देशभक्तिको भावना छ । देशलाई माया गर्नुहुन्छ र ५ नम्बर प्रदेशका जनताप्रति बफादार पनि हुनुहुन्छ,’ नेता नेपालले भने–‘संशोधनको पक्षमा मत बढ्ने नभई विपक्षमा जाने अवस्था विद्यमान छ ।’ सरकारलाई समर्थन गरेकै पार्टीबाट मन्त्री थपिएको भन्दै उनले यो नौलो घटना नभएको बताए ।  संविधान संशोधनको विपक्षमा उभिएका सत्ताधारी दलका सांसदलाई देश जोगाउने काममा अन्तिमसम्म लागिरहन आग्रह गरे । कुनै कुराको लोभ, प्रलोभन, त्रास, आतंकबाट प्रभावित नभई राष्टिय हित, भौगोलिक अखण्डता र स्वभिमानको पक्षमा दरो गरी उभिने अडान लिनुपर्ने उनले बताए ।  अमेरिका जस्तो देशमा त देशभक्तिको भावना हुनुपर्छ र एक–अर्कामा खोज्नु पर्नेर्छ भन्ने कुरा आइरहेको भन्दै उनले नेपालजस्तो मुलुकमा झन् धेरै देशभक्तिको आवश्यकता रहेको बताए । पार्टीको नेता, कार्यकर्ता, जनता, कर्मचारी, अधिकारीलगायत सबै निकायका व्यक्तिमा देशभक्तिको खोजी गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
‘नेपाली देशभक्तिको रगत बगेको छ की छैन भनेर खोज्नु पर्ने बेला आएको छ,’ उनले भने, ‘देशको एकता, अखण्डताको निमित्त स्वतन्त्रता सार्वभौमसत्ताको लागि दरो गरी उभिने र त्यसमा गौरव बोध गर्ने भाव विद्यमान हुनु जरुरी छ ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कम्युनिष्ट पाटी भनिने माओवादी केन्द्र, कांगेस सभापति शेरबहादुर देउवा, कांग्रेस र मधेसवादी दलभित्र देशभक्तिको भावना खोजी गर्नुपर्ने बताए । कांग्रेसले राष्ट्रियताका कुरा गरे पनि देशभक्तिमा कमजोर हो की भन्ने जनमानसमा परेको भन्दै उनले कांग्रेस कस्तो पार्टी हो कुराले होइन कामका आधारमा मूल्यांकन गर्नुपर्ने बेला आएको बताए ।
संविधानले पर्याप्त अधिकार दिएको भन्दै उनले अब त्यसको उपभोग गर्ने वातावरण र कर्तव्यको पालना गर्ने नया परिवेश निमार्णको आवश्यकता रहेको औंल्याए । स्थानीय तहदेखि तीनै प्रकारको निर्वाचनलेमात्रै संविधानको कार्यान्वयन हुने उनले बताए । निर्वाचनलेमात्रै देशलाई अघि बढाएर लैजान सकिन्छ । सबै प्रकारका संवैधानिक संकटको समाधान र राजीनितिक शुन्यताबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘तोकिएको सीमाभित्रै निर्वाचन गर्नुपर्छ ।’ आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन सकेर नयाँ राजनीतिक संरचना क्रियाशील बनाउनु पर्नेमा समय बढाएर निर्वाचन पर धकेल्ने गलत नियतमा सरकार देखिएको उनले आरोप लगाए । निर्वाचन कानुन ल्याउन नसक्ने सरकार अयोग्य र नालायक रहेको उनको टिप्पणी थियो । अलोकप्रियता, घट्दो जनाधार, राजनीतिक भविष्य ओझेलमा पर्ने देखिएपछि सत्तासिन पार्टी जनतामा जान डराएको उनको भनाइ थियो । संविधान विरुद्धका कुनै पनि षडयन्त्र सफल नहुने दाबी गरे । दुईचार अपवाद बाहेक नेपाली सांसद पैसामा बिक्दैनन भन्दै उनले अहिले पनि पैसा बोकेर हिँडेको उनले दाबी गरे । यसैगरी पूर्व प्रधानमन्त्री तथा एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे। नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गरे। निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा गर्न आग्रह गर्दै उनले अर्को सालको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान कार्यान्वयन हुने बताए । उनले संविधान संशोधनको अहिले कुनै अर्थ छैन र संशोधनको प्रक्रियामा गए देश दुर्घटनामा पर्ने चेतावनीसमेत दिए। प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजीप्रसाद लम्साल र सह–सचिव मोतीसागर अधिकारीले बोलेका थिए ।  यसैबीच एमाले महासचिव ईश्वर पोखरेलको पत्रकार सम्मेलन मंगलबार बिहान पोखरामा आयोजना गरिएको बताइन्छ ।




Post a Comment

 
Top