0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आफ्ना शेयर सदस्य तथा सेवाग्राहीका लागि एएसबिए सेवा शुरु गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय पोखरा कास्कीबाट कमलादी काठमाडौंमा सर्नै लागेको अवसरमा यो सेवाको अनुमति प्राप्त भएको र छिट्टै सेवा सूचारु हुने बैंकले जनाएको छ ।  धितोपत्र बोर्डको स्वीकृति पछि बैंकले यो सेवा शुरु गर्न लागेको बैंैकका कार्यकारी प्रमुख भरतराज ढकालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरामै प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले माघ १ गतेदेखि नै यो सेवा सुरु गरिसकेको छ । विशेषगरि यो सेवा शेयरमा लगानी गर्नेहरुका लागि उपयुक्त हुन्छ ।
बैंकका कार्यकारी अधिकृत ढकालका अनुसार मुक्तिनाथका शेयर सदस्य तथा सेवाग्राहीले आफ्नो खातामा रकम जम्मा गरेर शेयरमा लागनी गर्न सक्नेछन्, नगद पैसा बोक्न जरुरी छैन । सार्वजनिक निष्काशन (आइपिओ)  तथा पुनः निष्काशन (एफपिओ) मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । सोही खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानी कर्ताहरुले सार्वजनिक निष्काशनमा लगानी गर्दा एएसबिएका लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्ने व्यवस्था गरेको छ । बैँकको हाल सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट यो सेवा प्रदान गरिने छ । बैँकको अधिकाँश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा वस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् । हाल सञ्चालनमा रहेका बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा शीघ्र प्रदान गरिने पहल भै रहको छ । मुक्तिनाथ विकास बैँकले हाल काठमाडौंको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुँगाको सिद्धिचरणबाट कारोबार शुरु गरी सकेको छ भने केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा केही दिन भित्रमा सञ्चालनमा ल्याईने बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए ।

Post a Comment

 
Top