0
गोल्डेन न्यूज संवाददाता
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन पारित हुने अवस्था आए संसद छाडेर सडकमा आन्दोलन गर्ने बताएका छन् । देश बनेको र बचेको भोटले होइन भन्दै उनले संशोधन पारित भए देशलाई नोक्सान हुने भएकाले भोटसोट छाडेर आन्दोलनमा जाने बताएका हुन् । ‘एमाले राष्ट्रियहितको पक्षमा उभिन दृढ संकल्पित छ,’ एमाले केन्द्रीय मोर्चा संगठन कमिटीको राष्ट्रिय भेला तथा प्रशिक्षणको आइतबार उद्घाटन गर्दै उनले भने, ‘सरकारको मनसाय र संशोधनको अन्तरबस्तु हेर्दा संविधान कुनै पनि हालतमा पास गर्नु हुँदैन । हुँदा पनि हुँदैन ।’ संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने माग उनले दोहो¥याए । भोट हालेर देश हिँडाएको देखेको भन्दै उनले संशोधन प्रस्ताव सच्चाउने, परिमार्जन गर्न पनि नपाइने जिकिर गरे । संविधान संशोधनका लागि सरकारले एउटा पार्टीको एउटा व्यक्ति र एउटा मन्त्रालय दिएर कमजोर त्यान्द्रा समातेको उनले बताए । संविधान कार्यान्वयनका क्रममा कुनै समस्या आएमा त्यसलाई समयक्रममा सच्चाउन सकिने उनले बताए । आधारभूत रुपमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, जनतलाई अधिकार र अवसर दिने सबालमा संविधानमा कुनै कमी नरहेको तर राज्य सञ्चालनलाई प्रभावकारी बनाउने सन्दर्भमा केही जटिलता रहेको उनको भनाइ थियो । संशोधन राष्ट्रिय एकतालाई मजबुत बनाएर देशलाई समृद्धि बनाउने भन्दा पनि भौगोलिक अखण्डतालाई कमजोर पार्ने र बिग्रह मच्चाएर नेपाललाई कमजोर पार्ने उद्देश्यले आएको उनले दाबी गरे । तराई र पहाड छुट्टाएर जनताको एकताको लागि भन्नु भ्रममात्रै रहेको भन्दै उनले जसरी पनि संशोधन गर्न खोज्दा अप्रिय घटना हुनसक्ने तर्फ सरकारले ख्याल राख्नु पर्ने बताए ।
ओलीले निर्वाचनको विकल्प नरहेको बताए । अहिले सरकार चुनाव सार्ने र गर्दै नगर्ने षड्यन्त्रमा समेत लागेको उनले बताए । एमालेको विगतको काम र बजेटका कारण देश एमालेमय हुने डरले चुनाव नगर्ने मनस्थितिमा सरकार पुगेको उनको भनाइ थियो । ‘चुनावका विषयमा कुनै सहमतिभन्दा पनि हाम्रो माग हो’ उनले भने, ‘सरकार चुनाव गर्छु त भन्छ तर पत्याइहाल्ने अवस्था छैन । नभए कानून, विधेयक ल्याएको खोइ त ।’ तर पनि चुनाव हुने भएकाले त्यहीअनुसार तयारीमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए । भाषा, नागरिकता, धर्म संस्कृतिका नाममा विविधतालाई दुरुपयोग गरी राष्ट्र सिध्याउने खेल भएको उनले बताए । एमालेलाई प्रमुखभन्दा पनि बहुमतको पार्टी बनाउनु पर्ने बेला आएको उनले बताए । पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले निर्वाचनमा होमिएर ठूलो पार्टी बनाउन कार्यकर्तासमक्ष अनुरोध गरे । अमेरिकी राष्ट्रपतिको निर्वाचनको जस्तो प्रचार एउटाको अर्कैले जितेजस्तो हुनसक्ने भन्दै उनले ढुक्क भएर बस्न नहुने बताए । एमाले ठूलो पार्टी भएमात्र देश बच्ने उनको भनाइ थियो । विदेशीसामु शिर ननिहुराइएको, विदेशी शक्तिको आड र रोहबरमा काम नगरिएको र सहारामा नउभिएको उनले बताए । जातीय, धार्मिक, भौगोलिक क्षेत्रलाई उचाल्ने कोसिस भइरहेको भन्दै उनले जन्मजातको जस्तो अधिकार अंगीकृत नागरिकले पाउन नहुनेमा जोड दिए । फौजी, सैन्य शक्ति, विज्ञान र प्रविधि, भुगोल, जनसंख्या, आर्थिक शक्तिले देश जोगाउन नसकिने भन्दै उनले देशभक्तिको शक्ति ठूलो रहेको बताए । ‘नेपाली जनताबीचको एकता र सद्भाव एउटा आधार हो’ उनले भने । कार्यक्रममा पार्टी सचिव योगेश भट्टराई, एमाले प्रदेश नंं ४ का संयोजक किरण गुरुङ, युवा संघ अध्यक्ष राजीव पहारी  लगायतले आगामी निवाचनमा ठूलो पार्टी बनाएर राष्ट्रियता एकता कायम गदै देशलाई आर्थिक समृद्धि तर्फ देशलाई बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संगठन प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा भएको थियो । मंगलबारसम्म संचालन हुने भेलामा २० मोर्चा संगठनका ४ सय जना सहभागी छन् । भेलामा युवा संघ, अनेरास्ववियू, किसान महासंघ, मुक्ति समाज, प्रेस चौतारी, जिफन्ट, बृद्धिजीवि, प्रगतिशिल कानून, खेलकुद महासंघ, उद्योग वाणिज्य महासंघ, मानव अधिकार एलाइन्स, पेशागत महासंघ, जन सांस्कृतिक महासंघ, लोकतान्त्रिक मधेशी, प्रवासी नेपाली संघ भारत, अखिल भरत नेपाली, आदिवासी जनजाती, भूमिहीन किसान, मुस्लिम इत्तेहाद, अपाङ्ग संगठन, भूतपूर्व प्रहरी र स्वतन्त्र विद्यार्थी युनियन लगायतका संगठनका इन्चार्ज, सह–इन्चार्जका साथै अध्यक्ष र केन्द्रीय पदाधिकारीहरु सहभागी छन् । भेलामा विश्व कम्युनिष्ट र अन्तर्राष्ट्रिय सम्वन्ध बारे माधव नेपाल, समाजवाद उन्मुख कार्यदिशा बारे उपाध्यक्ष बामदेव गौतम, राष्ट्रिय राजनीति बारे झलनाथ खनाल, संविधान कार्यान्वयन सुवास नेम्वाङ, संगठन संचालन पृथ्वीसुब्बा गुरुङ, गोर्कण विष्ट, प्रचार योगेश भट्टराई लगायतले प्रशिक्षण दिने बताइन्छ ।





Post a Comment

 
Top