0
श्रीकृष्ण सिग्देल
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन नभए संवैधानिक संकट देखापर्ने बताएका छन्। स्याङ्जाको वालिङस्थित नेपाल आदर्श क्याम्पस तथा माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन तथा २०औं बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले २०७४ माघ भित्र तीन ओटै तहको निर्वाचन अनिवार्य हुनुपर्ने अन्यथा देश अनिर्णयको बन्दी हुने बताए। संविधान कार्यान्वयनको अवस्थामा केही समस्या देखा परेपनि मुलुकको भविष्यका लागि सबै दलहरु एक ठाँउमा उभिनुपर्नेमा  सभापति देउवाको जोड थियो।   अब छिट्टै संविधानमा केही संशोधन हुने समेत उनले स्पष्ट पारे । मधेश तथा पहाडको बीचमा अनावश्यक विवाद नबढाई राष्ट्रलाई समावेशी बनाउने तर्फ सबै लाग्नु पर्नेमा देउवाको जोड थियो । मुलुकमा समस्याको स्थायी निकास खोजिनुपर्ने भन्दै सभापति देउवाले एमालेलाई समेत आफ्नो हठ त्याग्न आग्रह गरे । मुलुक सबैको हो उनले भने–‘संघीयतामा जाँदा सबैका अधिकार सुनिश्चित हुनुपर्छ ।’ सबै जातजातिको अधिकार संगै मधेशी जनताको चाहना पुरा भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने देउवाले बताए।   संविधान संशोधन प्रस्तावमा एमालेले गरेको असन्तुष्टिप्रति लक्षित गर्दै सभापति देउवाले भने, –‘संविधानमा सबैको अधिकारलाई समेट्न एमालेले पनि सहमति जनाउनु आवश्कता छ ।’ संविधान संशोधन लगायतका विद्यमान राजनीतिक सवालमा एमाले सगँ कुरा भइरहेकाले अव छिट्टै मुलुकको निकास निस्कने देउवाले दावी गरे ।  शनिबार कास्कीको सिक्लेस मेला उद्घाटन गरि आइतबार स्याङ्जा पुगेका देउवाले विद्यालयको भवन उदघाटन गर्दै संविधान कार्यान्वयन भएपछि देशको शिक्षा क्षेत्रले पनि मुहार फेर्ने स्पष्ट पारे । मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन संविधान कार्यान्वयनको खाँचो रहेको समेत देउवाले स्पष्ट पारे ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले छिट्टै निर्वाचन तालिका घोषणा हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे । ‘मुलुकको विकासका लागि निर्वाचन अनिवार्य छ’, नेता श्रेष्ठले भने–‘सरकारले छिट्टै निर्वाचन कार्यतालिका घोषणा गर्नुपर्छ ।’  कार्यक्रममा सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनिया, नेकपा एमालेका केन्द्रीय सदस्य पद्मा अर्याल, सांसदहरु मुक्ति पाठक, राजु थापा, टेकु नेपाली, स्याङ्जाका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्य, प्याव्सनका अध्यक्ष हर्कबहादुर कार्की, काँग्रेस नेतृ कल्पना तिवारी, माओवादी केन्द्रकी कल्पना अर्याल र अभिभावकबाट बालकृष्ण सुवेदी लगायतले मुलुकको शैक्षिक अवस्थालाई निजी क्षेत्रले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए।  निजी क्षेत्रलाई अंकुश लगाउने राज्यले सरकारी विद्यालयको समेत व्यवस्थापन गर्न नसकेको उनीहरुले आरोप लगाए ।  करिव १४ रोपनी जग्गामा निर्माण गरिएको निजी क्षेत्रको विद्यालयको भवन १३ करोड रुपैयाँमा निर्माण गरिएको विद्यालयका प्रिन्सिपल हुमकान्त गौतमले जानकारी दिए । विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक ध्रुवप्रसाद शर्मा र क्याम्पस प्रमुख दीपक लम्सालले पनि बोलेका थिए ।






Post a Comment

 
Top