0
हरि पन्त÷गोल्डेन न्यूज
सहारा क्लव पोखराद्वारा आयोजित १५औं आहारारा गोल्डकप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ । क्लवले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । यसवर्ष पनि प्रतियोगिताका विजेताले ५ लाख १ हजार १ रुपैयाँ नगद सहित उपाधि नगद, मेडल, प्राप्त गर्ने सहाराका अध्यक्ष वीरभद्र आर्चायले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेताले २ लाख ५१ हजार एक रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।  यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई समेत जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।  प्रतियोगितामा नेपालका ए डिभिजन क्लवहरु, आयोजक र तीन विदेशीसहित १२ टीम सहभागी हुने बताइन्छ । प्रतियोगितामा अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लब सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक सहारा, सुदूरपश्चिम–११, धरान फुटबल क्लब, सशस्त्र प्रहरीवल, झापा–११, सङ्कटा, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी सहभागी हुँदैछन् । विविध कारण देखाउँदै तीन पटकको उपाधि विजेता थ्रीस्टार क्लव भने यसपटक सहभागी नहुने बताइन्छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र सुदूरपश्चिम–११ बीच हुनेछ । प्रतियोगिताका लागि अमेरिकाको अना युएसए फुटबल टोली पोखरा आइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैयाँ खर्च लाग्ने र एक करोड ७ लाख ८२ हजार रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ । बार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताबाट बचत भएको रकमबाट क्लबले पोखरा –१७, दोबिल्लामा सुविधा सम्पन्न सहारा एकेडेमी संचालन गर्दै आएको छ । एकेडेमीमा हाल १६ जिल्लाका २८ बालकहरु रहेका छन् ।  प्रतियोगिता अवलोकनका लागि एक हजार रुपैयाँको सिजनल टिकट, प्रि–क्वाटरफाइनलमा ६० रुपैयाँ, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय र फाइनल खेलका लागि एक सय ५० रुपैयाँ टिकट दर कायम गरिएको छ । प्रतियोगिता अवलोकनका लागि पुगेका दर्शकलाई प्रत्येक दिन गोलाप्रथाबाट एक जनालाई माइक्रो म्याक्स मोवाईल प्रदान गरिने र अन्तिममा एक जना भाग्यमानी दर्शकलाई एक तोला सुनको सिक्का तथा अर्को एक जनालाई एलजी टिभी प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हिमश्री फुड्सका अध्यक्ष सूर्य बहादुर केसीले प्रतियोगितालाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए । उनले प्रतिभावान् खेलाडीलाई सहयोग गर्न आफू सदैव तयार रहेको स्पष्ट पारे । उनले सरकारको मात्र मुख नताकि आफै अग्रसर भएर विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिए । उनले भने–‘जसरी सहारा क्लवले उदाहरणीय काम गरेको छ, त्यसैगरी हामी सबैले आफ्नो ठाउँबाट काम शुरु गर्ने हो भने सबैको साथ पाइन्छ भने सरकारको पनि ध्यान पुग्दछ ।’ पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले राज्यले खेलकूदलाई उपेक्षा गरेको अवस्थामा निजी क्षेत्रबाट खेलकूद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय कार्य भएको बताए । उनले सहाराको प्रत्येक गतिविधिमा क्षेत्रीय खेलकूद विकास समितिको ध्यान जाने बताए ।
क्लवका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशव बहादुर थापा र महासचिव एवं प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव केशवराज बरालले प्रतियोगिता र सहारा क्लवको बारेमा चर्चा गरेका थिए ।  कार्यक्रममा हङकङ निवासी समाजसेवी देव गुरुङले क्लबलाई ५१ हजार एक सय ११ रुपैयाँ सहारा क्लबलाई सहयोग गरेका छन्। रेडियो अन्नपूर्णका कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठले उक्त रकमको चेक क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका थिए।
प्याराफिट र एन्फाको चर्चा
सहारा क्लवको आइतबार भएको पत्रकार सम्मेलनमा गतवर्षको भूकम्पले क्षति पु¥याएको पोखरा रङ्गशालाको प्याराफिट र लथालिङ्ग अवस्थामा रहेको एन्फा कास्कीको चर्चा चल्यो । प्याराफिटको विषय पत्रकार सन्तोष पोखरेल र एन्फाको विषय सुदिपराज ढुङ्गानाले उठाएका थिए । यी दुवै विषय उठाउँदा सहारका अध्यक्ष आचार्यको अनुहार मलिन हुन पुग्यो । पत्रकार सम्मेलनमा एन्फा कास्कीकातर्फबाट कोहीपनि प्रतिनिधि सहभागी थिएनन् भने आशन ग्रहणमा समेत एन्फाका प्रतिनिधि भनेर बोलाइएको थिएन । केही वर्ष अघिदेखिको एन्फा र सहाराबीचको मनमुटाव अझैपनि कायम रहेको पत्रकार सम्मेलनमा बुझ्न सकिन्थ्यो । यस विषयमा सहाराका अध्यक्ष आचार्यले एन्फाका एक जनासंग फोन सम्पर्क गर्दा काठमाडौं रहेको जानकारी पाएको र कोही सदस्य बाँकी भए प्रतिनिधि पठाइदिन भनेको तर कोही पनि प्रतिनिधि नआएको बताए । उनले भने–‘एन्फा कास्कीको अवस्था कस्तो छ ? तपाइँ हामी सबैलाई जगजाहेर छ, मैले केही भन्दिन, एन्फाले हामीलाई सहयोग गरेको पनि छैन । अरु कुरा उहाँहरुले नै जान्ने कुरा हो ।’ एन्फा र सहाराबीचको मनमुटावका बारेमा उनले केही बताउन चाहेनन् । यस्तै भूकम्पबाट क्षति भएको प्याराफिट पुननिर्माणमा राज्य तथा सम्बन्धित निकायको ध्यान नगएको अध्यक्ष आचार्यले बताए । ‘यस विषयमा हामी पनि गम्भीर छौं, दुखीपनि छौं, हामीलाई पनि चिन्ता छ, हाम्रा हजारौं दर्शक प्याराफिटमा बस्दा डराउनुपर्ने अवस्था छ’, उनले भने–‘गतवर्ष पनि प्राविधिकको सल्लाह अनुसार प्याराफिटमा दर्शक राखेका थियौं, यसवर्ष पनि त्यही अनुसार अघि बढेका छौं ।’ ‘प्याराफिट ठीक छ, ढुक्क भएर खेलको अवलोकन गर्न म आग्रह गर्दछु’–अध्यक्ष आचार्यले भने ।


Post a Comment

 
Top