पोखरा २३ पुस ।अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको समग्र अर्थतन्त्रमा थोक विक्रेता हरुको दोस्रो ठूलो भूमिका रहेको भन्दै व्यवसायीप्रति राज्यको नजर अझैपनि सकारात्मक हुन नसकेको बताए । उनले भने-‘अर्थतन्त्रको पहिलो हिस्सा कृषि र दोस्रो अर्थतन्त्रको मुख्य आधार थोक विक्रेताहरु तथा व्यवसायी हुन्, तर राज्य यी व्यवसायीको समस्यामा सधैं मौन छ ।’ नेपालमा दण्डहीनताको अवस्था अझैपनि विद्यामान रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुल्मीले व्यवसायीका मुख्य समस्या चन्दा भएको समेत स्पष्ट पारे । उनले अब सांसद र राजनीतिक दलका नेताको पछि नलाग्न आग्रह गर्दै संघर्ष गरेर आफ्नो समस्या समाधान आफैले गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल वितरक महासंघका अध्यक्ष डम्बर बहादुर थापाले राज्यले व्यवसायीलाई सधैं उपेक्षा गर्दै आइरहेको आरोप लगाए । उनले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा उद्योगी व्यवसायी भएपनि राज्य उद्योगी–व्यवसायीका समस्यामा कहिल्यै पनि गम्भीर हुन नसकेको बताए । उनले महासंघको साधारणसभा फागुन २१ गते पोखरामै गर्न लागेको जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजूले उद्योगी व्यवसायीका हकहित र अधिकारका लागि पोउवासंघ सदैव प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीका विविध समस्या समाधानका लागि राज्यका निकायलाई गम्भीर बनाउन पोउवासंघले विशेष अभियान ल्यान लागेको बताए ।
कार्यक्रममा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्या, संस्थाका आर्थिक सल्लाहकार डा. वेदनिधि शर्मा, कानूनी सल्लाहकार जगन्नाथ ढकाल, संस्थापक अध्यक्ष गोविन्द प्रसाद कर्माचार्य लगायतले उद्योगी, व्यवसायी तथा अधिकृत विक्रेताका समस्या र समाधानका उपाय बारे चर्चा गरेका थिए ।
संघका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष अधिकारीले, धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष हरिराज पन्त र संचालन महासचिव होम राइले गरेका थिए ।

Post a Comment