0
गोल्डेन न्यूज संवाददाता
सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखरामा हुने प्रदर्शनीले प्राविधिक शिक्षाबाट सूचना तथा प्रविधिको विकास गर्ने, वस्तु तथा सेवा उत्पादनमा मितव्ययिता अपनाउने, उत्पादन तथा उपभोगमा सरलता ल्याउने र उद्योग, व्यापार बजारमा आधुनिकीकरण गरि समाजको परिवर्तन गर्नका लागि सहयोग पुग्ने विश्वास आयोजकको छ ।   क्याम्पसद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख नारायण गौतमले यही पुस २२ र २३ गते प्रदर्शनी आयोजना गरिने जानकारी दिए । उनका अनुसार २०६२ मा पहिलो पटक यस किसिमको प्रदर्शनी भएकोमा दोस्रो पटक २०६९ मा क्याम्पसको रजत जयन्तीको अवसरमा गरिएको अब हुने प्रदर्शनी तेस्रो भएको बताए । उनले इन्जिनियरिङ्ग विषयका विभिन्न विधा अन्तर्गत ४० वटा प्रविधिको प्रदर्शनी हुने भन्दै आगामी वर्षहरुमा यसलाई निरन्तरता दिने प्रयास भइरहेको बताए । यसपटक प्रदर्शनी सम्पन्न गर्न करिब ५ लाख ४५ हजार खर्च अनुमान गरिएको र त्यसको व्यवस्था क्याम्पसको आन्तरिक स्रोतबाट गरिएको उनले स्पष्ट पारे ।  विद्यार्थीद्वारा निर्मित सोलारका कार, जलकुम्भी झार निकाल्ने उपकरण, धान काट्ने मेसिन लगायतको प्रदर्शनी हुनेछ । प्रदर्शनीले काम गर्ने विधि र यन्त्रलाई उत्पादकत्व वृद्धि गर्दै लागत घटाउन सकिन्छ भन्ने कुरालाई सर्वसाधारणसमक्ष पु¥याउन सकिने विश्वास लिइएको छ ।  यस किसिमको प्रदर्शनी विद्यार्थीहरु आफैले गर्नुपर्ने भएपनि विद्यार्थीले गर्न नसकेपछि क्याम्पस आफैले गर्नुपरेको तर बजेटको अभावले वार्षिकरुपमा गर्न नसकिएको उनले बताए । अब भने विभिन्न विभागले गर्नेगरि बजेटको समेत व्यवस्था गर्न लागिएकाले वार्षिक रुपमा नै यस्ता प्रदर्शनी आयोजना हुने बताइन्छ । क्याम्पसका विद्यार्थीले विभिन्न प्रविधि र समाग्रीको उत्पादन तथा निर्माण गरेको भएपनि विक्री गर्न मिल्ने व्यवस्था नरहेकोले त्यस्ता समानहरु क्याम्पसमै थन्किंदै आएको बताइन्छ । 
क्याम्पसबाट उत्पादन भएका जनशक्ति दक्ष भएपनि ६० प्रतिशत विद्यार्थी विदेशमा जाने गरेका कारण दक्ष जनशक्तिको उपयोग नेपालमा हुन नसकेको क्याम्पस प्रमुख गौतमले बताए । उनले भने–‘अझ टप विद्यार्थीहरु नै बाहिर जान्छन्, उनीहरुलाई  न त क्याम्प्स, न त त्रिविले नै रोक्न सक्छ । यसका लागि सरकारले उपयुक्त नीति बनाउन जरुरी छ ।’ पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख तथा इन्जिनियरिङ्ग एक्स्पोका संयोजक दीपक थापा र प्रचार–प्रसार संयोजक रामप्रसाद पौडेल लगायतले पनि कार्यक्रमको बारेमा चर्चा गरेका थिए । 


Post a Comment

 
Top