0
गोल्डेन न्यूज संवाददाता
पोखरामा माघ तेस्रो साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला रपुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुन लागेको हो । आईतवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार महिला र पुरुष दुबै विधामा ६ टिम सहभागी हुनेछन् ।  प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ, न्यू डायमण्ड र हेल्प नेपाल स्पोर्टस क्लबले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७७७ रुपैया मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगिता लिकम नक आउटको आधारमा हुनेछ । प्रतियोगितालाई सिर्जना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । आईतवार आयोजित पत्रकार सम्मेलनमै प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा आयोजकको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मुख्य प्रायोजकको तर्फबाट सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार सिर्जना विकास केन्द्रले मुख्य प्रायोजक वापत आयोजकलाई ७ लाख रुपैया दिनेछ । आयोजकले प्रतियोगिताको प्रवेश टिकट वापत भएको आम्दानीको १० प्रतिशत द्धन्द पीडित वालवालिकाका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जना विकास केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख ६५ हजार खर्च अनुमान गरिएको छ । अन्य रकम प्रायोजक, ब्यानर, गेट टिकटबाट प्राप्त हुने लक्ष्य राखिएको छ । महिलाहरुको आयआर्जनमा सघाउन विभिन्न जिल्लामा सिर्जना बैंकिङ कार्यक्रम मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको सिर्जना विकास केन्द्रले पहिलोपटक खेलकुदमा लगानी गरेको हो । पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघको व्यवस्थापनमा हुने प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा अमेरिकामा बसोवास गर्ने म्याग्दीका गर्वुजा यम पुनको तर्फबाट काठमाडौंमा हुने ढोरपाटन कप खेल्ने पश्चिमाञ्चल का महिला टिमको लागि जर्सी हस्तान्तरण समेत गरिएको थियो ।





Post a Comment

 
Top