0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले काठमाडौं, पोखरा लगायत पहाडी जिल्लामा अब कहिल्यै लोडसेडिङ नहुने बताएका छन्। ‘काठमाडौं र पोखरामा अब कहिल्यै लोडसेडिङ गर्न नपर्ने अवस्थामा हामी आइपुगेका छौं,’ घिसिङले भने, ‘अब हाम्रो ध्यान तराईका सहरमा पनि लोडसेडिङ हटाउनमा केन्द्रित छ।’ पछिल्लो तिहारदेखि नै काठमाडौंलाई लोडसेडिङमुक्त गर्दै आएको प्राधिकरणले पहिलोपटक काठमाडौं र पोखरामा लोडसेडिङ गर्न नपर्ने गरी बिजुली आपूर्ति भएको जनाएको हो। यसअघि केही पूर्वाधार बनाउन समस्या हुने देखिएकाले घोषणा गर्न नसकेकामा अब ती पूर्वाधार बनिसकेको घिसिङले जानकारी दिए। ‘कुलेखानी–स्युचाटार लाइन चार्ज गर्ने, चपली, नयाँ ट्रान्फर्मर राख्ने, बानेश्वर र स्युचाटारको ट्रान्सफर्मर अपग्रेड गर्ने काम समयमै सकिएको छ,’ घिसिङले भने, ‘उता ढल्केबरमा डबल लाइनमा स्विचिङ मिलाउनुपर्ने थियो। रातारात काम गरेर हामीले त्यो स्विचिङ गरेका छौं। यसले काठमाडौंको चिन्ता हटाएको छ।’ अहिले नदीमा पानीको बहाव न्यूनतम विन्दुमा पुगिसकेकाले अब पानी घटेपछि लोडसेडिङ हुन्छ कि भन्ने अवस्था नरहेको उनले बताए। ‘बरु कुनै आयोजनामा समस्या भयो भने बिजुली आपूर्तिमा समस्या हुन सक्छ,’ घिसिङले भने,‘आपतकालीन अवस्थाबाहेक काठमाडौं र पोखरालाई उज्यालो राख्न अब समस्या छैन।’ उनले विराटनगर अहिले पनि लोडसेडिङमुक्त जस्तै भएको र वीरगन्ज, नेपालगन्ज र धनगढी क्षेत्रमा पनि बढीमा २ घन्टा मात्र लोडसेडिङ भएको बताए।   ‘विराटनगर त अहिले पनि लोडसेडिङ मुक्तजस्तै छ,’ घिसिङले भने, ‘भैरहवामा तीन–चार घन्टा लोडसेडिङ हुन्छ, यी सबै सहरमा लोडसेडिङ नगर्ने विषयमा हामी केन्द्रित छौं।’ भैरहवामा ट्रान्सफर्मर ओभरलोड भएका कारण लोडसेडिङ धेरै गर्नुपरेको उनले बताए। प्राधिकरणले काठमाडौं आसपासका १० जिल्लामा यो वर्ष लक्ष्मीपूजाको दिनदेखि नै बिजुली नियमित आपूर्ति गरेको थियो। पुसको पहिलो सातादेखि पोखरासहित आसपासका जिल्लामा लोडसेडिङ भएको छैन। प्राधिकरण प्रमुख घिसिङले लोडसेडिङ आउँदो बर्खापछि देशभरि नै लोडसेडिङ नहुने गरी काम भइरहेको बताएका छन्।



Post a Comment

 
Top