0
हरि बास्तोला
अन्नपूर्ण, कुमारी र माछापुच्छ«े हिमालको नजिकैबाट दृष्यावलोकन र स्थानीय क्षेत्रको साँस्कृतिक तथा सामाजिक पहिचान गराउने उद्देश्यले कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे  (घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ । प्राकृतिक सौदर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घर घरमा आवासको व्यवस्था गरेर गत पुस महिनादेखि सिङ्गो गाउँलाई समेटेर होमस्टे सुरु गरिएको हो । कास्कीकोट युवा सञ्जाल र ओम शान्ति महिला समूहको सक्रियतामा सिङ्गो गाउँका २७ घरलाई समेटेर सञ्चालन गरिएको सो होमस्टेमा दैनिक ७० जनालाई सामुूहिक खाना र घर घरमा आवासको व्यवस्था रहेको कास्कीकोट भुजेल गाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष, लालबहादुर भुजेलले बताए । उनका अनुसार ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको सो क्षेत्रमा अवस्थित भुजेल गाउँ होमस्टे सञ्चालन भएको एक महिनाको अवधिमा लगभग १५० स्वदेशी तथा विदेशी पाहुना आइसकेका छन् । आगन्तुक पाहुनाका लागि एक दिनको प्रतिव्यक्ति रु ७०० लिने गरिएको छ । “अर्गानिक तरकारी, दूधजन्य पदार्थ, लोकल कुखुरा एवम् खसीको मासुसहित कोदोको ढिँडो, सेलरोटी तथा पुवा र कोदोबाटै बनेको घरेलु मदिरालगायत विभिन्न स्वादिष्ट परिकारका र ग्रामीण परिवेशको आवासको व्यवस्था गरेर होमस्टेमा नयाँपन दिन प्रयास गरिएको छ”, उनले भने–“होमस्टेमा दैनिक ७० जनासम्मको क्षमता रहेको छ ।”  समुद्री सतहबाट लगभग एक हजार ७०० मिटरको उचाइमा अवस्थित सो गाउँको आसपासका जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरुजस्ता आयुर्वेदिक महत्वका जडीबुटीको पहिचान गराई पाहुनालाई स्वाद चखाउने योजना रहेको जानकारी दिँदै भुजेलले आफूहरूलाई होमस्टे सञ्चालन सम्बन्धी ज्ञानको भने अभाव खड्किएको बताए । गाउँमा आधुनिक भौतिक पूर्वाधार निर्माणका साथै सरसफाइमा समेत बढी ध्यान दिइएको बताउँदै उहाँले सम्बन्धित निकायमा संस्था दर्ता गरी पञ्चेबाजा र भजन चुड्काले पाहुनालाई प्रवेशद्वारबाटै स्वागत गरेर गाउँ प्रवेश गराउने योजना रहेको दिए। गाउँमा आउने प्रत्येक पाहुनालाई फूलमालाले स्वागत गर्दै साँझ मालश्री, भजन, चुड्का, रत्यौउलीलगायतका विभिन्न मौलिक सांस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिने प्रदान गर्दै आएको ओमशान्ति महिला समूहका सदस्य हरिमाया भुजेल बताउछन्।
गाउँको उत्पादनले छ महिना पनि खान नपुग्ने भएपछि युवा विदेशिन बाध्य भएको बताउँदै उनले होमस्टे सञ्चालन गरेपछि पाहुनालाई आतिथ्यता प्रदान गरेर थप आम्दानी गर्ने अवसर मिलेको बताए । घरमा आउने इष्टमित्रका लागि निर्माण गरिएका दुईवटा कोठामा होमस्टे सञ्चालन भएपछि राम्रो आम्दानीको स्रोत बन्ने विश्वासका साथ घरमा होमस्टे सुरु गरिएको वैदेशिक रोजगारबाट हालै फर्किएका स्थानीयवासी तीर्थ सुवेदीको भनाइ छ । सहरमुखी पर्यटनलाई ग्रामीण क्षेत्रमा विस्तारीकरण गर्ने मुख्य लक्ष्यका साथ २०६७ सालदेखि राज्यले होमस्टेको अवधारणालाई अभियानका रुपमा अगाडि बढाएको भुजेल गाउँ पुग्नुभएका पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउछन्। “रमणीय गाउँले मात्र होमस्टेको आवश्यकता पुग्दैन, आवश्यक भौतिक संरचना तयार गरेर पाहुनालाई न्यूनकतम सुविधा दिनसक्नु पर्छ, उनले भने–“पर्यटकमैत्री वातावरणका साथै गाउँ तथा टोलमा सरसफाइ र सुरक्षाको प्रत्याभूति अत्यन्त जरुरी छ ।” पोखराको विन्ध्यवासिनीदेखि रमणीय गाउँ सराङकोट हुँदै १३ किलोमिटरको दूरीमा यातायात सुविधा रहेको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छे« र मनास्लु सम्मका मनोरम हिमशृङ्खला स्पष्ट देख्न सकिने सो गाउँको होमस्टे प्रवद्र्धनका लागि राज्य र सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञको धारणा छ । रासस



Post a Comment

 
Top