0
हरि पन्त÷गोल्डेन
पोखरामा सञ्चालित १५औं आहारारा गोल्डकपको उपाधि कसले जित्ला? यो खेल प्रेमी, खेलकर्मी  सबैको चासोको विषय बनेको छ । यसको टुंगो पोखरा रंगशालामा शनिबार लाग्दैछ । १२ टीम सहभागी प्रतियोगितामा १० दिनको खेलबाट दुई टीमहरु आयोजक सहारा र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब उपाधिका लागि भिड्न तयार अवस्थामा छन्। शुक्रबारदेखि पोखराको मौसम खराव अवस्थामा छ । यदि मौसमले भरपूर साथ दिए यसअघि चार पटकको उपाधि विजेता मनाङ र २०७० मा मनाङलाई नै हराएर उपाधि उचालेको आयोजक सहाराबीचको उपाधि भिडन्त रोचक बन्नेछ । प्रतियोगितामा मनाङले पाचौं  पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रँदा सहारा भने दास्रोे उपाधि जित्ने रणनीतिमा हुनेछ । मनाङ आहा गोल्डकपको दोस्रो, तेस्रो, १०औं र १४औं संस्करणको उपाधि विजेता हो भने क्याराभन गोल्डकपमा पुलिस, चौथो, नवौं र १३औंमा थ्रीस्टार, १२औंमा आयोजक सहारासंग पराजित भएको थियो ।  आहारारामा सहारा सँग भएका अहिलेसम्मका भेटमा मनाङ नै हावी बनेको छ । यी दुई टीम बीच हालसम्म पाँच पटक भेट भएको छ । जसमध्ये क्याराभन गोल्डकपको क्वाटरफाइनलमा मनाङ ३–१ ले विजयी भएको थियो भने २०६० मा ३–२ र तेस्रो संस्करणमा ३–१, नवौंमा ४–० ले मनाङ विजयी भएको थियो । सहाराले मनाङलाई एक पटक २०७० को १२औं संस्करणको फाइनलमा १–० ले पराजित गरि उपाधि उचालेको थियो । मनाङले केहीअघि सम्पन्न  हेटौडा गोल्डकपको सेमिफाईनलमा समेत सहारालाइ पराजित गरेको थियो । यसपटक मनाङलाई २०७० मा सहारासंगै हारेको बदला समेत लिनु छ भने सहारालाई हटौंडा गोल्ड कपको बदला लिने अवसर छ । सहारा घरेलु टोली हो र उसलाई अधिकांश दर्शकको साथ रहने कुरामा दुई मत छैन तर पोखरामा मनाङ समर्थक दर्शक पनि कम छैनन्। १५ वर्षको इतिहासमा पोखराको फुटवल मैदान सहारालाई भन्दा मनाङलाई नै फापेको देखिन्छ ।
यस प्रतियोगिताको समूह ‘बी’ मा रहेको मनाङले सेमिफाईनलमा काठमाडौंको सिएमजी संकटा क्लवलाई १–० ले र समूह ‘ए’ मा रहेको सहाराले बलियो प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लवलाई टाइब्रेकरमा ४–१ ले पराजित गरि फाइनलको यात्रा तय गरेको हो । सहाराले उद्घाटन खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लव, क्वाटरफाइनलमा भारतको सिक्किम युनाईटेडलाई फुटवल क्लवलाई पराजित गरेको थियो। मनाङले भने क्वाटरफाईनलमा धरान फुटवल क्लवलाई पराजित गरेको थियो ।
 
शुक्रबार पोखरा रंगशालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मनाङ र सहाराका प्रशिक्षकहरुले आ–आफ्नो टिमले उपाधि जित्ने दाबी गरेका छन । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफूहरुसंग राष्ट्रिय तथा अनुभवी खेलाडीहरु भएकोले फाईनल खेलमा आफ्नो टिमको उत्कृष्ट प्रदर्शन हुने दाबी गरे। उनले भने–‘फाईनल खेल हो, खेलको करिब १०÷१५ मिनेटमा एक गोल भयो भने ३÷४ गोल अन्तरले हामीले जित्न सक्छौं तर पहिलो हापमा गोल नभए पनि हाम्रो पक्षमा खेल हुन्छ ।’  मनाङका कप्तान अनिल गुरुङले आफूहरुलाई सहारा बिरुद्धको खेलमा दबाब नहुने बताए । उनले भने–‘हो, हामीले फाईनल खेललाई फाईनल खेलकै रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने रणनीतिमा छौैं ।’ सहारा पनि उत्तिकै मजबुत भएकाले जीत निकाल्न कठिन भएपनि जसले पहिले स्कोर गर्छ, उसको सम्भावना बढि रहेको उनले बताए । सहाराका प्रशिक्षक किरण श्रेष्ठले यस प्रतियोगिताका लागि हेटौंडा र धनगढी गोल्डकपमा हालै सहभागि भएर उक्त खेलमा भएका कमि–कमजोरीलाई आहारारामा सुधार गरी खेल्लेकाले फाइनलसम्म आइपुगेका बताए ।  उनले मनाङ बलियो प्रतिद्वन्दी भएपनि आफूहरु पनि कमजोर नभएको बताए । उपाधि जित्ने रणनीतिका साथ आफूहरु मैदानमा उत्रिने उनले बताए । उनले भने–‘हामी निर्धारित समयमा अनुशासित ढंगले खेल खेल्छौं, मनाङको जस्तो हाईफाई र राष्ट्रिय खेलाडीहरु नभएकोले गर्दा हामीलाई धेरै चुनौती छ ।’ अघिल्लो खेलमा रेडकार्ड पाएका सहाराका भरपर्दा डिफेन्स खेलाडी वविको स्थानमा अन्य खेलाडीको विकल्प खोजेको उनले बताए। सहाराका कप्तान उत्तम गुरुङले आफ्नो प्रशिक्षकले दिएको निर्देशन अनुसार आफूहरु खेलेर उपाधि जित्ने दावी गरे । उनले भने–‘फाइनल आउँदा बलियो टीम आर्मीलाई हराएका कारण हाम्रो मनबल उच्च छ, हामी पनि कमजोर छैनौं ।’
 
प्रतियोगिता अवधिभर दुई खेलाडीले रातो कार्ड पाएका छन् । सहाराका भरपर्दा खेलाडी बविले सेमिफाइनलमा रातो कार्ड पाए । ‘उनी टीमका लागि भरपर्दा खेलाडी थिए । भरपर्दा डिफेन्सिप र छिटो दौडने खेलाडी उनीमात्र थिए । फाइनलमा उनको अभाव राम्रैसंग खड्किनेछ’, मनाङ समर्थित एक खेल विश्लेषक भन्छन्–‘यस पटक सहारालाई उपाधि जित्न फलामको चिउरा चपाए सरह हुनेछ ।’ सहारा समर्थित एक खेल विश्लेषक भन्छन्–‘मनाङ भन्दा सहारा कमजोर टीम हो । सेमिफाइनलमा बलियो प्रतिद्वन्दी आर्मीलाई गोल गर्नबाट रोकेर फाइनल प्रवेश गरेको छ । सहाराको मनोवल उच्च छ ।’ पहिलो हाफमा मनाङलाई गोल गर्नबाट रोक्दै दोस्रो हाफमा सहाराको गोलपोष्टमा मनाङलाई पुग्न नदिएन उपाधि सहाराकै हुने उनले बताए । ‘सहाराले उपाधि जित्ने हो भने सेमिफाइनलमा आर्मीसंग खेल्दा गरेका केही कमजोरीलाई सुधारेर डिफेन्स अझ मजबूत बनाउन जरुरी छ’– उनले भने । सहारालाई भरपर्दा र बिलया खेलाडी वविको अभाव राम्रैसंग खड्किने उनले पनि स्वीकार गरे । ट्रफीसहित ५ लाख एक हजार रुपैयाँ पुरस्कारका लागि मनाङ र सहाराको खेल शनिबार हजारौं दर्शकहरु माझ पोखरा रंगशालामा हुने भएको क्लवका महासचिव केशवराज बरालले बताए । उपविजेताले भने २ लाख ५१ हजार रुपैयाँ पुरस्कारका साथमा ट्रफी प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्  । यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा झापा–११ का कर्ण लिम्बु रहेका छन् । अमेरिकाको एएनए टीमलाई पराजित गर्दा उनी एक्लैले ३ गोल गरेका थिए । मनाङका अनिल गुरुङ र सुजल श्रेष्ठको पनि २÷२ गोल छ । फाइनलमा सहारा विरुद्ध यी दुवै खेलाडीले १÷१ गोल गरे भने सर्वाधिक गोलकर्ताको उपाधि बाँडिनेछ । भाग्यशाली दर्शकका लागि पनि १ तोला सुनको सिक्का रहेको छ ।






Post a Comment

 
Top