0
गोल्डेन न्यूज संवाददाता
अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण हिमालको आधार शिविरमा साहसिक खेलका रुपमा लिइएको स्की खेल प्रशिक्षण र महोत्सव गरिने भएको छ । स्वदेशी विदेशी पर्यटकहरुको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको अन्नपूर्ण आधार शिविरमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन स्की एन्ड स्नोबोर्डिङ फाउण्डेशनले निःशुल्क प्रशिक्षणसहितको ‘स्की फर नेपाल’ कार्यक्रम गर्न लागिएको हो । यही माघ २८ बाट पदयात्रासहित सुरु हुने १३ दिने सो कार्यक्रमको पाँच दिन अन्नपूर्ण हिमालको आधार शिविरमा खेल खेल्ने तरिका, सीप र विविध कौशल सिकाइनेछ । पोखरा, नयाँपुल, वीरेठाँँटी हुँदै पुगिने करिब चार हजार एकसय मिटर उचाइको सो स्थलमा हिउँ पर्ने मौसम रोजेर गर्न लागिएको कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५० जना सहभागी हुने फाउन्डेशनका अध्यक्ष उत्सव पाठकले बताए । यसमा नेपाली सेनाका तीनजना संस्थागत रुपमा सहभागी हुनेछन् । हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री र प्रशिक्षण निःशुल्क दिइनेछ । अष्ट्रिया, जर्मनी, अमेरिका र स्वीट्जरल्यान्डका दश विदेशी प्रशिक्षकले प्रशिक्षण दिने फाउन्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले राससलाई बताए । कार्यक्रममा फिल्म बनाउने तीन क्यामेरामेनसमेत सहभागी हुने छन् । नेपालमा प्रशस्त मात्रा रहेको हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा साहसिक खेल स्कीको विकास र विस्तार गरी पर्यटकको वसाई लम्वयाउन तथा उनीहरुलाई साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउन स्की खेलको उद्देश्य रहेको यससम्बन्धी गतिविधि चलाउँदै आएका कोषाध्यक्ष काफलेले बताए। स्की एन्ड स्नोबोर्डिङ फाउन्डेसनले यसअघि गौरीशङ्कर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५ जनालाई स्की खेलको प्रशिक्षण दिएको थियो । मेरा पीक चुलीमा पाँच र दोलखाको कालिञ्चोकमा २० जनालाई प्रशिक्षण दिएको थियो । यस्ता प्रशिक्षणमा युवा, हिमाल तथा पदयात्रा पथप्रर्दशक र विद्यार्थी सहभागी हुने गरेका छन् ।



Post a Comment

 
Top