0
गोल्डेन न्यूज संवाददाता
आगामी माघ ४ देखि सुरु हुने १५ औं आहा ! रारा गोल्डकपको तयारी तीब्र पारिएको छ । माघ १५ गतेसम्म चल्ने प्रतियोगिताको लागि आयोजक सहारा क्लबले मैदान मर्मत गरिरहेको छ । पोखरा रंगशाला स्थित मैदानमा पानी हाल्ने, प्यारापिट मर्मत, सरसफाई लगायतको काम जारी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि गठित मुल आयोजक समिति र विभिन्न उपसमितिले आ–आफ्नो तयारी तीब्र पारेका छन् । प्रतियोगितामा सहभागी टिमको टुङ्गो लगाउने काम पनि अन्तिम चरणमा पुगेको र केहि दिनमा औपचारिक जानकारी गराउने क्लबले जनाएको छ । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा स्थापित आहा ! रारा कपको १५ औं संस्करणमा तीन विदेशी सहित १२ टिमले सहभागीता जनाउने क्लबका महासचिव केशब राज बरालले जानकारी दिए । प्रतियोगितामा विदेशी तीन, विभागीय तीन टिम सहित आयोजक एक र पाँच वटा ए डिभिजन क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म अमेरिकामा बस्ने नेपालीको टिम, विभागीय तीन टिम, मनाङमस्र्याङदी र आयोजक टिमको टुङ्गो लागिसकेको छ । विदेशी टिममा बंगलादेश, भुटान र भारतीय टिमसँग कुरा भैरहेको र एक दुई दिन भित्र सहभागी सबै टिमको टुङ्गो लाग्ने बताइन्छ । पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैयाँ खर्च लाग्ने र एक करोड ७ लाख ८२ हजार रुपैयाँ आम्दानीको अपेक्षा गरिएको छ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा यो बर्ष पनि एक जना भाग्यमानी दर्शकले एक तोलाको सुनको औठी पुरस्कार प्राप्त गर्ने भएका छन् । अघिल्लो बर्ष एक तोला सुनको सिक्का प्रदान गरेको सहारा हङकङले यो बर्ष पनि एक तोला बराबरको सुनको औठी प्रदान गर्न लागेको छ । बार्षिक रुपमा आयोजना हुदै आएको प्रतियोगिताबाट बचत भएको रकमबाट क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल १६ जिल्लाका २८ वालकहरु सम्पूर्ण सुविधाका साथ फुटवल प्रशिक्षण लिइरहेका छन् ।



Post a Comment

 
Top