0
गोल्डेन न्यूज संवाददाता
पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलको छैटौं संस्करणको तयारी पूरा भएको छ । बुकवर्म फाउन्डेशनले महोत्सवको छैटौं संस्करण माघ १४ गते शुक्रबारदेखि सोमबारसम्म पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा गर्ने तयारी पूरा गरेको हो । बुधबार पार्दीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले यो अन्तर्राष्ट्रिय महोत्सवले साहित्यिक क्षेत्रका सीमानालाई फराकिलो पार्ने आशा व्यक्त गरे । महोत्सवको उद्देश्यबारे बरालले भने–‘चार दिनको चाडका माध्यमबाट हामीले पोखराको साहित्यिक शहरको चिनारीलाई थप उजागर गर्दै पर्यटन प्रवर्द्धन पनि गर्न खोजेका हौं ।’यस पटकको छैटौं संस्करणमा महोत्सवमा ४० वटा सत्रमा वक्ता र सहजकर्ता गरी करिब एक सय जना सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सवको सह–आयोजक ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रमका हरेक सत्रहरु वक्ताहरुसँग साक्षात्कार गर्ने, सकेसम्म धेरै अन्तक्र्रिया गर्ने र नयाँ विषयहरुबारे विमर्श गर्ने गरी तयार गरिएको बताए । यस्तै, पोखरामा रहेर साहित्य सिर्जना गर्दै आएकी कवि सरस्वती प्रतीक्षाले महोत्सव साहित्यका राष्ट्रिय गतिविधि अरुसामु पस्किने र अन्तर्राष्ट्रिय जगतसामु आफूलाई उभ्याउने माध्यम भएको धारणा राखिन् । उनले भनिन्, ‘यो महोत्सव आफैंमा स्थापित ब्रान्ड भइसकेकोले यसले पोखराको गरिमा अझ बढाउने विश्वास छ ।’ सन् २०११ देखि काठमाडौंमा साहित्य महोत्सव गर्दै आएको बुकवर्मले गत वर्षको पाँचौं संस्करणदेखि पोखरामा महोत्सव गर्न थालेको हो । यस वर्ष महोत्सवका सत्रहरु लिटरेचर फेस्टिभलकै आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रशारण गरिने र सामाजिक सञ्जालबाट पनि अन्तक्रिर्या गरिने आयोजकले जनाएको छ । फेवातालको किनारका समसामयिक मुद्दाहरुमा विमर्श हुने महोत्सवमा यस पटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रहसनलाई बहुप्रतिक्षित मानिएको छ । यस वर्षको महोत्सवमा युवा लेखक दुर्जोय दत्त, इतिहासकार रामचन्द्र गुहा तथा हिन्दी भाषाका ख्यातिप्राप्त आख्यानकार उदय प्रकाश गरी तीन विदेशी लेखक सहभागी हुनेछन् । महोत्सवमा सिर्जनशील कलाकार समूहका सदस्यहरुको कला प्रदर्शनी समेत हुनेछ ।





Post a Comment

 
Top