0
डिल्लीराम गौतम
भनिन्छ जनमतको अगाडि जतिसुकै दमन गरेपनि अन्तिममा जनमतकै जित हुन्छ र तानाशाह, क्रुर प्रशासक तथा शासकहरु घुँडा टेक्न बाध्य हुन्छन् । तर इतिहासमा विरलै त्यस्ता घटनाहरु देखा पर्दछ । जहाँ शान्तिपूर्ण जनदबाव तथा आन्दोलनले प्रशासक तथा तानाशाहहरुको निद्रा खुलोस् । शुरुमा कम मेहेनत तथा सम्बोधनले समाधान हुने समस्याहरु शासक तथा प्रशासकहरुको विवेकको अभावका कारण त्यही समस्या कालान्तरमा भयानक रुप लिन पुग्छ । जनताको इच्छा, आवश्यकता तथा चाहनामाथि कुठाराघात गर्ने शासक तथा प्रशासकहरुको जतिसुकै शक्ति प्रयोग गर्ने प्रयत्न गरेपनि अन्ततः जनबलका अगाडी निरीह हुनु सिवाय अरु कुनै उपाय हुँदैन । तर पनि जनताको करबाट तलब खाएर राष्ट्रसेवकको पगरी गुथेका प्रशासकहरु कुनैपनि शान्ति पूर्ण जनआवाजहरुको सम्बोधन गर्न तयार हुँदनन् र जनतालाई अझै उत्तेजित बनाइ वातावरणलाई धुमिल बनाई आफ्नो सक्कली जनविरोधी रुप देखाई रहेका हुन्छन् ।
अहिले यस्तै परिस्थितिको सृर्जना भएको छ बाग्लुङ नगरबासीको सामुन्ने । हुन त बागलुङ नगरबासी तथा नगरपालिका बीच केही वर्ष यता नगरपालिकाको काम, कर्तव्य तथा नगरपालिकाले प्रवाह गर्ने सेवाहरुप्रति आमनगरबासीहरु सन्तुष्ट छैनन् । चाहे त्यो विकास निर्माणको कार्य होस् वा नगरपालिकाले प्रवाह गरेका सेवा, हरेक विषयमा अनियमितता भएको, पार्टीको भर्ति केन्द्र बनेको नगरपालिका नगरबासी प्रति भन्दा पार्टीप्रति बफादार बन्नु परेको आदि इत्यादी विषयमा बेला बेलामा नागरिकहरुबाट अख्तियार दुरुपयोग अनुसन्धानसम्म उजुरी समेत पर्ने गरेका छन् । तर पनि उक्त उजुरी प्रति पनि वास्तविक छानविन हुनुको साटो पार्टीहरुको मिलेमतोमा ती उजुरीहरुलाई पनि निष्क्रिय तुल्याइए । चाहे त्यो नगर क्षेत्रभित्र सञ्चालित बाटो निर्माण होस् वा दल तथा नाली निर्माण वा नगरपालिकाको आफ्नो भवन निर्माण वा नक्सा पास हरेक विषयमा अनियमितता भएको उजुरी पर्दा सम्बन्धित निकाय मुकदर्शक भएर बस्नुले नगरपालिकाको कामप्रति नागरिकले गरेको विरोधमा सुनुवाई नहुनुले कतै ति निकायहरु बीच मिलेमतो त छैन ? भन्ने गंभीर प्रश्न खडा भएको छ ।
त्यति मात्र होइन पछिल्लो समयमा आइपुग्दासम्म नगरबासी र नगरपालिका बीच दुरी बढेको छ । केही समय यता फोहोर व्यवस्थापनको विषयलाई लिएर पनि विवाद बढेको छ । नगरपालिका स्थापना यता फोहोर व्यवस्थापन वापत प्रत्येक घरधुरीबाट खानेपानी महशुलसँग जोडेर लिने गरेको शुल्क रु. ३० मा अहिले भारी वृद्धि गरिएको छ । नगरपालिका स्वयंले व्यवस्थापन गरेको फोहोरको जिम्मेवारी विगत केही महिना यता निजी क्षेत्रबाट सञ्चालित एक सहकारीलाई प्रदान गरियो । तर हाल आएर उक्त सहकारीले कैयौं गुना बिना छलफल शुल्कमा वृद्धि गरे पश्चात नागरिकमा व्यापक असन्तुष्टि पैदा भएको छ । यसरी आमनगरबासीको गुनासोलाई सम्बोधन गर्नुको साटो जिल्लाको प्रमुख व्यक्ति नागरिकको गुनासोको प्रतिकुल हुने गरी उक्त सहकारीले आयोजना गरेको कार्यालयको उद्घाटनमा सहभागी भै स्वयं प्रमुख जिल्ला अधिकारीले उद्घाटन गर्नुले पनि प्रमुख जिल्ला अधिकारी नागरिक प्रति जवाफदेहि छन् वा निजी क्षेत्रबाट सञ्चालित सहकारी प्रति ? आमनगरवासी प्रश्न गरी रहेका छन् । यसरी नगरबासीप्रति नगरपालिका उत्तरदायी नभएको विगत लामो समय सम्मबाट नगरक्षेत्रभित्र नक्सा पाश रोकिएको, ठूलावडा तथा सम्पन्न व्यक्तिको मिलेमतोमा नक्सापास गर्ने गरिएको नक्सा पासमा दोहोरो मापदण्ड अपनाइएको, नगरपालिकाका कर्मचारी आर्थिक अनियमिततामा दुवैको, फोहोर व्यवस्थापनमा भारी शुल्क वृद्धि भएको, नगरपालिकाले लिने विविध कर वृद्धि भएको, पारदर्शिता नभएको आदी विषयमा ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा दर्ता गर्दा समेत कुनै पहल भएन । 
तत्पश्चात यहि मिति २०७३÷१०÷०९ गतेका दिन स्थानीय नगरबासीको तर्फबाट नगरपालिका कार्यालयमा तालाबन्दी भयो । तर नगरिकको गुनासोको सुनाईका तालिम छलफलमा बस्नुको साटो प्रशासनले बल प्रयोग गरि क्षण भरमा ताला तोड्यो । यसरी प्रशासनले नागरिकको गुनासोप्रति सामान्य सुनुवाई गर्ने धैर्यता समेत नगर्नुले स्थानीय प्रशासन नागरिकप्रति उदासित भएको प्रष्ट हुन्छ । नागरिकका जायज मागलाई वार्ताद्वारा समाधान नगरी बल प्रयोग गर्न खोज्नुले प्रशासन नगरपालिका तथा नागरिकबीच अझै दुरी बढ्ने सम्भावना बढेका छ । तसर्थ सम्बन्धित निकायले समयमा नै पहल गरोस् । नागरिकका जायज मागको सम्बोधन होस् र नगरपालिका तथा प्रशासनबीच सुमधुर सम्बन्ध कायम होस् न की शान्तिपूर्ण आन्दोलनले जटिल रुप नलियोस् यसतर्फ सम्बन्धित निकायले समयमा नै ध्यान जाओस् ।
अझै बिडम्बना त के छ भने यसरी नागरिक चरणवद्ध आन्दोलनमा उत्रिदा समेत यहाँका कुनै पनि राजनीतिक दलहरुले न त आन्दोलनमा संलग्नता जनाएका छन् न त कुनै पहल कदमी नै । यसरी चुनावमा भोट माग्ने बेलामा मात्र जनता सामु आउने दलहरुले आफ्नो भागबण्डा गुम्ने डरले चुपचाप त बसेका छैनन् । नागरिकका जायज मागमा राजनैतिक दलहरु मौन वस्तुले नागरिकमा प्रश्न चिन्ह खडा गरिदिएको छ । यदि नगरबासीको जायज मागमा मौन बस्ने होभने नागरिकको आन्दोलनको ज्वाला राजनैतिक दल तर्फ नतेर्र्िसएला भन्न पनि सकिदैन । नगरबासीको चाहनालाई बुझेर सम्पूर्ण राजनीतिक दलहरुले अगुवाई गरी वार्ता र छलफलको माध्यमबाट अहिले देखिएको नगरपालिका र नगरबासी बीचको आन्दोलन मत्थर पार्नु पर्दछ । यसतर्फ राजनीतिक दलहरुको समयमा नै ध्यान जाओस् ।







Post a Comment

 
Top