0
पोखरा रंगशालामा यतिबेला भौतिक पूर्वाधार निर्माण भईरहेको छ । कोही धिमेगतिमा भएपनि अगाडि बढेको छ भने निर्माणको संघारमा छ । भलिबल प्रशिक्षण केन्द्र र बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अगाडि बढेको छ । पोखरा रंगशालाभित्र अब व्याडमिन्टनको कभर्ड हल निर्माण गरिदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले आफनै पहलमा चारवटा कोर्टसहितको कभर्ड 
(इन्डोर) हल बनाउन आवश्यक नक्सा बनाईसकेको छ । त्यसको लागि साढे तीन करोड बजेट आवश्यक पर्ने लागत अनुमान समेत गरिसकेर स्केच तयार पारिसकेको छ । ‘राष्ट्रिय खेलकुद परिषदले कभर्ड हल बनाउन जग्गा उपलब्ध गराईसकेको छ ।’ कास्की जिल्ला व्याडमिन्टन संघका नवनिर्वा्चित अध्यक्ष डम्बरसिंह गुरुङले भने–‘साढे दुई रोपनी क्षेत्रफल दिएका छन् । त्यसैमा हल बनाउने छौं ।’ हल बनाउन आवश्यक नक्सांकन भइसकेको उनले जानकारी दिए ।
पोखरा रंगशालाभित्र २०४० सालमा निर्मित व्याडमिन्टन कभर्ड हल छ । जुन कभर्ड हलमा प्रशिक्षणदेखि प्रतियोगितासम्मका गतिविधि हुदैं आएको छ । यद्यपि प्रशिक्षण गर्न कठिनाई हुदैं गएपछि संघले नयाँ हल निर्माण गर्ने गृहकार्यमा जुटेको हो । ‘भईरहेको हलमा संघका पदाधिकारीले खेल्ने हुदाँ प्रशिक्षण गर्न कठिनाई भएको छ । त्यसैले अबको हल विशेष गरी खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण केन्द्र बनाउने छौं’ अध्यक्ष गुरुङले भने–‘प्रशिक्षणसँगै राष्ट्रियस्तरका प्रतियोगिता समेत गर्न सहज हुने विश्वास छ ।’
इन्डोर हल निर्माणको लागि राखेपले बर्तमान जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय परिसर भन्दा पश्चिम तर्फको साढे दुई रोपनी क्षेत्रफल छुट्टाइदिएको छ । खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार २० मिटर चौडाई र ४० मिटर लम्बाई बराबर जग्गाको क्षेत्रफल व्याडमिन्टन संघलाई हल बनाउन स्वीकृति आएको छ । ‘विद्यालयस्तरीय प्रशिक्षणको मुख्य उद्देश्य राखेका छौं’ उनले भने–‘अहिलेको हलमा बुढापाका खेल्दा विद्यार्थी हेरेर बस्नुपर्ने र विद्यार्थी खेल्दा अरुले हेरेर बस्नुपर्ने बाध्यता छ ।’ त्यसको निराकरण गर्नकै लागि पनि हल अत्यावश्यक ठानिएको संघको ठम्याई छ ।
नक्सांकन अनुसार चार वटा कोर्ट, चेन्जिङ रुम, संघको कार्यालय, शौचालयसहितको पुर्वाधार बनाउने उनले जानकारी दिए । ‘हलमा पार्के्टिङ गरिने छ ।’ उनले भने । हल निर्माणको लागि संघले आफनै पहल कदमी गरिरहेको छ । ‘राष्ट्रिय खेलकुद परिषदमा समेत आर्थिक सहयोगको लागि आग्रह गर्दै छौं ।’ उनले भने–‘तर पहिला आफैंबाट आर्थिक सहयोग जुटाएर काम शुरु गर्ने छौं ।’ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २० फिट चौडाई र ४४ फिट लम्बाईको व्याडमिन्टन कोर्ट तयार हुने छ । निर्माणाधिन हलभित्र चार वटा कोर्ट अटाउने छ ।
यसैबीच कास्की जिल्ला ब्याडमिन्टन संघको सातौं अधिवशेनले डम्बरसिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्र घले, सरेशबहादुर श्रेष्ठ निर्वा्चित भए । दुई उपाध्यक्ष महेशरत्न शाक्य तथा नरबहादुर गुरुङलाई अध्यक्षद्वारा मनोनित गरिएका हुन् ।
 त्यसैगरी दुर्गा जोजिजू सचिवमा, इन्द्रबहादुर गुरुङ कोषाध्यक्षमा चयन भए । सदस्यहरुमा विशाल खड्का, शेरबहादुर क्षत्री, यामकुमारी गुरुङ र प्रतिभा गुरुङ रहेका छन् । अधिवेशनका क्षेत्रीय खेलकुद विकास समिति खगराज पौडेलले भौतिक पुर्वाधार निर्माणमा अग्रसर रहेको संघलाई राष्ट्रिय खेलकुद परिषदबाट समेत सहयोग हुनुपर्नेमा जोड दिए ।





Post a Comment

 
Top