0
 चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा आयोजित ‘वसन्त कला महोत्सव’मा चिनियाँ पर्यटक रमाएका छन् । चीनको सबैभन्दा चर्चित न्यूज एजेन्सी ‘सिन्ह्वा समाचार एजेन्सी’ को मुख्य आयोजना तथा चिनियाँ उद्यमी मञ्च, पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा, रेबान पोखरा, पोखरा उप–महानगरपालिका, नेपाल चीन जनमैत्री संघ पोखरा र पोखरेली युवा उद्यमी मञ्चको सह–आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा पोखराको लेकसाइडस्थित अम्बोटमा शनिवार साँझ भएको चिनियाँ संस्कृति सम्बन्धी ‘वसन्त कला महोत्सव’ मा पर्यटक रमाएका हुन् । कार्यक्रममा चीनको हुनान प्रान्तका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । शुरुमा बाघेनाच प्रदर्शन गर्दै चिनियाँ नयाँ वर्षलाई स्वागत गरिएको थियो । दुई जना ब्यक्तिले बाघको आकारमा रहेर गरिएको स्वागत नृत्य उपस्थित चिनियाँ तथा नेपाली दर्शकले औधी रुचाएका थिए। माघको चिसो साँझको समयमा करिब साढे २ घण्टा सडकमै चलेको कार्यक्रममा चिनियाँ संस्कृति झल्कने एकल तथा सामुहिक नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शक रमाए । पहिलोपटक चिनियाँ संस्कृति सम्बन्धी कार्यक्रम भएकाले दर्शकले फरक स्वाद चाख्न पाउँदा दङ्ग देखिन्थे । कार्यक्रममा सहभागिले चिनियाँ नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए । कार्यक्रम हेर्न पोखरा घुम्न आएका पर्यटक प्रायः सबै भेला भएका थिए भने काठमाडौंबाट पनि बस रिजर्भ नै गरेर चिनियाँ पर्यटक आएको आयोजकले बताएको छ । कार्यक्रममा लेकसाइडसहित पोखराका विभिन्न क्षेत्रका स्थानिय तथा आन्तरिक पर्यटकको बाक्लो सहभागिता थियो । कार्यक्रमको शुरुमा सिन्ह्वा समाचार एजेन्सीका नेपाल ब्यूरो प्रमुख चौ सङ फीले ले नेपालमा रहेका चिनियाँलाई नयाँ वर्षमा हर्षोल्लासपूर्व मनाउन, चिनियाँ संस्कृति नेपालीलाई देखाउन र नेपालको पर्यटनमा चिनियाँ पर्यटक भित्र्याउनका लागि सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको प्रष्ट पारे । उनले धेरैले काठमाडौंमा नगरेर पोखरामा किन गरेको भन्दै प्रश्न गरेको सुनाउँदै पोखरा साँच्चिके सुन्दर भएकाले आफूले पोखरा छानेको बताए ।पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले यस्ता खालका सांस्कृतिक कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन सघाउनुका साथै पर्यटन आगमनमा समेत टेवा पुग्ने बताए । सह–आयोजक पोखरा उद्योग वाणिज्य संघ तथा चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले चिनियाँ पर्यटक भित्राउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले यो कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिईने बताउँदै यसले नागरिक स्तरमा सम्बन्ध बिस्तार गर्न पनि सघाउने बताए ।



Post a Comment

 
Top