0
गोल्डेन न्यूज संवाददाता
पोखराकोे सहिदचोकदेखि मुस्ताङचोक हुँदै तीनकुनेसम्म शनिबार सरसफाई अभियान चलिरहेको थियो । पोखरामा सरसफाई अभियान सुरु भएको ३२औं साता पुगिसकेको छ । नागरिक समाजका अगुवा, सामाजिक अभियान्ता, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयबासीको सहभागिता सरसफाई अभियान सञ्चालन भएको हो । अन्य शनिबार उक्त अभियान सरसफाईमा मात्र सीमित हुन्थ्यो । गत शनिबार सञ्चालित अभियानको ३२ औं श्रृङ्खलाले भने नयाँ मोड लिएको छ ।
सरसफाईको समापन सके लगत्तै केही अभियान्ताहरु तथा प्लाष्ट्रिक अनुगमन समितिका पदाधिकारीहरु प्लाष्ट्रिक अनुगमनमा निस्किए । घारिपाटनका विभिन्न पसलमा प्लाष्ट्रिकको अनुगमन गर्ने क्रममा एउटा फ्रेस हाउसमा पोखरा उप–महानगरपालिकाले निषेधित गरेको प्लाष्टिक प्रयोगमा ल्याइएको भेटियो । उक्त पसलबाट तत्काल एक प्याकेट प्लाष्टिक टोलीले बरामत ग¥यो । पोखराको एउटा प्लाष्टिक सप्लायर्सले उक्त क्षेत्रमा मोटरसाइकलमा प्लाष्ट्रिक बिक्री गर्दै आइरहेको पत्ता लाग्यो । फ्रेस हाउस सञ्चालकले पनि सोही व्यक्तिसँग प्लाष्ट्रिक किन्दै आइरहेकी रहिछन् ।
उनै महिलाको सहायताले टोलीले पोखरामा नियम बिपरित प्लाष्टिक सप्लाई गरिरहेको डिलरलाई फेला पार्न सफल भयो । प्लाष्ट्रिक बिक्री गर्ने गिरोह पत्ता लगाउने क्रममा छापा मार्दा पोखराको सृजनाचोकस्थित जय गोरखा प्लाष्ट्रिक स्टोर्समा ठूलो मात्रामा प्लाष्ट्रिक फेला परेको अनुगमन समितिका सदस्य तथा पोखरा उपमहानगरपालिका निगरानी समितिका संयोजक तथा सामाजिक अभियान्ता अञ्जु केसीले जानकारी दिइन् ।
उक्त पसलबाट ४४ बोरा प्लाष्ट्रिक तथा केही मात्रामा गिलासहरु बरामत गरिएको छ । टोलीले ठूलो मात्रामा प्लाष्ट्रिक फेला पारेपछि नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानासमेत तत्काल उक्त पसलमा उपस्थित भएर प्लाष्ट्रिक बरामत गर्न निर्देशन दिएका थिए । मुचुल्का उठाएर बरामत गरिएका सम्पूर्ण प्लाष्टिकलाई नगर प्रहरीले पोखरा उप–महानगरपालिकामा लगेको छ । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ तथा पोखराको प्लाष्टिक अनुगमन निर्देशिका २०७२ ले तोके बमोजिम उक्त प्लाष्टिकका बिक्रेतालाई कार्बाही गरिने कार्यकारी अधिकृत ढुंगानाले बताए । ‘पोखरालाई प्लाष्ट्रिक निशेधित क्षेत्र घोषणा गरिसक्दा पनि केही गिरोहले गैर कानुनी रुपमा प्लाष्ट्रिक बिक्री वितरण गर्दै आइरहेको पाएका छौं’ उनले भने, ‘अनुगमनलाई हामीले तिब्रता दिइरहेका छौं । त्यस्ता गिरोहलाई पत्ता लगाएर कार्वाही गर्नेछौं ।’ नगरपालिकाले गत कात्तिक २४ गतेबाट पोखरालाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको नियम विपरित प्लाष्टिक बिक्री गर्ने गिरोहलाई पत्ता लगाई कार्बाही गर्नुपर्ने नागरिक समाज पोखराका संयोजक तथा सरसफाई अभियान्ता रामबहादुर पौडेलले बताए ।  हामीले अनुगमन गरिरहेका छौं,’ उनले भने–‘पोखराको हितका लागि ल्याइएको यो अभियानमा सबैले साथ दिन आवश्यक छ ।’ नगरपालिकाका वातावरण महाशाखा प्रमुख तथा प्लाष्टिक अनुगमन समितिका संयोजक वसन्त चालिसेले पोखरामा गैरकानूनी रुपमा प्लाष्टिक बिक्री वितरण गर्नेहरु सबैलाई खोजी खोजी कार्बाही गरिने बताए ।

Post a Comment

 
Top