0
गोल्डेन न्यूज संवाददाता
खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि पोखरामा तालिम शुरु भएको छ । खेलकूद पत्रकार मञ्च कास्कीले पत्रकारको क्षमता अभिवृद्धिका लागि दोस्रो पटक यो तालिम आयोजना गरेको हो । मञ्चले अघिल्लो वर्षपनि तालिम आयोजना गरेको थियो  । फुटबल र क्रिकेट खेल सम्बन्धी तालिम आज सोमबार सकिंदैछ। तालिमको उद्घाटन गर्दै मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले खेल सम्बन्धी समाचार लेखनमा प्राविधिक ज्ञानको आवश्यकता रहने र यसका लागि तालिम फलदायी हुने बताए ।  खेलकुद सम्बन्धी समाचार लेख्ने पत्रकारले अन्य समाचार लेख्न सक्छन् तर अन्य समाचार लेख्ने सबैले खेलकुद बिटमा समाचार लेख्न सक्दैनन्’, उनले भने–‘खेलसम्बन्धी नियम तथा प्राविधिक ज्ञान नभएको खण्डमा समाचार पुरै गलत हुने भएकाले यसबारे प्रशिक्षण आवश्यक पर्छ । यसका लागि नै कास्कीमा मञ्चले वर्षेनी यस्ता तालिम आयोजना गर्दै आएको छ ।’
 
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं मञ्चका सल्लाकार खगराज पौडेलले पश्चिमाञ्चल खेलकुदको राजधानी भएको भन्दै खेलक्षेत्रसँग सम्बन्धित संघ–संस्था र पत्रकारबीचको सहकार्यले नै समग्र खेलजगत अघि बढ्ने बताए। विश्वकै लोकप्रिय खेल फुटबल र दक्षिण एशियाको लोकप्रिय खेल क्रिकेटसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरको मञ्चले आगामी दिनमा अन्य खेलहरुको तालिम सञ्चालन गर्न आग्रह गरे ।  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले खेलसम्बन्धी जानकारी पत्रकारले समाचार सम्प्रेषण गरेपछि नै प्राप्त हुने भएकाले पत्रकारले सत्यतथ्य बुझेर सही समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पत्रकार क्षमता अभिवृद्धि गर्ने तालिममा समितिले दिएको ५० हजार रुपैंयालाई निरन्तरता दिईने समेत उनले प्रतिवद्धता जनाए । मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक एवं मञ्चका उपाध्यक्ष दिननाथ बरालले स्वागत र सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए । तालिमको अन्तिम दिन आज सोमबार क्रिकेट खेल बारे मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्य लगायतले प्रशिक्षण दिने बताइन्छ ।
तालिमको पहिलो दिन फुटबल खेलसम्बन्धी तालिम दिईयो । नेपाली राष्ट्रिय महिला फूटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापाले फुटबल खेलसम्बन्धी १७ नियम, फुटबल खेलको इतिहास र नेपाली फुटबलबारे सहजीकरण गरे । अर्का प्रशिक्षक प्रकाश तिमिल्सिनाले फुटबल खेल रिपोर्टिङका क्रममा आवश्यक ज्ञान, सामाग्री, तयारी, लेखन शैलीका सम्बन्धमा प्रशिक्षित गराए । तालिममा विभिन्न संचारमाध्यममा आबद्ध ४४ जना पत्रकार सहभागी छन् ।


Post a Comment

 
Top