0
गोल्डेन न्यूज संवाददाता
मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढदो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो । विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकसितको मिलोमतो हुनसक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट २५ प्रतिशत हाराहारीमा छ । नयाँ ठाउँमा सरुवा भएर जाँदा कर्मचारीको पुरानो नेक्सस टुट्ने र नयाँ ठाउँका बढी बिजुली खपत गर्ने ठूला ग्राहकसित ‘नाजायज सम्बन्ध’ बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारीसमेत छन् । सरुवाका साथै वितरण केन्द्रका कर्मचारीको ठूला ग्राहकसितको मिलोमतो र विद्युत चोरीबारे छानबिन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ । राजधानीमा ठूला ग्राहकसित प्राधिकरणकै पूर्व र बहालवाला कर्मचारी मिलेर ठूलोमात्रामा विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले कार्बाही अघि बढाएको छ । महाशाखाले प्राधिकरणका बहालवाला ११, १ पूर्व कर्मचारी सहित चार व्यापारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । प्राधिकरणका कर्मचारी संघरसंगठनहरूले पक्राउ परेका कर्मचारीहरूलाई कारबाहीबाट उन्मुक्ति दिन ऊर्जा मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङलाई चर्को दबाब दिंदै आएको दाबीसमेत स्रोतको छ । स्रोतका अनुसार अरू वितरण केन्द्रमा समेत राजधानीमा जस्तै ठूला ग्राहकसित मिलेर विद्युत चोरी भइरहेको आशंकामा ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले तीन वर्षभन्दा बढी एकै ठाउँमा रहेका करिब २५ सय कर्मचारीलाई कानुनबमोजिम सरुवा गरिएको जानकारी दिए । ‘सरुवामा कानुन र मापदण्ड मिचिएको छैन’ उनले भने( ‘क्षेत्रीय वितरण केन्द्रका कर्मचारीहरूलाई मात्र सरुवा गरिएको छ’ भट्टराईले भने । वितरण केन्द्रका कर्मचारी र ठूला ग्राहकको मिलोमतोमा विद्युत चोरी र चुहावट हुने गर्छ, प्राधिकरणका अरू शाखाका कर्मचारीहरूको विद्युत चोरी र चुहावटमा खासै संलग्नता नहुने भएकाले उनीहरूलाई खासै चलाइएको छैन । प्राधिकरणका अनुसार काठमाडौं क्षेत्रीय कार्यालयमा ७ सय ८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३ सय ५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३ सय २९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २ सय ९२, बुटवल क्षेत्रीय कार्यालयमा २ सय ६५, पोखरा क्षेत्रीय कार्यालयमा १ सय ६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १ सय ६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १ सय ३२ जना कर्मचारी सरुवामा परेका छन् ।

कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरूले ठूलो संख्यामा भएको सरुवाको विरोध गर्दै बुधबार कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक भट्टराईको कार्यकक्ष घेराउ गरे । उनीहरूले ‘राजनीतिक पूर्वाग्रह’ आधारमा गरिएको सरुवा नसच्चिएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिएका छन् । ती संगठनले कमाउ अड्डामा रहेका आफ्नो संगठन सम्बद्ध कर्मचारीहरूको सरुवा भएकाले विरोध गरेको जानकारी प्राधिकरणका उच्च अधिकारीले दिए । कर्मचारी संगठनहरूले भने प्राधिकरणको आधिकरण ट्रेड युनियनको फागुन १८ मा चुनावलाई असर पर्ने दाबी गर्दै सरुवाको विरोध गरेको जानकारी उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार देशभरका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनमा मत दिन पाउने भएकाले सरुवाले मतदानमा कुनै असर पर्दैन । ऊर्जा मन्त्री जनार्दन शर्माको पार्टी माओवादी केन्द्र निकट कर्मचारी संगठनले भने सरुवाको विरोध गरेको छैन ।










Post a Comment

 
Top