0
निजामती सेवा सरकारलाई जनता समक्ष पुर्याउने माध्यम हो । जनस्तरमा काम गर्ने भएकोले यसलाई स्थायी सरकार तथा स्थायी कार्यकारिणी पनि भनिन्छ । प्रचलित कानूनको पालना गर्दै सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । त्यसैले भन्ने गरिन्छ, कुनै पनि देशको निजामती सेवाभन्दा त्यहाँको सरकार राम्रो हुनै सक्दैन । पछिल्लो समय भने निजामती सेवा यसका विद्यमान आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित हुँदा यसप्रतिको जनविश्वास घट्दै गएको छ । बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई ढाल्न नसक्दा जनविश्वास गुमाउँदै गएको हो । बढ्दो भ्रष्टाचार, राजनीतिकरण, प्रतिक्रियामुखी कार्यशैली, ढिलासुस्ती तथा नातावाद–कृपावादले जनताको विश्वासलाई अझै कमजोर बनाएको छ । सेवा प्रवाहमा रहेको झन्झट, विकास प्रक्रियामा रहेको ढिलासुस्ती, भौगोलिक विकटता, अशिक्षा र पछौटेपन, सेवाग्राही प्रतिको असहज व्यवहारका कारण जनसम्बन्ध राम्रो हुन सकेको छैन । प्रक्रियामुखी कार्यशैली, क्लिष्ट कानून र कानूनको निरन्तर परिवर्तन र तथा वर्ष–वर्षमा सरकारपिच्छेका परिवर्तित नीति पनि जनविश्वास घटाउने कारक बनेका छन् । निजामती सेवाप्रतिको जनविश्वास कमजोर हुनुको प्रमुख कारणमध्ये राजनीतिक अस्थिरताले सिर्जना गरेको नीतिगत अस्थिरता पनि हो । त्यस्तै, अस्पष्ट कानून जनताले सजिलै नबुझ्दा यसले समस्या सिर्जना गरेको छ । कर्मचारीले कानूनको आफ्नो हित अनुकूल प्रयोग गर्दा जनअपेक्षा सम्बोधन हुन सकेको छैन ।
व्यावसायिकताको कमीले कर्मचारीले जनअपेक्षा बमोजिम कार्यसम्पादन गर्न नसक्दा सरकारी सेवाप्रति सेवाग्राहीको विश्वास कमजोर भएको हो । जनताले सामान्य कामका लागि पनि धेरै प्रक्रिया अपनाउनुपर्ने तथा कर्मचारीको काम पन्छाउने प्रवृत्ति यसको कारक रहेको छ । निजामती सेवाले समयानुकूल प्रविधि उपयोग गर्न नसक्दा सेवा छरितो र पारदर्शी हुन सकेको छैन । एउटै कर्मचारी विभिन्न पदमा पदेन विज्ञ बन्नुपर्दा सेवाको गुणस्तर खस्किएको छ । कर्मचारीको आकर्षक कार्यालयमा जाने चाहना र छिटोछिटो हुने सरुवाले पनि सेवा प्रवाहलाई प्रभावित बनाएको छ । अर्कातिर, कर्मचारी निरुत्साहित हुने अवस्थाले पनि निजामती सेवाको प्रभाव खस्काएको छ । कर्मचारीको कार्यसम्पादनको स्तर उनीहरुको उत्प्रेरणा र मनोबलको स्तरमा निर्भर रहन्छ । निजामती सेवाको न्यून तलबभत्ता, अपारदर्शी वृत्ति प्रणाली लगायत कारणले कर्मचारीले आफ्नो जागिरको सोझो गर्न हाकिम तथा राजनीतिक दलका नेताको चाकडी गर्ने गलत प्रवृत्तिको विकास गराएको छ । यी कारणले कर्मचारीको मनोबल कमजोर बनेको छ । निजामती कर्मचारीको भन्दा उही तहमा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको सेवा–सुविधा बढी हुनुले पनि कर्मचारी कामप्रति उत्प्रेरित छैनन् । यसले गर्दा उनीहरुले प्रवाह गर्ने सेवा प्रभावकारी बन्न सकेको छैन । बढ्दो राजनीतिक हस्तक्षेपले कर्मचारीमा कामप्रतिको उत्साह जाँगर कमजोर बनाएको छ । अत्यधिक राजनीतिकरण र टे«ड युनियनको कार्यशैली तथा कर्मचारीलाई कानून बमोजिम काम गर्नबाट राजनीतिक दलहरुबाट अवरोध गरिँदा जनविश्वास घटेको छ । कर्मचारीलाई दलका प्रतिनिधि बनाउने प्रयत्न भएको छ । सरकार परिवर्तन हुनेबित्तिकै कर्मचारीको सरुवाको लहड यसको उदाहरण हो । कर्मचारीको बहुउत्तरदायित्वले पनि सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध धमिलिएको छ । सेवाग्राहीमा रहेको अशिक्षा र अनभिज्ञता पनि सेवाप्रतिको अविश्वास बढाउने कारक तत्व बनेका छन् । सेवा प्राप्त गर्नका लागि गर्नुपर्ने प्रक्रिया, कागजात सेवा दिने अधिकारी, गुनासो सुन्ने अधिकारी र क्षतिपूर्ति सम्बन्धमा सेवाग्राहीलाई थाहा नहुँदा पनि समस्या सिर्जना भएको छ । यसका लागि सरकारले व्यवस्था गरेका नागरिक बडापत्र, उजुरी पेटिका, सार्वजनिक सुनुवाई, सूचना अधिकारी, गुनासो सुनुवाई लगायत प्रावधानहरुको समुचित उपयोग हुन सकेको छैन । शिक्षित व्यक्तिले पनि सेवा प्राप्त गर्ने तरिकाबारे ध्यान दिएको पाइँदैन । प्रक्रिया पुर्याउनुभन्दा भनसुनका आधारमा काम गराउने प्रवृत्ति सेवाग्राहीमा मौलाएको पाइन्छ । नियम मिचेर दबावका आधारमा काम गराउँदा गर्व मान्ने हाम्रो संस्कार र प्रवृत्ति पनि सेवाग्राही–सेवा प्रदायक सम्बन्ध कमजोर बनाई सेवाप्रतिको जनविश्वास कमजोर बनाउन उद्यत देखिन्छ । सरकारले आवश्यकताका आधारमा सेवा प्रदान गर्ने संस्था र संगठनात्मक संरचना निर्माण र सेवाको नक्साङ्कन गर्न नसक्दा सेवा प्रवाह प्रभावकारी बन्न सकेको छैन । कामको चापका आधारमा दरबन्दी सिर्जना गर्ने परिपाटीको अभाव छ । देशको कठिन भौगोलिक अवस्था, सडक यातायात लगायतका पूर्वाधारको अभावमा सानो कामका लागि धेरै समय र पैसा खर्चिनुपर्ने बाध्यता छ । यसका साथै सेवा प्रदायकको व्यवहार सेवकको नभई शासकको जस्तो भएको कारण जनताले महसूस गर्ने गरी सेवा प्रवाह हुन सकेको छैन । कर्मचारीले असल नियतले काम गर्दा पनि फस्ने अवस्थाले पनि खुलेर काम गर्न सकेका छैनन् ।
जनविश्वास बढाउने उपाय
राज्यको जनतासँगको सम्बन्ध निजामती सेवामार्फत हुने गर्छ । यसको सबलीकरण, सुदृढीकरण र व्यावसायीकरण गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्छ । राजनीति र प्रशासनको सम्बन्ध परिभाषित हुनुपर्छ । क्लिष्ट ऐन, नीति–नियमहरुको आवश्यक संशोधन र नीतिगत स्थिरता कायम गरिनुपर्छ । विद्यमान भद्दा र अव्यावहारिक संगठनात्मक संरचना पुनर्गठन गरी चुस्त बनाउनुपर्छ । यस्तै, सर्भिस म्यापिङ गरी आवश्यकताका आधारमा संस्थागत र संगठनात्मक संरचना निर्माण गरिनुपर्छ । सार्वजनिक सेवाका नवीन मान्यताको अवलम्बन र विद्युतीय सरकार मार्फत सेवा प्रवाह छरितो, पारदर्शी र वस्तुनिष्ठ बनाउन सकिन्छ । कर्मचारीको कार्यसम्पादनको स्तर बढाउन र उनीहरुको उत्प्रेरणा अभिवृद्धि गर्न कर्मचारीलाई पर्याप्त जीवन निर्वाहको आधार प्रदान गरिनुपर्छ । कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली तथा ३६० डिग्री मूल्याङ्कन प्रणाली लागू गर्ने तथा बहुउत्तरदायित्वलाई व्यवस्थित गरिनुपर्छ । यसका साथै वृत्ति प्रणालीलाई पारदर्शी, वस्तुनिष्ठ र अनुमानयोग्य बनाउँदै सरुवा–बढुवाका निश्चित मापदण्ड बनाइनुपर्छ । सेवाको विशिष्टीकरण तथा कर्मचारीको क्षमता अभिवृद्धि मार्फत व्यावसायिकता अभिवृद्धि गर्न सके कर्मचारीको कार्यसम्पादन स्तर प्रभावकारी भई जनविश्वास बढ्न सक्छ । विद्यमान राजनीतिक अस्थिरताले सिर्जना गरेका नीतिगत अस्थिरता हटाउँदै कानूनको सरलीकरण गरी त्यसमा जनताको पहुँच र विज्ञता बढाइनुपर्छ । विद्यमान प्रक्रियालाई सरलीकरण गरी समयानुकूल प्रविधि प्रयोग गरी ई–गर्भनेन्सलाई अपनाउनुपर्छ । राजनीतिक दलगत ट्रेड युनियन खारेज गरी आधिकारिक ट्रेड युनियनको निर्वाचन गरिनुपर्छ । ट्रेड युनियनलाई रचनात्मक कार्यमा केन्द्रित गरिनुपर्छ । सेवाग्राहीलाई सेवासम्मको पहुँच अभिवृद्धि गर्न सेवाग्राही सचेतना तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्छ । सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्राप्त गर्ने अवस्था सिर्जना गर्न प्रभावकारी गुनासो सुनुवाईको व्यवस्था गरिनुपर्छ । पत्रकारिता र सञ्चार माध्यमलाई सार्वजनिक सेवा र सेवाग्राहीबीचको सेतुको रुपमा स्थापित गरिनुपर्छ । कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारले पनि विश्वासलाई प्रभाव पार्ने भएकोले आचरण कडाइका साथ लागू गर्ने र कार्यसम्पादन मूल्याङ्कनमा सेवाग्राहीको मूल्याङ्कन समेटिनुपर्छ । निष्कर्ष ः समग्रमा नेपालको निजामती सेवाप्रति जनविश्वास घट्दै गएको छ । यसका कारणहरु सबै पक्षसँग जोडिएका छन् । निजामती सेवालाई स्वच्छ, सक्षम, पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, आम नागरिक, सञ्चार माध्यम र स्वयं कर्मचारी तथा सेवाग्राहीको रचनात्मक योगदान आवश्यक छ । नीति कानूनको समयानुकूल परिमार्जन गर्दै सेवाको प्रक्रियालाई सरलीकरण, संगठन संरचनामा समयानुकूल सुधार गर्नु पनि आवश्यक छ । सेवा प्रदायकका समस्या र बाध्यता सम्बोधन गर्दै कर्मचारीलाई मनैदेखि आफ्नो आचरण र मूल्य–मान्यतामा रहन सक्ने वातावरण सिर्जना गर्नु पनि अर्को पाटो छ । अहिले कर्मचारीमा के नपुगेमा काम बन्दैन भन्ने कार्यसंस्कृति छ । यसलाई के भएमा काम बन्छ भन्ने कार्यसंस्कृतिमा परिवर्तन गर्न सकेमा नेपालको निजामती सेवाप्रति खस्कँदै गएको जनविश्वास बढाउन सकिन्छ ।










Post a Comment

 
Top