0
नेपाल लागूऔषधका दुव्र्यसनी र कारोबारीहरुको अखडा र ट्रान्जिट प्वाइन्ट बन्दै गएको कारण विदेशमा हाम्रो छवि नकारात्मक बन्दै गएको अनुभव गरिएको छ । गत मंगलबार राति प्रहरीले धादिङको सिम्लेबाट तीन भारतीय र एक नेपालीसमेत चार जनाबाट ४० किलोग्राम चरेस बरामद गरेपछि पृथ्वीराजमार्गको आसपासबाट लागूऔषधको गोप्य कारोबार ठूलो मात्रामा हुँदै आएको पुष्टि प्रहरी अनुसन्धानबाट खुलेको हो । सोझो कमाइ गरेर परिवार पाल्नेहरुभन्दा रातारात करोडपति बन्ने सपना देख्नेहरुका लागि नेपालभूमि सुरक्षित र स्वर्गभूमि बन्दै आएको छ । यस्ता घटना पोखरामा पनि नघट्ने होइन, लागूऔषधसहित नेपाली तथा विदेशी नागरिकलाई कास्की प्रहरीले पक्राउ गरि सार्वजकि उदाहरण कैयौं छन् । यस्तै केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भन्सार छलेर बाहिरिइसकेको अवस्थामा पक्राउ गरिएको घटना सेलाउन नपाउँदै राजधानीनजिकको गाउँबाट यति ठूलो परिमाणमा चरेस पक्राउ भएपछि तस्करहरुका लागि हाम्रो देश भूस्वर्ग बनेको अनुभव भएको हो । शनिबार पनि काठमाडौंमा ठूलो परिमाणमा सुन बरामद भएको छ । नेपालको पहिचान सर्वप्रथम बुद्धभूमि र त्यसपछि विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश भनेर विश्व मानव समुदायले चिन्ने गरेको छ । त्यसबाहेक, वीर गोरखालीको छुट्टै पहिचान पनि नेपाली युवाहरुले बनाएका छन् । तर, केही वर्षयता अन्तर्राष्ट्रियस्तरका तस्करहरुको गिरोहले हाम्रो भूमिलाई नेटवर्क मिलाएर तस्करहरुका लागि सजिलो देश भनेर चिनाउने दुस्साहस गर्दै आएका छन् । तस्करी नियन्त्रण गर्न प्रहरीले यथाशक्य प्रयास गरेको भएता पनि प्रहरीभन्दा तस्करहरुको जालो बाक्लो हुँदै गएको पाइएको छ । अब पृथ्वीराजमार्ग र आसपासका ग्रामीण बस्तीहरुमा प्रहरी निगरानी बढाउनु पर्ने आवश्यकता महसुस भएको छ । कानुनको कडा कार्यान्वयन नभएसम्म तस्करहरुको सक्रियतामा कमी नआउने अपेक्षा अहिले गरिएको छ । कानुन भएर मात्र पुग्दैन, त्यसको उचित कार्यान्वयन पनि उत्तिकै आवश्यक पर्दछ । अपराधीहरु जहिले पनि प्रहरीभन्दा दुई कदम अगाडि रहने गरेको उदाहरण विश्वका विभिन्न मुलुकहरुमा पनि पाइन्छ । तसर्थ, नेपाल प्रहरीको लागूऔषध कानुन कार्यान्वयन ब्युरोले आफ्नो संयन्त्र र सञ्जाललाई अझ बढी व्यापक र प्रभावकारी बनाउनु आवश्यक भइसकेको छ । विश्व समुदायमा छाएको उज्यालो छविलाई यस्ता पटक–पटक घटिरहने अपराधमूलक घटनाहरुले नकारात्मक प्रभाव पार्ने बलियो सम्भावना रहेको हुन्छ । तसर्थ, यस्ता अपराधीहरुलाई कानुनको कठघरामा उभ्याउन नेपाली प्रहरीलाई नागरिक समाजको सहयोग पनि उत्तिकै आवश्यक पर्दछ । यसो हुन सक्यो भनेमात्र कानुनको सार्थकता प्रमाणित हुन सक्दछ । यो अन्तर्राष्ट्रिय गिरोहले सोझा नेपालीहरुलाई पनि आर्थिक प्रलोभनमा पारेर अपराधी बनाउँदै लगेको तथ्यलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन । तसर्थ, हामी सचेत नागरिकहरुले पनि लागूऔषधको कारोबारलाई नियन्त्रण गर्न पर्दापछाडि बसेर प्रहरीलाई सघाउनुपर्छ ।







Post a Comment

 
Top