0
नेपालमा केही वर्षयता अवैध सुन तस्करीको धन्दा तीव्र रुपमा फस्टाउँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा क्षेत्रका जिल्लाबाट भारी मात्रामा बरामद भएको सुनको विवरणले अवैध सुन ओसारपसारको धन्दा मौलाएको तथ्य प्रमाणित गरेको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपक्षीय मिलेमतोमा ३४ केजी सुनका विस्कुट बाहिरिएपछि अवैध सुन तस्करीको कीर्तिमान नै कायम भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सुरक्षा संयन्त्र कति फितलो रहेछ भन्ने यही घटनाले पुष्टि गरेको छ । विमानस्थलका भन्सार अधिकारी र सुरक्षा अधिकारीको मिलेमतोबिना तस्करले यतिधेरै परिमाणमा अवैध सुन कसरी बाहिर ल्याउन सक्छ ? यतिखेर आमजिज्ञासा यही नै रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले विदेशबाट पाएको सूचनाका आधारमा बिहीबार भन्सार जाँच पास भएर बाहिरिएलगत्तै दुबर्ईबाट आएका गोपालबहादुर शाहीको लगेजबाट ३४ केजी परिमाणको सुन बरामद गरेको थियो, जसमा १८२ थान सुनका बिस्कुट, १८ थान सिक्री तथा १९ थान औँठी रहेको थियो । यस घटनाले त्रिपक्षीय मिलेमतोमा हवाई तथा स्थलमार्गबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको पुष्टि भएको छ । विभिन्न विदेशी मुलुकबाट तस्करले ल्याउने अवैध सुन ठूलो परिमाणमा नेपाली बजारमा खपत हुँदै आएको छ । नेपाली बजार बाहेक तस्करले खुला सीमानाको फाइदा उठाउँदै भारतीय बजारसम्म तस्करी गर्ने गरेका छन् । विमानस्थलको भन्सारबाटै बाहिरिएको अवैध सुन बरामदको घटनाले नेपालमा हुने सुन तस्करीको पुरानो इतिहासलाई पुनः स्मरण गराइदिएको छ । सरकारले नै डेढ दशकअघि विमानस्थल अवैध सुन तस्करीको अखडा रहेको निष्कर्ष निकालेको थियो । गृह मन्त्रालयका विशेष सचिवको संयोजकत्वमा गठित छानबिन समितिले २०५५ सालको आर्थिक वर्षको सुरूवातमै विमानस्थलमा भएका घटनाको अध्ययन प्रतिवेदनमा सुनदेखि विदेशी मुद्रा तस्करीमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसम्मको मिलेमतो हुने गरेको निष्कर्ष निकालेको थियो । समितिको अध्ययन प्रतिवेदन बिहीबारको घटनाले सत्य सावित गरेको छ । भन्सार कर्मचारी, अध्यागमन विभाग र नेपाल प्रहरीको संयुक्त मिलेमतोबिना विमानस्थलको बाहिरी ढोकासम्म ३४ किलो सुन आइपुग्नु असम्भव छ । यस विषयमा अनुसन्धान ब्युरोले छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्दछ । प्रहरीले विभिन्न गिरोहबाट विगत चार वर्षयता झन्डै ४ सय ५० किलो अवैध सुन पक्राउ गरेको तथ्यलाई विश्लेषण गर्दासमेत अवैध सुनको कारोबार मौलाइरहेको प्रष्ट हुन्छ । प्रहरीको अनुसन्धान ब्युरोले सुन कारोबारमा संलग्न व्यापारीलाई समेत पक्राउ गरिसकेको छ । भूकम्पपश्चात् चीनसँग जोडिएको तातोपानी नाका बन्द भएपछि अवैध सुनको धन्दा विमानस्थलमार्फत हुँदै आउने गरेको पाइएको छ । यसअघि न्युरोडका व्यापारीबाट ३ किलो सुन बरामद भएको थियो । यसले पनि के संकेत गर्छ भने मुलुककै मुख्य कारोबारस्थल न्यूरोड अवैध तरिकाले भित्र्याएको सुन कारोबार गर्ने स्थल बनेको छ । सुनको वैध कारोबार गर्ने निकाय राष्ट्र बैंक र त्यस मातहतका वाणिज्य बैंक हुँदा–हँुदै तस्करहरुले यसलाई कमाउने माध्यम बनाइरहेका छन् । प्रहरीले हालसम्म त्रिभुवन विमानस्थलबाट मात्रै ९० जनाभन्दा बढी सुन तस्करलाई पक्राउ गरिसकेको छ । विमानस्थलबाट सुनसहित समातिनेमध्ये धेरैजसो सुन तस्करले दुबई–कतारको बाटो हुँदै सुन ल्याउने गरेको पाइएको छ । मुलुकको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध सुन तस्करीलाई निस्तेज बनाउन राज्यले सम्पूर्ण संयन्त्र परिचालित गरेर यस्ता कार्य नियन्त्रण गर्नु जरूरी देखिन्छ ।


Post a Comment

 
Top