0
गोल्डेन न्यूज संवाददाता
गोरखा जिल्ला घ्याल्चोक गाविस वडा नं. ५ निवासी  २५ वर्षीया अञ्जु तिमिल्सिना (सिर्जना) २० दिनदेखि सम्पर्क विहीन छन् । उनी यहि मंसिर ९ गतेदेखि घर नजिकैबाट सम्पर्क विहीन भएकी हुन् । उनका आफन्तजन तथा प्रहरीले खोजी गरिरहेको भएपनि उनी सम्पर्कमा आउन सकेकी छैनन् । काठमाडौंको जनमैत्री क्याम्पसमा स्नातक तहमा अध्ययनरत अञ्जु क्याम्पस बिदामा घर आएको बेला हराएकी हुन् । परिवारले दिएको जानकारी अनुसार अञ्जु मंसिर ९ गते बिहान करिब ९ बजे घर नजिकैको पसलमा रिचार्ज कार्ड किन्नका लागि निस्किएकी थिइन । रिचार्ज कार्ड किनेर घर फर्कँदै गर्दा बाटोबाटै उनी हराएकी उनकी बहिनी अञ्जनाले गोल्डेन न्यूज दैनिकलाई बताइन । दिदीको खोजीमा पोखरा आइपुगेकी बहिनी अञ्जनाले भनिन्–‘घर नजिकैको घ्याल्चोकसंगै जोडिएको पृथ्वीराजमार्गस्थित ज्यामिरेघाट बजारमा रिचार्ज कार्ड किन्न निस्कनुभएको दिदी अझै सम्पर्कमा आउन सक्नुभएको छैन । उनका अनुसार अञ्जुले रिचार्ज कार्ड पनि किनेकी छन् भने अञ्जुको मोवाइल केही पर बाटोमै भेटिएको छ । अञ्जुलाई खोज्न उनका परिवार तथा आफन्तहरु गोरखा, काठमाडौं र पोखरामा समेत पुगेका छन् । उनको खोजी गरिदिनका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी समेत दिएका छन् । उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले हालसम्म कुनै जानकारी पाउन नसकेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।  अञ्जु सम्पर्क विहीन भएको २० दिन बितिसक्दा पनि फेला नगरेपछि परिवार निकै चिन्तित बनेका छन् । घरमा बुबा, आमा, हजुरआमा, दाई र बहिनी समेत छन् । धेरै ठाउँमा खोजी गर्दा पनि अञ्जुको खबर पत्ता लाग्न नसकेपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत निवेदन दिने तयारी गरेका छन् ।

Post a Comment

 
Top